आफ्नै गाउँ फर्की आएँ

आफ्नै गाउँ फर्की आएँ

काठमाडौं : आज आइतबार, मंसिर ४ गते। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन अर्थात् देशको भविष्य फैसला गर्ने दिन। निर्वाचनलाई आगामी पाँच वर्षका लागि राज्यसत्ता गलत व्यक्तिको हातमा नदिन सर्वसाधारणले सोच्न पाउने दिनका रूपमा पनि लिइन्छ। निर्वाचनकै लागि आफ्नो कार्यक्षेत्रबाट युवाहरू धमाधम गृहक्षेत्र पुगेका छन्। काठमाडौं उपत्यमा रहेका अधिकांश मतदाताहरू शनिबार बेलुकासम्म मतदान गर्न आफ्नो निर्वाचन क्षेत्रसम्म पुगिसकेका छन्।

दाङका प्रमोद रिजाल मतदानका लागि शुक्रबार घर हिँडेका छन्। उनी काठमाडौंबाट दाङ गएका हुन्। एक निजी कम्पनीमा कार्यरत रिजाल केही दिन बिदा मागेर घर गएको बताए। ‘मलाई मन परेको उम्मेदवार र पार्टीलाई मतदान गर्न ५/६ हजार खर्च गरेरै भए पनि घर जाँदै छु’, भन्छन्, ‘हामीजस्ता युवाले मतदान नगरे कसले मतदान गर्छ ?’ रिजाललाई केही दिनअघि आउजाउ टिकट, खाना खर्च जोड्दा ६ हजार जति लाग्ने भएकाले किन जाने भोट हाल्न भन्ने लागेको थियो। तर, ‘५ वर्षमा एकचोटी आउने मतदानमा केको हिसाब गरेर बस्ने भनेर म मतदान गर्न जाने निर्णय गरेको हुँ’ रिजाल भन्छन्।

रोल्पाकी शर्मिला मगर पनि आफैं टिकट खर्च गरेर भोट हाल्न शुक्रबार घर हिँडिन्। ‘मतदान गर्न पाउनु हाम्रो लागि भाग्यको कुरा हो’, मगर भन्छिन्, ‘विदेश हुनेहरूले त मतदान गर्न पाउँदैनन्।’ भोट हाल्न जानु उचित लागेर उनी शुक्रबार काठमाडौंबाट लिबाङ हिँडेकी थिइन्। मत खेर नजानेमा उनी आशावादी छिन्।

नुवकोटका रमेश सिलवाल मतदान गर्न आफ्नै साधनमा शनिबार घर गएका छन्। व्यवसायीसमेत रहेका सहकारीकर्मी सिलवाल मत खेर नफाल्न उनी शनिबार गृह जिल्ला हिँडेका हुन्। सम्भव भएसम्म र अनुकूल मिलेसम्म भोट हाल्न इच्छुक हुने सिलवाल यसपालि चलनचल्तीका राजनीतिक दल तथा उम्मेदवारभन्दा नयाँ दल र उम्मेदवारको उदय हुने सम्भावना देख्छन्। ‘विगतको कुनै समयको चुनावमा ‘एक भोट दाइ, एक भोट गाई’ भन्ने चर्चित थियो,’ सिलवाल भन्छन्, ‘अहिले प्रत्यक्षमा जसलाई हाले पनि समानुपातिकमा एक भोट घण्टीलाई जाने सम्भावना देखिएको छ।’

कञ्चनपुरका रामबहादुर भट्ट मतदानकै लागि केही दिनअघि गृह जिल्ला पुगेका छन्। मत हाल्न पाउने अधिकार प्रयोग गर्न उनी काठमाडौंबाट घर गएका हुन्। काठमाडौंमा जागिरे भट्ट प्रायःजसो निर्वाचनका बेला गृह जिल्ला जाने गर्छन्। मनले खाएको उम्मेदवार र पार्टीलाई एक मत भए पनि जितका लागि आधार भन्छ भनेर उनी मतदान गर्न कञ्चनपुरको यात्रा तय गरेका हुन्। आचार्य, मगर, सिलवाल र भट्ट नमूना प्रतिनिधि मात्र हुन्। चुनावका लागि लाखौं युवाहरू आफ्नो क्षेत्रमा मतदान गर्न गएका छन्।

ट्राफिक प्रहरीका अनुसार ८/१० दिनयता १० लाखभन्दा बढीले उपत्यका छाडेका छन्। शनिबार ७५ हजारले उपत्यका छाडे। शुक्रबार ६५ हजार १४२ ले र बिहीबार ५८ हजार ३ सयले उपत्यका छाडेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रबउ राजेन्द्रप्रसाद भट्टले चुनाव लक्षित गरेर शुक्रबार र शनिबार यात्रु अत्याधिक बाहिरिएको बताए।

पछिल्लो एक हप्तायता यात्रु बाहिरिने क्रम बढेको उनले बताए। ‘सामान्य समयमा भन्दा मतदानकै लागि बाहिरिने यात्रु ८/१० दिनयता बढेका छन्’ भट्टले भने। बस रिजर्भ गरेर पनि मतदान गर्न गृह जिल्ला पुगेका छन्। खासगरी राजनीतिक दलमा प्रतिबद्ध मतदाताहरू पैसा उठाएर भए पनि गाडी रिजर्ब गरी आफ्नो क्षेत्रमा पुगेका छन्। कतिपय उम्मेदवार तथा पार्टीले नै गाडी संयोजन गरी आफ्ना मतदाता लगेका छन्। पार्टीले सम्पर्क मञ्चमार्फत आफ्ना कार्यकर्ता लैजान्छन्। काम तथा पढाइको सिलसिलामा काठमाडौं उपत्यकामा रहेका मतादालाई उम्मेदवारले आफ्नै खर्चमा लैजाने गरेको पार्टीका अगुवाहरू बताउँछन्।

