ताप्लेजुङको आठराई त्रिवेणीमा झडपपछि मतदान अवरुद्ध
ताप्लेजुङ : आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। दिउँसो ३ बजेपछि मतदान अवरुद्ध भएको हो।
एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान अवरुद्ध भएको हो। तीनवटा मतदान केन्द्र रहेको यहाँ २८ प्रतिशत मत खसेको थियो। यहाँ २ हजार ४ सय १९ मतदाता रहेका थिए।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार मतदान रोकिएपछि सहमतिको प्रयास भइरहेको छ।
‘बाहिरबाट सुरक्षाकर्मीको दस्ता पुगिसकेको छ,’ प्रजिअ पोखरेलले भने, ‘दलहरूबीच सहमतिका लागि पनि अनुरोध गरेका छौं।’
विवादको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो। दिउँसो ३ बजेसम्म जिल्लामा ४० प्रतिशत मत खसेको पोखरेलले बताएका छन्।