अर्घाखाँचीमा निर्वाचनको तयारी पूरा
सन्धिखर्क : आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ।
एक प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा गरि सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगि सकेका छन्। निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पुगेर आवश्यक काम भैरहेको मुख्य निर्वाचन अधिकृत डाक्टर श्री कृष्ण भट्टराईले बताए।
कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ।
निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले आग्रह गरे।
निर्वाचनमा १ हजार ६ सय १८ जना कर्मचारी खटिने छन्।
आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टिबीच चुनावी तालमेल भएको जिल्लामा वामलोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतको आधारमा वामलोकतान्त्रिक गठबन्धनको ५३ हजार ६ सय ४५ मत तथा एमालेको ४८ हजार १ सय २ मत रहेको निर्वाचन आयोगको तथ्याङमा उल्लेख छ।