मुस्ताङका सबै मतदान केन्द्रमा तयारी पूरा
जोमसोम : भोली हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन तयारी पूरा भएको छ। जिल्लाको एक अस्थायीसहित ४० वटा मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए।
मतदान केन्द्रहरूमा अनुसूची फाराम भने, मतदान केन्द्रको पूर्वाधार निर्माण गर्ने ,ज्येष्ठ नागरिक तथा अपाङमैत्री मतदानको व्यवस्था गर्ने, मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताए।
सबै मतदान केन्द्रमा पुरुष, महिला, जेष्ठ नागरिक र अपाङमैत्री मतदान गर्ने लाइन बनाइएको छ। मतदान केन्द्रहरूमा अपाङ्ग र अशक्त मतदातालाई मतदान गर्न सहजताका लागि ह्वील चियरको समेत व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए।
केन्द्रको बाहिरी प्रवेशद्वारमा प्रतिनिधि प्रत्यक्ष तथा समानुपातिक र प्रदेशसभा प्रत्यक्ष र समानुपातिक कसरी गर्ने भन्ने सन्देशमूलक सामग्री समेत टाँस गरिएको छ।
मुस्ताङको थासाङ-३ लेतेको ज्ञानोदय मावि मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भइसकेको मतदान अधिकृत विवेक सिक्देलले जानकारी दिए।
सो मतदान केन्द्रबाट प्रतिनिधसभाका उम्मेदवार कांग्रेस गठबन्धनका योगेश गौचन थकाली र एमालेका प्रेमप्रसाद तुलाचनले मतदान गर्नेछन्। पूर्व वाणिज्य मन्त्री रोमि गौचन थकालीले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछन्।