नागरिक परीक्षाको शुभसाइत
उन्नाइसौं शताब्दीका अमेरिकी नाटक–समीक्षक एवं म्यागेजिन सम्पादक जर्ज जिन नाथनले भनेका थिए, ‘खराब जनप्रतिनिधि असल नागरिकबाटै चुनिन्छन्, जसले भोट हाल्दैनन्।’
आज हामी अर्को पाँच वर्षका लागि राज्य सञ्चालनको राजनीतिक नक्सा कोर्दै छौं। नक्सा जति सिर्जनशील भयो, संरचना उति गतिलो÷दर्बिलो हुन्छ। यसघडी हुने मौनता वा अनुपयुक्त छनोट हाम्रै लागि घातक हुनेछन्। आसन्न अनिष्टमा पछुताउने आधार बन्नेछन्। त्यसैले हरेक बालिगले निर्धक्क भोट हालौं। र, यस्ता जनप्रतिनिधि छानौं, जसले यो देशको भाग्य र भविष्य बदल्न सकून्।
त्यसैले राजनीतिक दल वा उम्मेदवारहरूको जाँच होइन, हामी आमनागरिकको दिव्यपरीक्षा हो यो। सम्भावित जनप्रतिनिधिका योग्यता, दक्षता, विशेषता एवं सामथ्र्य पारख गरौं। बोल्ने होइन, गर्ने र सक्ने रोजौं। नापौं। जाँचौं। तौलिऔं। जोखौं। छामौं। हेरौं। पहिल्याऔं। र, ढुक्क भएर उत्कृष्टलाई मतदान गरौं। राष्ट्रलाई समृद्धिको गन्तव्यमा पुर्याउन स्वविवेक प्रयोग गर्ने अनुपम शुभसाइतको अधिकतम उपयोग गरौं। यो मौका फर्किएर आउँदैन। यो अवसर दोहोर्याएर पाइँदैन। छिन यही हो। दिन यही हो।
जम्बो संविधानसभाले बनाएको संविधान मुताविक भइरहेको यो दोस्रो आमनिर्वाचन हो। यसप्रति जनता जति उत्साही छन्, देशको राजनीतिक दुरवस्थाले उति निराश छन्। यो पवित्र मुहूर्तमा यति वास्तविकता बोल्नैपर्छ। कहाँ टुट्यो शासकीय स्थिरताको नागरिक अभिलाषा ? कहाँ छुट्यो सुशासन र विकासको प्रतिबद्धता ? जवाफ खोज्ने थलो पनि अन्ततः मतपत्र नै हो।
सोचौं, भ्रष्टले खुट्टा घुमाएर ढलीमली गर्न नपाऊन्। चुनावलाई लगानी ठानेर उठाउन आतुरहरूका रहर पूरा नहून्। देश बनाउने निर्मल मनहरू नेतृत्वमा पुग्न सकून्। त्यसका लागि निःसन्देह हामीले विवेकसम्मत मतदान गर्नैपर्छ। मतदान नै राष्ट्रको जीवनदान हो।
अन्त्यमा, अमेरिकाका तेस्रा राष्ट्रपति थोमस जेफर्सनको अभिव्यक्ति यहाँ स्मरणीय ठहर्छ, ‘हामीसँग बहुमत नागरिकको सरकार हुँदैन। हामीसँग त्यस्तो बहुमतको सरकार हुन्छ, जो मतदानमा सहभागी हुन्छन्।’ अर्थात्, मतदानमा सामेल नहुनु सरकार निर्माणमा पन्छिनु हो। परिणामतः गलत सरकारको शासन पाँच वर्षका लागि भोग्नु हो।
अतः हामी नागरिक यो अमूल्य परीक्षाबाट कदापि नभागौं। आफ्नै हातले आफूले चाहेका प्रतिनिधि छानौं। रोजेको/खोजेको सरकार बनाऔं। आजको दिनको श्रेष्ठता यसमै छ।