मकवानपुरका १० मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै प्रवेशद्वार
हेटौंडा : मकवानपुरको ३६४ मध्ये १० वटा मतदान केन्द्र अपाङ्गमैत्री बनाइएको छ। ती सबै केन्द्र हेटौंडा उपमहानगरपालिकाभित्र रहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।
भौगोलिक विविधताका कारण अन्य केन्द्रहरू भने अपाङ्गमैत्री बनाउन नसकिएको उनले बताए।
उनका अनुसार रोप वे भवन हेटौंडा-१, सिद्धार्थ मावि हेटौंडा-२, महेन्द्र किरण मावि हेटौंडा-३, भुटनदेवी मावि हेटौंडा-४, बालज्योति मावि हेटौंडा ५, नवज्योति मावि हेटौंडा-७, हेटौंडा १५ नम्वर वडा कार्यालय रातोमाटे, जनप्रिय उच्च मावि हेटौंडा-१६, विष्णुज्योति आधारभूत विद्यालय हेटौंडा-१२ र ज्ञानदा मावि हेटौंडा-१० स्थित मतदान केन्द्र अपाङ्गमैत्री बनाइएको हो।
अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्ने ठाउँसम्म पुग्न र मतदानपश्चात बाहिर निस्कन छुट्टै द्वारको व्यवस्था गरिएको छ।
अपाङ्गमैत्री प्रवेशद्वारबाट अपाङ्गता भएका व्यक्तिका साथै वृद्ध, अशक्त, गर्भवती र बिरामी भएका व्यक्तिहरूलाई समेत सजिलोसँग मतदान गराउने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए।
दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कूल ३ लाख ७७८ मतदाता रहेका छन्।