कहिले कार्यान्वयन होला मुसहर बस्तीमा बाँडिएको आश्वासन

कहिले कार्यान्वयन होला मुसहर बस्तीमा बाँडिएको आश्वासन

महोत्तरी: गौशाला नगरपालिका ७ मा पर्छ मनहर्वा बस्ती। ससाना एकनासे फुसका जीर्ण घर रहेको यो बस्तीमा मुसहर समुदायको बाहुल्यता छ । बस्तीका १५० घरमा ५ सयभन्दा बढी मानिस बसोबास गर्छन्। 

जनघनत्व बढी भएको यो बस्तीमा मानिस अभावैअभावमा बाँचेका छन्। खानेपानी, नाला, सरसफाई, शिक्षा, रोजगारीलगायतका मानवजीवनसँग सरोकार राख्ने पूर्वाधारको अभाव छ ।

यो त्यहि बस्ती हो, जहाँ ०६९ सालमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक रात बिताएका थिए । ‘एक रात, एक दलीत बस्ती’ प्रधानमन्त्रीको बसाई अन्तर्गत महोत्तरीको यो मुसहर बस्ती छनौट भएको थियो । त्यहाँका बासिन्दाको समस्या बुझ्न प्रधानमन्त्रीले एक रात बिताउने निधो गरे ।

तामझामसहित प्रधानमन्त्री पुगे । स्थानीयले ऋण लिएर भएपनि प्रधानमन्त्रीको बसाइमा कुनै कमी आउन दिएनन् । कोदोको रोटी, नुन खुर्सानी अनि सिद्राको अचारको परिकारले प्रधानमन्त्रीलाई स्वागत गरे । प्रधानमन्त्रीले पनि स्वाद लिएर परिकार खाए । प्रधानमन्त्रीलाई खुसी बनाए आफ्नो गाउँका समस्या सुनाएका उनीहरूले चाँडै समस्या हल हुने प्रतिबद्धता पनि पाए । तर प्रतिबद्धता कार्यान्वयन भएन ।

प्रधानमन्त्रीको देशव्यापी अभियान सफल भयो । तर, जनतासँग निकट सम्बन्ध बनाउने र जनगुनासोलाई तत्कालै समाधान गर्ने तत्कालिन प्रधानमन्त्रीले लिएको नीति असफल भयो । बस्तीमा आएर प्रधानमन्त्रीले गरेको वाचा अहिलेसम्म पूरा नभएको स्थानीय जयकलादेवि सदाले बताईन् ।

उनी भन्छिन, ‘मेरै घरमा प्रधानमन्त्रीज्यू बास बसेर जानुभयो । हामीसँग सुखदुःखको कुरा पनि गर्नुभयो । उहाँसँग हामीले धेरै सपना पनि बुनेका रहेछौँ । ती अहिलेसम्म पूरा भएनन् । हामीले त दिवा सपनामात्र देखेका रहेछौँ ।'

उनले गुनासो गर्दै भनिन्,'यहाँ समस्या नभएको ठाउँ छैन । प्रधानमन्त्रीले त्यतिबेला म हल गर्छु भनेर जानु भयो । हामी आशामा बस्यौ । यत्रो समय भयो उहाँ गएपछि कसैले पनि यो गाउँका समस्या समाधान गर्ने भनेर सुनाएनन् ।'

एकीकृत नेकपा माओवादी केन्द्रका तत्कालिन उपाध्यक्ष रहेका डा. बाबुराम भट्टराईले सो समयका प्रधानमन्त्रीको रुपमा गरिएको वाचा न त उनको पार्टीले पुरा गर्यो, न त सरकारले नै । बस्तीका अर्का स्थानीय ४२ वर्षीय अगमलाल सदाले पक्की घर, स्वच्छ खानेपानी, रोजगार, शिक्षा, स्वास्थ्यलगायत प्रधानमन्त्रीले गरेका वाचा वाचामै सीमित भएको बताए । 

उनले भने, ‘प्रधानमन्त्रीले त नमुना मुसहरबस्ती बनाउने घोषणा गरेका थिए । घोषणा यहाँ भयो, कार्यान्वयन बर्दिवासमा । हामीलाई तत्कालीन प्रधानमन्त्रीले ठगेर जानुभयो । हामीले ऋण काडेर स्वागत गरेको फल यही नै पाईयो । बस्तीबाट हँसिलो मुहार बनाउँदै फर्केका प्रधानमन्त्री तथा अरु एक एक दशक हुँदा पनि कोही फर्किएर आएका छैनन् ।'

गरिबको नेतृत्व गर्ने नेता नै नभएको बुझाइ ४८ वर्षीया रामरति देवीको छ । उनले भनिन्, ‘नेताहरू दिनरात बस्तीमा भोट माग्न आउँछन् । समस्या सुनिदिन्छन् । तर समाधान गर्न केही पहल गर्दैनन् । हामीले पाउने आश्वासनमात्र हो । गाउँको मुहार त कहिले फेरिएला र खोइ?'

