मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीद्वारा मतदान केन्द्रको अनुगमन
हेटौंडा : मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मतदान केन्द्रहरूको अनुगमन गरेका छन्।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष एवम् भयरहित तवरबाट सम्पन्न गर्ने उद्देश्यका साथ मतदान केन्द्रहरूको व्यवस्थापनबारे जानकारी लिन शनिबार स्थलगत अनुगमन गरिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए। उनले हेटौंडा बजार क्षेत्र, थाहा नगरपालिका र अन्य गाउँपालिकाहरूमा मतदान केन्द्रको अनुगमन गरी त्यहाँको वस्तुस्थितीबारे जानकारी लिइएको बताए।
उनले मकवानपुरका ३६४ वटै मतदान केन्द्रमा मतदानस्थलको व्यवस्थापनको कार्य सम्पन्न भएको बताए। मतदानस्थलमा डोरी टाँग्ने, मतदान कक्षलाई गोप्य बनाउने, मतदान कक्षमा प्रवेश गर्ने र मतदानपश्चात बाहिर निस्कने मार्ग बनाउनेलगायत आवश्यक व्यवस्थापनको सम्पूर्ण कार्य पूरा भएको उनले बताए।
मतदान केन्द्रहरूमा मतपत्र, मतदान पेटिकालगायत आवश्यक सम्पूर्ण सामग्री पुगिसकेको बताउँदै उनले मकवानपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले प्रत्येक मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गरे।
उनले अति संवेदनशील, संवेदनशील र सामान्य अवस्थाको मतदान केन्द्रहरूमा आवश्यकता अनुसार सुरक्षा प्रबन्ध मिलाइएको बताए।
जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसमेत गरी कूल ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको बताए। दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कूल ३ लाख ७७८ मतदाता रहेका छन्।