लमजुङमा पृथ्वीसुब्बा गुरूङ र देवप्रसाद गुरूङले गरे मतदान
बेंसीसहर : निर्वाचन आयुक्त जानकी कुमारी तुलाधरले गृह जिल्ला लमजुङमा मतदान गरेकी छन्। आयुक्त तुलाधरले सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्। 
लमजुङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले सुन्दरबजार नगरपालिका-२ भाटेओडारस्थित भारती सदन मावि मतदान केन्द्रमा मतदान गरे। सोहि मतदान केन्द्रमा नेकपा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष राजु कार्कीले पनि मतदान गरेका छन्।
प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले क्ब्होँलासोथर गाउँपालिका-९ बुद्धोदय मावि गिलुङमा मतदान गरेका छन्।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार लमजुङमा १ लाख ३३ हजार ५ सय ५९ जना मतदाता छन्। प्रदेश-१ मा ६३ हजार ५ सय ७५ र प्रदेश-२ मा ६९ हजार ९ सय ८४ मतदाता छन्। स्थानीय चुनावपछि २ हजार ६५ मतदाता नयाँ थपिएका छन्।
निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक १ हजार ४ सय ९७ जना कर्मचारी खटिएका छन्। जिल्ला निर्वाचन अधिकृत नारायणप्रसाद सापकोटाले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी कर्मचारी खटिएको बताए। निर्वाचनमा सहयोग गर्न ७ सय २८ जना स्वयंसेवक खटिएका छन्।
लमजुङमा २ वटा अस्थायीसहित १ सय ३० मतदान स्थल छन्। सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !