भद्रपुरमा फेला परेका दुई शङ्कास्पद वस्तु निष्क्रिय
झापा : झापाको सदरमुकाम भद्रपुर- ७ स्थित वीरेन्द्र मावि मतदान स्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
'नोट भोट खतरा' सङ्केत उल्लेख गरिएको दुई वटा शङ्कास्पद वस्तुलाई सेनानी आकृती घिमिरेको कमान्डमा आएको टोलीले शनिबार बिहान पौने सात बजे डिस्पोज गरेको हो । उक्त शङ्कास्पद वस्तुभित्र रेड बुलको बट्टाभित्र बालुवा र बिजुलीको तार मात्र राखेर तर्साउन खोजिएको डिस्पोजल टोलीले जानकारी दिए ।
निर्वाचनलाई प्रभावित पार्न उद्देश्यले अज्ञात समूहले वीरेन्द्र मावि मतदान स्थलको पश्चिम पट्टिको गेटमा शुक्रबार राती ९ बजेर ४० मिनेटमा कार्टुनले प्याक गरिएको वस्तु फेला परेको थियो ।
त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा फेरि अर्को शङ्कास्पद बस्तु झोला फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राती फेला परेकोले शङ्कास्पद वस्तुलाई बिहान मात्रै सेनाले डिस्पोज गर्यो । एउटै मतदान स्थलमा दुई वटा शङ्कास्पद वस्तु फेला परेसँगै त्यहाँका स्थानीयमा त्रास फैलिएको थियो ।