हजुरआमा संघ र नातिनी प्रदेशमा उम्मेदवार, एकसाथ मत माग्न घरदैलोमा
जोमसोम : मुस्ताङमा नातिनी र हजुरआमा सँगैसँगै जनतासँग मतमाग्न घरदैलो अभियानमा जुटेका छन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी घर भएकी नातिनी २८ वर्षीया कर्म डोल्कर गुरुङ र उनकी ७० वर्षीया हजुआमा धोचिङ सँगैसँगै चुनाव प्रसारमा खटिएका छन्।
कर्म राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट मुस्ताङ जिल्ला प्रदेश 'ख'बाट उम्मेदवार बनेकी हुन्। उनकी हजुरआमा धोचिङ सोही पार्टीबाट प्रतिनिधिसभा समानुपातिकतर्फ बनेकी छिन्।
दुवैले मत माग्दै घरदैलो अभियानलाई तीव्रता दिएका हुन्। 'म प्रदेशको प्रत्यक्षमा उठेको छु, हजुरआमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार हुनुहुन्छ, उनले भनिन्, हामी दुवै सँगैसँगै घरदैलो गर्न हिँडेका छौं।'
नातिनी ढोल्करले मुस्ताङको प्रदेश 'ख' अन्तर्गत वारागुङ मुक्तिक्षेत्रको प्राय सबै गाउँमा घरदैलो सम्पन्न गरेको र घरपझोङ गाउँपालिकामा पनि जनताको घरघरमा पुगेर मत माग्ने काम भइरहेको बताइन्।
मुस्ताङमा चार राजनीतिक दलका ९ जना उम्मेदवारले प्रतिनिधि र प्रदेशसभामा चुनावी प्रतिस्पर्धा गर्दैछन्। राप्रपा नेपालकी प्रदेश 'ख' उम्मेदवार ढोल्कर प्रत्यक्षतर्फ मुस्ताङमै एक्ली महिला उम्मेदवार हुन्।
जनताको घरदैलो अभियानमा व्यस्त रहेकी राप्रपा नेपालकी उम्मेदवार ढोल्करले मुस्ताङी जनताले महिलाहरूलाई उच्चसम्मान गर्दै आफ्नो मत जाहेर गर्ने विश्वास व्यक्त गरिन्।
उनले देशको भविष्य निर्माण र जनताप्रतिको उत्तरदायित्व युवा पंक्तिको काँधमा आइपुगेका उल्लेख गर्दै मुस्ताङको पञ्च वर्षीय कार्ययोजना र रणनीतिको नयाँ भिजन बोकेर जनता समक्ष प्रस्तुत भएको बताइन्।
हजुरआमा धोचिङले मुस्ताङमा मतदाताको घरदैलो जाँदा जनताबाट राम्रो प्रतिक्रिया आएको र जनताले राप्रपा नेपाललाई जिताउने दावी गरिन्।
ढोल्कर ब्याचलर अफ साइन्स इन बटेनी विषयमा ब्याचलरसम्मको अध्ययन पूरा गरिसकेकी छिन्।