सही मान्छे कसरी छान्ने ?
मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। घमासान युद्धको तयारीमा जुटिरहेका छन् पार्टीका नेता तथा कार्यकर्ता। यदि यो भौतिक युद्ध हुँदो हो त महाभारतलाई मात खुवाउँथ्यो। चुनाव जनताका लागिभन्दा पनि नेताका लागि अझ महत्त्वपूर्ण हुन्छ। किनकि त्यो उनीहरूको पद, प्रतिष्ठा, र ‘करियर’सँग जोडिएको छ।
आफ्नो पार्टीलाई कसरी जिताउन सकिन्छ भनेर पैसाको खोलो बगाउनु त छँदैछ, त्योसँगै जे पनि बोल्न थालिसकेका छन् नेताकार्यकर्ता। मिठा र चिल्ला गफ गर्ने, सपना बाँड्ने अनि अर्को पार्टीभन्दा ‘हामी राम्रो’ भन्ने आवाज बुलन्द पार्दैछन्। भनौं तिनै बासी र ढुसी परेका गफ गर्दै ‘मत हामीलाई दिनुस्’ भन्दैछन्। केन्द्र स्तरका नेताहरू भने आआफ्ना पार्टी कार्यकर्तालाई प्रशिक्षण गर्दैछन्। सिकाउँदैछन् कसरी जनतासामु जाने ? के भन्ने ? आत्मबल दिँदै छन्। ‘मोटिभेट’ गर्दैछन्, ‘हार्नु भनेको पनि एक किसिमले जित्नु पनि हो, साथीहरू हो तर निश्चिन्त हौं हाम्रो जित सुनिश्चित छ।’
भन्दैछन्, ‘आआफ्नो तवरबाट पार्टीको प्रचार गरौं है साथी हो। पार्टीको गीतमा टिकटक बनाऔं, पार्टीको टिसर्ट लगाऊँ, फेसबुकमा प्रचारप्रसारको सेयर गरौं’ आदि इत्यादि। हिजोका दिनमा झुटो आश्वासन बाँड्ने नेताहरूसमेत लाज लुकाएर समाज परिवर्तन गर्छु भन्दै हिँडेका छन्। स्मरण रहोस्, तिनीहरूले आफ्नो भित्री वस्त्रको इजारसमेत खुस्केको कहिल्यै थाहा पाएनन्। नेपालको राजनीतिक रंगमञ्चमा रोचक गठबन्धन अर्थात् कांग्रेस, समाजवादी र माओवादी एकातिर र अर्कोतिर एमालेबीचको भिडन्त छ। राजनीतिमा असम्भव वा अपवाद भन्ने केही देखिएन। भनौं यो किसिमको गठबन्धन देख्न बाँकी थियो त्यो पनि पूरा भएको छ।
अर्को रोचक भनेको गठबन्धनको परिणाम अबको चुनावमा कस्तो आउला भन्ने हो। उत्सुकता र कौतुहलता नेपालीजनमा उत्तिकै छ। चुनावपछिको गठबन्धनको अवस्था कस्तो होला ? मिलिरहलान् वा च्यातिएलान् ! नेपालको राजनीति तथा विकासलाई मध्यनजर गर्ने हो भने यस्ता दृश्यमा कारुणिकता पनि छ। टाउकाको मोल तोक्ने र तोकिने अहिले एकै ठाउँमा एकर्काका लागि भोट माग्दैछन् एकातिर भने अर्कोतिर राजा फाल्ने र राजा माग्ने एकअर्कालाई ‘सपोर्ट’ गर्दैछन्। यदि कुनै अनौठो र लज्जास्पद सर्कसको अस्तित्व यो धर्तीमा छ। यो यही नेपाली राजनीतिको सर्कस हो जहाँ जोकरहरू मिलेर फेरि पनि नेपाली जनतासँग शंकाको सुविधा माग्दैछन्। हामी निरीह बनेर उनलाई पच्छ्याउँदैछौं।
तर यस चोटीको चुनावको परिस्थिति भने बेग्लै छ। एकातिर स्वतन्त्र उम्मेदवार पनि उठेका छन् भने अर्कोतिर स्वतन्त्र पार्टीकै नाममा दर्ता भएर उक्त पार्टीका कार्यकर्ताहरू मैदानमा उत्रिएका छन्। अब भने तपाईंका लागि सम्भावना र विकल्पका ढोका खोलिएका छन्। अब तपाईंको हातमा एउटामात्र विकल्प छैन। सही र राम्रो मान्छे छान्न पाउने अवसर पनि मिलेको छ। तपाईंले देखिसक्नु भएको छ एकातिर स्थानीय सरकारको चुनाव नतिजाले ‘हामी ठूला पार्टी हौं’भन्नेहरूलाई भित्तामा पुर्याइदिएको छ। अर्कोतिर युवा नेतृत्वप्रति जनताको साख पनि बढाएको छ। यद्यपि स्वतन्त्रको नाममा प्रतिनिधिसभाका सदस्यका लागि उम्मेदवारी दिनेमध्ये केही अवसरवादीहरू पनि उठिरहेका छन्। विचार गर्नुहोस् त्यो मानिस तपाईंले भोट दिन योग्य छ कि छैन ? त्यसका बलिया आधारहरू खोज्नुहोस् :
