सोलुका ४ जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण
सोलुखुम्बु : सोलुखुम्बुका तीन स्थानीय सरकार प्रमुख र एक उपप्रमुखलाई जिल्ला आचार संहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचार संहिता उल्लंघनबारे परेको उजुरीका आधारमा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङ ल्हामू गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पालाई समितिले लिखित स्पष्टीकरण सोधेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थुलुङ दुधकोशी गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका अध्यक्षहरुले स्पष्टीकरण पेश गरिसकेका छन् भने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पेश गर्न बाँकी रहेको छ।
माप्यदुधकोशी गाउँपालिका अध्यक्षले कार्तिक २३ गते र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षले कार्तिक २५ गते लिखित जवाफ पेश गरेका हुन्।
चारै जनाको जवाफ प्राप्त भएपछि आयोगमा पठाइने जिल्ला आचार संहिता अनुगमन समितिका संयोजक समेत रहेका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताए।
थुलुङ दुधकोशी र माप्यदुधकोशी गाउँपालिका अध्यक्ष विरुद्ध पालिका क्षेत्रको चुनावी सभामा भोट मागेको र खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निर्वाचन आचार संहिता लागु भईसकेपछि मतदातालाई प्रभावित पार्ने गरि खानेपानी र विद्युत सर्वेका लागि प्राविधिक खटाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।