शनिबार बिहान राजधानीबाट मतदानका लागि पूर्वतिर घर फर्किनेहरूको लाम तीनकुनेबाट लोकन्थलीसम्म देखिएको थियो। बसपार्क र कलंकी क्षेत्रमा पनि उस्तै भीड देखिन्थ्यो। सरकारले निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ। मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म बन्द छन्। काठमाडौंमा जागिर गर्दै आएका धेरैजसोले थप एक/दुई दिन बिदा मिलाएर भोट हाल्नकै लागि उपत्यका छाडेका छन्।

कलेजका विद्यार्थी, व्यवसायी र विभिन्न पेसामा रहेकाहरू शनिबारसम्म गाउँ पुगिसकेका छन्। राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष पुष्पा श्रेष्ठले चुनावलाई लक्षित गरी दलहरूले गाडी बुक गरेको बताउँछन्। एक हप्तायता अन्य समयको तुलनामा दोब्बर गाडी रिजर्ब भएका छन्। मिनीबस तथा साना गाडी पनि रिजर्बमा बाहिरिने गरेको उनले सुनाइन्। मतदाता आफैं पनि नियमित बसमा चढेर मतदान गर्न गएको श्रेष्ठले बताइन्। पार्टीहरूले पनि आफ्ना कार्यकर्ता तथा शुभेच्छुकका गाडी खोजेर रिजर्भ गर्ने गरेको पाइएको छ।

निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता छन्। पुरुषभन्दा महिला मतदाता ३ लाख बढी छन्। ९१ लाख ४० हजार ८०६ महिला मतदाता सूचीकृत हुँदा ८८ लाख ४७ हजार ५७९ जना पुरुष र १८५ जना अन्य मतदाता छन्। देशमा रोजगारी नहुँदा अधिकांश पुरुष वैदेशिक रोजगारीमा जान बाध्य छन्। जसले गर्दा पुरुषभन्दा महिला मतदाता बढी भएका हुन्। केन्द्रीय तथ्यांक विभागका अनुसार २२ लाख नेपाली वैदेशिक रोजगारीमा छन्। गैरआवासीय नेपाली संघका अनुसार करिब ८० लाख नेपाली देश बाहिर छन्। वैदेशिक रोजगारीमा रहेका अनुकूल मिल्ने केही मतदाता निर्वाचन लागि नेपाल आएका छन्। तर, गन्तव्य मुलुकमै छन्। त्यस्तै, स्वदेशमै निजी तथा सहकारी क्षेत्रमा काम गर्ने सबै आफ्नो मतदान क्षेत्रमा जान पाएका छैनन्।

सरकारी कर्मचारी, सेना, प्रहरी, सशस्त तथा कैदीबन्दीले भने यसपटक समानुपातिकतर्फ भोट हाल्न पाउने भएका छन्। २०७४ को निर्वाचनमा सरकारी कर्मचारीले समानुपातिकमा मतदान गर्न पाएका थिएनन्। निजामती, सुरक्षा निकाय (सेना, सशस्त्र र प्रहरी) गरी ४ लाख सरकारी कर्मचारी छन्। उनीहरूले आफ्नो क्षेत्रको प्रतिनिधिसभातर्फको उम्मेदवार चुन्न नपाए पनि आफूलाई मन पर्ने दल चुन्न पाउनेछन्।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनमा शतप्रतिशत भोट नखस्ने बताउँछन्। प्रायःजसो निर्वाचनमा ६० देखि ७० प्रतिशत मत खस्ने गरेको छ। यस वर्ष पनि यहीँ वरिपरि मत खस्न सक्ने आँकलन गरिएको छ। अनिवार्य मतदान गर्नुपर्ने, नगरे कारबाही हुने व्यवस्था नभएकाले अनुकूल नमिल्नेले भोट नहाल्न सक्ने श्रेष्ठ बताउँछन्। संविधानविद निलाम्बर आचार्य ६५ प्रतिशतले मतदान गर्नुलाई निर्वाचनप्रति वितृष्णा भएको र अस्वीकृत गरेको भन्न नमिल्ने बताउँछन्। ‘मतदाता भोट हाल्ने क्रममा उत्कृष्ट मध्येबाट छानेर हाल्छन्’ आचार्य भन्छन्, ‘राजनीतिप्रति मतदाता उदासिन भए पनि कतिपयले चाहँदाचाहँदै पनि नभ्याएर मतदान नगर्न सक्छन्। यसलाई अन्यथा लिनुहुन्न।’

यसपालि पनि मतदान सूचीमा रहेकामध्ये ३० प्रतिशत जतिले आफ्नो अधिकार प्रयोग गर्नबाट वञ्चित हुने आँकलन गरिएको छ। संविधानविद् भीमार्जुन आचार्यले यसपटकको निर्वाचनमा मतदाताले दलप्रति खुलेरै असन्तुष्टी जनाएकाले नतिजामा करेक्सन हुने बताउँछन्। ‘दलप्रति वितृष्णा छ। दल, नेताको कार्यशैली र उनीहरूले उठाएका मुद्दाप्रति असहमति देखिँदै गए पनि विगतको निर्वाचन हेर्दा ६० देखि ७० प्रतिशत मत खस्नु राम्रो हो’ आचार्यले भने। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन्। सबै प्रकारका सुरक्षा प्रबन्ध मिलाइसकेको भन्दै थपलियाले कुनै पनि डर, त्रास, धम्कीमुक्त भई मत दिन आग्रह गरेका हुन्। आइतबार बिहान ७ बजेदेखि ५ बेलुकी ५ बजेसम्म मतदान हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.