मुस्ताङका ३९ मध्ये १५ मतदान केन्द्र संवेदनशिल
जोमसोम : मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १५ वटा मतदान केन्द्र संवेदनशिल रहेका छन् । जिल्ला सुरक्षा समिति मुस्ताङले तयार गरेको तथ्यांकमा जिल्लाका १५ मतदान केन्द्र सम्वेदनशिल रहेको जनाइएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुस्ताङका ५ स्थानीय तहमा कूल ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र तोकिएका छन् । मुस्ताङको प्रदेश ‘क’निर्वाचन क्षेत्रमा कुल १६ र प्रदेश ‘ख’मा २३ वटा मतदान केन्द्र छन् ।
विगतमा सम्पन्न भएका निर्वाचनको घटना विश्लेषण र भौगोलिक विकटता र मौसम प्रतिकूलताका आधारमा संवेदनशिल मतदान केन्द्र पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिले तयार पारेको मतदान केन्द्रको रिपोर्ट अनुसार मुस्ताङका थासाङ गाउँपालिकाका ८ वटै मतदान केन्द्र संवेदनशिल मतदान केन्द्रको रुपमा रहेको छ । थासाङको लेते,कोवाङ,टुकुचे,घाँसा,छयो,ताक्लुङ,झिप्रा देउराली र सौरु मतदान केन्द्र संवेदनशि केन्द्रको रुपमा लिइएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा समान २/२ मतदान केन्द्र संवेदनशील मतदान केन्द्रमा परेका छन् । यस्तै ,मुस्ताङको घरपझोङ गाउँपालिकाको ६ वटा मतदान केन्द्र मध्ये जनहित मावि जोमसोम संवेदनशील र अरु ५ वटा मतदान केन्द्र सामान्य छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति मावि कागबेनी र हिमाली आधारभूत विद्यालय शान्ता संवेदनशिल मतदान केन्द्र हुन् ।चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङ र लोमान्थाङ–२ सम्जुङको सम्जुङ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र संवेदनशील मतदान केन्द्रमा परेका छन् ।
मुस्ताङका ५ स्थानीय तहमा कुल १०९५७ जना मतदाता छन् । जसमध्ये प्रदेश ‘क’मा ३५४१ मतदाता र प्रदेश ‘ख‘मा ७४१६ मतदाता रहेका छन् । मुस्ताङमा जिल्लाकै ३९ मतदान केन्द्रमध्ये सबैभन्दा बढी मतदाता रहेको मतदान केन्द्र थासाङ–२ को जनआदर्शअमरसिंह मावि मतदान केन्द्र रहेको छ । जहाँ ६४९ मतदाता छन् ।
यस्तै, सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र वारागुङ मुक्तिक्षेत्र–३ को समर मतदान केन्द्र हो । जहाँ ३४ जना मतदाता छन् भने सोही पालिकाको वडा –५ को शान्तास्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समिर थापाले जानकारी दिए ।
मुस्ताङका ४ राजनीतिक पार्टिका ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधितर्फ ४ र प्रदेश क र ख मा ५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । मुस्ताङमा नेकपा (एमाले), कांग्रेससहितको सत्ता गठबन्धन, राप्रपा नेपाल र रास्वपाका उम्मेदवारले चुनावमा भाग लिएका छन् ।