भोटका लागि भोज गर्दै सोलुका उम्मेदवार
सोलुखुम्बु : सोलुखुम्बुमा चुनाव खर्चिलो बन्दै गएका छन् । चुनावी प्रचारप्रसार तथा आम सभामा सहभागिता बढाउन भोजभतेर बढी हुँदा चुनाव खर्चिलो बन्दै गएको हो।
जिल्लामा उम्मेदवारहरु सहभागी हुने चुनावी आम सभाहरुमा खसी, राँगा, कुखुराको खपत बढ्ने गरेको सर्वसाधरणले बताएका छन् । त्यस्ता सभाहरुमा मतदाताको उपस्थिति बढाउन खसी वा राँगा नै ढाल्ने चलन बढेको नागरिक बताउँछन् ।
निर्वाचन आचारसंहितामा भोजभतेर गर्न नपाउने भए पनि यहाँका दल तथा उम्मेदवारहरुलाई त्यसले नछोएको नागरिकको गुनासो छ । निर्वाचनको चुनावी माहोल सुरु भएदेखि नै गाउँ-गाउँमा समेत खसी, कुखुरा र राँगाको खपत बढेको स्थानीयले बताएका छन् । उनीहरुले कार्यकर्तादेखि सभाहरुमा सहभागीहरुलाई समेत भोज भतेर गर्ने गरेकाले चुनाव खर्चिलो र भड्किलो बन्दै गएको सर्वसाधरणको भनाइ छ ।
यतिखेर जिल्लामा मुख्य गरी कांग्रेस र माओवादी केन्द्रको लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरु घरदैलोदेखि चुनावी सभाहरुमा व्यस्त छन् । उनीहरु बढी जसो गाउँमा केन्द्रित भएकाले गाउँघरमा चुनावी माहोल बढ्दै गएको छ भने जिल्ला सदरमुकाममा चुनावी चहलपहल सामान्य छ ।