बस्तीमा ४ स्थानमा खानेपानीको पाईप जडान गरिएको छ । तर अहिले सबै पाइपमा पानी छैन । स्थानीयले टाढाबाट खानेपानी ओसार्नुपर्ने बाध्यता छ ।

सुकुम्बासी र गाँउ ब्लकसहित करिब एक विगाह क्षेत्रफलमा बस्ती छ । एकीकृत रुपमा बसोवास गर्दै आएको यो बस्तीका अधिकांश जग्गा रातारात व्यक्तिगत रुपमा रजिष्ट्रेशन भईसकेको गुनासो स्थानीयको छ । सोही लालपुर्जाको भरमा जमिन्दारले बस्ती खाली गर्न चेतावनी दिने गरेको स्थानीय लवकुमार सदाले बताए । 

उनले भने, ‘पुस्तौनी रुपमा बाबुबाजेले यही जमिन उपभोग गर्दै आएका छन् । हाम्रा पुर्खाले जंगल फाँडेर बस्ती बसालेका थिए । तर एकाएक ऐलानी बस्ती जमिन्दारको नाममा कसरी कायम भयो? अदालतको पुर्जीका भरमा हाम्रो बस्तीमा डोजर चलाउन बेर छैन । यो समस्याको चाँडै समाधान नभए हामी कहाँ जाने?'

यो बस्तीका अधिकांश पुरुषहरू कामको खोजीमा बस्ती बाहिर छन् । धेरै त देशबाहिर नै छन् । बसोबासको विकल्प खोजिरहेका उनीहरूले आर्थिक अभावले जग्गा खरिद गर्न नसकेको ३७ वर्षीया गृहणी शिलादेवीले बताईन् । उनले भनिन्, ‘हामीसँग नागरिकता छैन, पैसा छैन। चाहेर पनि वैकल्पिक व्यवस्था गर्न सक्दैनौ । श्रीमान र बच्चा काम खोज्दै दिल्लीमा छन् । पैसा पठाएपछि जसोतसो गुजारा चलाउँदैछु । नेताले चुनाव अघि धेरै कुरा गरे पनि केही काम गरेनन् ।'

यो बस्तीमा बस्न ठूलो समस्या रहेको बताउँदै शिवरनिया देवी सदाले भनिन्, ‘प्रधानमन्त्रीले त नमुना मुसहरबस्ती बनाउने उद्घोष गर्नुभयो । तर बस्ती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत पर्न सकेन । प्रधानमन्त्री फर्केर गएपछि बस्ती निर्माण गर्न अध्ययन टोली आएर गयो । तर, नमूनाबस्ती स्थापना भएन। हामीले जग्गा व्यवस्थापनको माग गरिरहेका छौँ, जग्गाको लालपूर्जा नहुनु नै हाम्रो दुर्भाग्य हो।'

बस्ती नजिकै प्राथामिक तहको सरकारी विद्यालय भए पनि बस्तीका बालबालिका निरक्षर छन्। आमाबुवा मजदुरी गर्न गएकाले भाइबहिनीलाई रेखदेख गर्न अह्राएकै कारण बालबालिकाले पढ्न नपाएको बस्तीका रामचलितर सदाले बताए । उनले भने, ‘आर्थिक स्रोतकै कारण बालबालिकाले पढ्न पाएका छैनन् । कोही भाइबहिनीको हेरचाहमा व्यस्त हुन्छन् । कोही काम गर्न जान्छन्।'

उनले भक्कानिँदै भने,'पापी पेटको सवाल छ हजुर । के गर्नु?'

अत्याधुनिक युगमा पनि शिक्षाजस्तो बहुमुल्य र अतुलनीय अलंकारबाट टाढिनुपर्दा बालबालिकाको भविष्य अन्धकारमा गएको संचारकर्मी मोहम्मद अझरुद्दिनको तर्क छ । उनले भने, ‘शिक्षाको गुणस्तर र सरोकारवालाको अग्र भुमिका निर्वाह गरिरहेको स्थानीय सरकार यस्ता समस्या हल गर्न सरोकारवाला किन तदारुक छैन?'

धुर्मुससुन्तलीले पनि यो बस्तीमा शैक्षिक अभियान चलाए। तर, अभियानले निरन्तरता पाएन ।

आफ्नो कार्यकालमा नगरपालिकाकोतर्फबाट बस्तीको चौतर्फी विकासको प्रयास गरेको गौशाला नगरपालिकाको पूर्वमेयर शिवनाथ महतोले बताए । 

उनले भने, ‘मैले नगरको शिक्षालाई गुणस्तर बनाउने प्रयास गरेकै थिए । कोरोना महामारी लगायतका समस्याका कारण सो कार्य समयमै पुरा हुन सकेन । जसले अवस्था परिवर्तन हुन सकेको छैन।’  

अहिले पनि बस्तीबासीलाई राजनीतिक दलका नेताले बस्ती बनाउने आश्वासन बाँडिरहेका छन् । अनि बस्तीका जीर्ण भित्तामा राजनीतिक दलका चुनावी पोस्टरले दलको उपस्थिति झल्काए पनि बस्तीबासी भने आश्वासन कार्यान्वयनबारे प्रश्न गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.