उप-निर्वाचन : मुसहरलाई हर्ष न विष्मात
सौरभ यादव/ सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ हाटी यतिबेला चुनावमय बनेको छ । मंसिर १४ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाले जनता रिझाउन नानाथरी आश्वासन बाँडिरहेका छन् । तर, आधारभूत सेवाबाट समेत बञ्चित रहेका दलित मुसहर समुदायलाई भने उम्मेदवारको आश्वासनले फरक पारेको छैन् ।
०७४ सालको निर्वाचनमा पनि उम्मेदवारले मुसहर वस्तीका बेरोजगारलाई रोजगारी, पक्की घर, स्वच्छ खानेपानी, घर-घरमा विद्युत पुर्याउनेलगायतका नानाथरी आश्वासन दिएर भोट बटुले । तर, निर्वाचित भएपछि दलित समुदायको समस्यातर्फ भने कसैको ध्यान पुगेन । जसका कारणले छिन्नमस्ता गाउँपालिका ६ का १ सय ४४ मुसहर परिवारले अझैसम्म विद्युत प्रयोग गर्न सकेका छैनन्।
चुनावको बेला वाचा गरेर भोट बटुल्ने र पछि दलितलाई फरक किसिमले हेर्ने जनप्रतिनिधिमा देखिएको प्रवृतिले झण्डै ५ सय व्यक्तिलाई अध्यारोमा बस्ने बाध्यता परेको उनीहरुले गुनासो गरेका छन् ।
घरमाथिबाटै विद्युतीय तार तानिए पनि १ सय ५० परिवारमध्ये ६ परिवारले मात्रै मिटर जडान गर्न सकेको तथा बाँकी परिवारले अन्यारोमै बस्ने बाध्यता खेप्दै आएको स्थानीय जिवछ सदाले दुखेसो पोखे।
दैनिकजसो ज्याला मजदुरी गरेर जीविको चलाउँदै आएका सप्तरीको दलित समुदायका लागि निःशुल्क विद्युत मिटर वितरण नभएको पनि होइन् । तर, निमित्त वडाध्यक्षले आफ्नो पार्टीलाई भोट नदिएको भन्दै सिफारिस नदिएका कारण मिटर पनि पाउन नसकेको अयोधी सदाले बताए।
जनप्रतिनिधिको यस्तै वेवास्तका कारण यसपटकको चुनावमा भोट हाल्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको मुसहर समुदायले दुखेसो गरेका छन् । सो वडामा छवटा राजनीतिक दल र एक स्वतन्त्र गरी ७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएर प्रचार-प्रसारमा जुटेका छन् ।
सो वडामा ६ सय ४६ महिला र सात सय ५७ पुरुष गरी कुल एक हजार चार सय तीनजना मतदाता रहेको छ । ०७४ सालको निर्वाचनमा राजपाबाट निर्वाचित वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजकमा आएपछि वडाध्यक्षको पद रिक्त हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस !