मतदानपछि प्रचण्डले भने : प्रधानमन्त्रीकै विवादले गठबन्धन टुट्दैन (भिडियो)
चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्। अध्यक्ष प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल , शान्तिपुर 'क' केन्द्रबाट मतदान गरेका हुन्।
मतदानपछि पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले गठबन्धन प्रधानमन्त्रीकै विवादले नटुट्ने बताए। उनले भने, 'प्रधानमन्त्रीको उम्मेद्वार धेरै छन्। निर्वाचन सकिएपछि प्रधानमन्त्री समस्याको विषय हुँदैन। गठबन्धनमा राम्ररी सल्लाह भएर सहजता साथ प्रधानमन्त्री छनौट गरिन्छ।'
उनले संविधानसभाबाट संविधान घोषणा भएपछिको दोस्रो चरणको निर्वाचन भएकोले यसलाई आफूले ऐतिहासिक महत्त्वको ठानेको बताए।
जीत हार भन्दा पनि निर्वाचन राम्ररी सम्पन्न हुनु ठूलो कुरा भएको उनको भनाइ छ। उनले भने, ' विगतमा संविधानमाथि नै घात हुने हो कि भन्ने अवस्था आएको थियो। अहिले कुन पाटीले कति भोट ल्यायो भन्दा पनि स्वच्छ धाधलीरहित निस्पक्ष निर्वाचन हुन ठूलो कुरा हो। संविधानमाथि नै प्रश्न उठाउनेको लागि यो निर्वाचन ठूलो जवाफ हो।'
यो चुनावले देशलाई नयाँ प्रक्रियामा लाने कुरामा आफू विश्वस्थ भएको उनले बताए। गोरखाको निर्वाचन क्षेत्र न २ बाट उठेको भए पनि चितवन गृहजिल्ला भएकोले आफूले चितवन नछाडेको बताए।