पैसाको चलखेल
निर्वाचनमा उम्मेदवारहरूले मतदातालाई आफूतिर तान्न सक्दो प्रयास गर्छन्। मत खिच्न विभिन्न आश्वासन दिन्छन्। निर्वाचनमा त्यसलाई स्वाभाविकै मान्नुपर्छ। आफू निर्वाचित भए जनताको सेवामा खटिने वाचा गर्छन् उम्मेदवार। गाउँठाउँको विकास निर्माण गर्ने प्रतिबद्धता गर्छन्। खासमा निर्वाचनमा उम्मेदवारको इमान्दारी, प्रतिबद्धता र दृष्टिकोणमाथि कसी लाग्नुपर्छ। त्यसैका आधारमा मतदाताले आफ्ना प्रतिनिधि रोज्ने हो। तर, चुनावको विकृति कस्तो भने उम्मेदवारहरू आफ्ना विचार, दृष्टिकोण र प्रतिबद्धता अनि आफ्नो योग्यता र इमानबाट होइन पैसा खर्चेर मतदाता आकर्षित गर्न लाग्छन्। यस्तो विकृति लामो समयदेखि नै नेपाली राजनीति र चुनावमा देखिँदै आएको छ।
२०४८ सालदेखि नै पैसाले मत किन्ने चलन छ। जसै नेपाली समाजको चेतनामा गुणात्मक वृद्धि पनि भएको छ, तर पैसाले मत किन्ने विकृति झनै झ्याँगिँदै गएको छ। पैसाले नै मत किन्ने परिपाटी झ्याँगिँदै जाँदा दलहरूले पनि पैसा खर्चन सक्ने व्यक्ति खोजीखोजी उम्मेदवार बनाउने गरेका छन्। जसले निष्ठाको राजनीति गर्यो, आदर्शका पदचाप पछ्यायो, तिनीहरू उम्मेदवार बन्न ‘अयोग्य’ सावितजस्तो हुँदै गएका छन्। प्रश्न के हो भने किन कसैले पैसा खर्च गरी गरी पार्टीबाट उम्मेदवारीको टिकट लिन्छ ? किन पैसा खर्च गरी गरी मतदातासँग मत किन्छ ? पक्कै पनि ऊ निर्वाचित भएपछि त्यसको असुलउपर गर्न लाग्छ, लाग्छ। अनि भ्रष्टाचार गर्छ। शासन, प्रशासनतिर मौलाएको भ्रष्टाचारले त्यसरी राजनीतिमा पनि राइँदाइँ गरिरहेको छ। त्यसैले जनताले अपेक्षाको गरेको परिवर्तन हुन सकेको छैन।
मतदाता आफैंले आफ्नो मत बिक्री गर्नु हुन्न। इमान र योग्यता भएको उम्मेदवार छनोट गर्नुपर्छ।
लोकतन्त्रको सौन्दर्य निर्वाचन हो। निर्वाचनको सौन्दर्य भनेकै जनताको मत। तर जब मतकै खरिद बिक्री हुन्छ भने त्यो न त असली निर्वाचन हुन्छ, न असली लोकतन्त्र। जनताले देशमा परिवर्तन ल्याउन सक्ने भनेकै मत जाहेरबाट हो। तर जब मत नै बिक्री हुन्छ, त्यो परिवर्तन सम्भव हुँदैन। उम्मेदवारले त मत किन्ने प्रपञ्च गर्छन्, गर्छन् नै मतदाता पनि बिक्रीका लागि तयार हुनु झन् ठूलो दुर्भाग्य हो। चुनावमा दुईचार पैसा कमाउने र पैसा बाँड्ने उम्मेदवार खोज्ने मतदाताहरूको मनस्थिति बुझाउन गजलकार आनन्द भट्टराईको गजलका पंक्ति काफी लाग्छन्ः ‘हात थापुँला दिनुस् सक्ने जति दिनुहुन्छ, आश्वासन त नेताज्यूले अति दिनुहुन्छ। बूढाबूढी, छोराबुहारी नातिनातिनाको, मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?’
केहीलाई नगदै बाँड्ने, केहीलाई भोजभतेर खुवाएर रिझाउने विकृति देशैभरि देखिएको छ। कतिपय उम्मेदवार त धनबलमात्रै होइन बाहुबल पनि प्रयोग गर्छन्। त्यसैले निर्वाचन भनेको मनी र मसलको पर्यायवाचीजस्तो बन्न गएको छ। यस्तै विकृतिले लोकतन्त्रलाई कमजोर बनाएको छ। यस्ता विकृतिको अन्त्यका लागि पहिलो त राजनीतिक दलहरू नै इमान्दार हुन जरुरी छ। विचार, सिद्धान्त र आदर्शलाई प्राथमिकता दिन जरुरी छ। देश बनाउने भिजनसहित राजनीति गर्नुपर्छ। जनताको सेवामा आफूलाई समर्पित गर्नुपर्छ।
हो, राजनीतिमा वा निर्वाचनमा पैसा खर्च हुन्छ। चुनावी अभियानका लागि पैसा चाहिनु स्वाभाविक हो। त्यसैलाई ख्याल गरेर निर्वाचन आयोगले समेत खर्चको एउटा सीमा तोकेको छ। अमेरिकामा त उम्मेदवारले धेरैभन्दा धेरै पैसा संकलन गर्ने प्रतिस्पर्धा नै चल्छ। तर, त्यसो भन्दैमा मतदाताको खरिदबिक्री हुँदैन। चुनावी अभियानकै लागि खर्च हुन्छ। हाम्रोमा पनि चुनावी अभियानका क्रममा हुने खर्चलाई अस्वाभाविक नमानिए पनि भड्किलो प्रचार र मत किन्न पैसाकै चलखेल गर्ने प्रवृत्ति चाहिँ लोकतन्त्रका लागि घातक हो। यो घातककर्मलाई सच्याउन सक्ने पहिलो राजनीतिको बागडोर सम्हालिरहेका दलहरूले हो। र, मतदाता आफैंले आफ्नो मत बिक्री गर्नु हुन्न। इमान र योग्यता भएको उम्मेदवार छनोट गर्नुपर्छ।