आत्मसमीक्षा : आत्मासँग जोडिएको शब्द आत्मसमीक्षालाई बुझ्न आत्मालाई बुझ्नु आवश्यक छ। तपाईंसामु आएर उनीहरूले आत्मसमीक्षा गर्छन् कि गर्दैनन् ? हेर्नुहोस्। हिजो गर्छु भनेर नगरेका कामलाई सम्झेर क्षमायाचना माग्छन्, माग्दैनन् ? विचार गर्नुहोस्। इमानदार भएर बोल्छन् कि बोल्दैनन् ? झुट सपना पो देखाइरहेका छन् कि ? वा साँच्चै देश र जनताका लागि काम गर्न खोजिरहेका छन् ? जेहोस् सपना, आस र प्रलोभनमा नफस्नुहोस्।
समस्याहरू : अहिलेसम्म देशको विकास हुन नसक्नुको कारण भनेको जनताका समस्या ज्यूँका त्यूँ रहनु हो। जनताका समस्यालाई सम्बोधन गर्न नसक्नु हो। जनताले चुनावमा जिताएर सत्तामा पुर्याएका नेताहरूले जनतालाई नै बेवास्ता गर्नु हो। जबसम्म वास्तविक समस्या नेताहरूलाई थाहा हुँदैन तबसम्म उनीहरू समस्या सम्बोधन गर्न सक्छन् भन्ने सम्झिनु भ्रममात्र हुनेछ। दैलोमा आउँदा हातमा कापीकलम बोकेर यहाँको प्रमुख समस्या के हुन् ? भनेर सोध्छन् कि सोध्दैनन् ? डायरीमा टिप्छन् टिप्दैनन् ? तपाईंका समस्यालाई कत्तिको ध्यान दिएर सुन्छन् ? विचार गर्नुहोस्। समस्या बुझ्न नचाहनेले समाधान गर्न सक्दैन। त्यो हुटहुटी, त्यो भोक छ कि छैन ? बुझ्नुहोस्।
भिजन : देशलाई विकासको गतिमा लाने भनेको प्रस्ट विचार र भिजन नै हो। अर्थात् स्पष्ट रोडम्याप। ढोका ढक्ढकाउन आउने नेताको विचार प्रस्ट छ कि छैन ? ऊ कति स्पष्ट छ ? तपाईंसँग बोल्दा जिब्रो चपाएर बोल्छ कि पूर्ण आत्मविश्वासका साथ ? ऊ अक्मकिँदै बोल्छ कि तपाईंको आँखामा हेरेर केही गर्न पाए हुन्थ्यो भन्ने भावमा बोल्छ ? उसको भावाभंगी, अनुहार र बोली हेर्नुहोस्।
एजेन्डा : हरेक पार्टीका आआफ्नै एजेन्डाहरू हुन्छन्। प्राय : एजेन्डाहरू सुन्दा राम्रा लाग्छन्। यद्यपि ती एजेन्डा व्यावहारिक नहुन सक्छन्। मूल्यांकन गर्नुहोस्। कतिका बलिया छन् ? तपाईंका समस्यासँग प्रत्यक्ष सरोकार राख्छन् ? गाँस, बास र कपास जोडिएका विषय छन् कि छैनन् ? ती एजेन्डाको अर्थ तपाईंको ‘डे टु डे’ जीवनसँग छन् ? ती पूरा हुन सक्ने बलिया आधार छन् ?
पृष्ठभूमि : नेताको पृष्ठभूमिको महत्त्व धेरै हुन्छ। कहाँको व्यक्ति तपाईंको क्षेत्रबाट उठ्दै छ ? उसले गरेका कामहरू के के हुन् ? खासमा उसको उपस्थितिले जनतामा प्रत्यक्ष र सकारात्मक भूमिका खेलेको छ ? उसले गरेका कर्महरू मानवीय छन् कि छैनन् ? उसको कार्यकुशलता कस्तो छ ? उसका बारेमा अरू व्यक्तिले के भन्छन् ? उसका बारेमा कस्ता कुरा बाहिर आएका छन्, लेखिएका छन् ? आदि इत्यादि बुझ्नुहोस्।
अन्त्यमा, अबको चुनावमा पनि सही मान्छे चिनेनौं भने पछुताउनै पर्छ। त्यो ‘न्याउरी मारी पछुतो’ मात्र हुने छैन, देश र जनताका लागि ठूलो धोका हुनेछ। यस्ता धोकाहरूले नेपाल बन्नेवाला छैन। त्यसैले यसपालिको चुनावमा सही मान्छे छानौं।
- आचार्यले जनप्रशासन तथा नीति विषयमा विद्यावारिधि गरेका छन्।