मकवानपुरमा ५९.३ प्रतिशतले गरे मतदान, मतगणना भोलि
हेटौंडा : मकवानपुरमा मतदान सम्पन्न भएको छ।
दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कूल मतदाता संख्याको ५९.३ प्रतिशत मतदाता मात्रै सहभागी भएका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।
कूल ३ लाख ७३३ मतदाता रहेकोमा पुरुष ९२ हजार ८७७, महिला ८५ हजार ४०० र अन्य ५ गरी कूल १ लाख ७८ हजार २८२ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्रारम्भिक तथ्याङ्क छ।
जिल्लाको ३६४ वटै मतदान केन्द्रबाट हेटौंडा-२ स्थित सिद्धार्थ स्कुलमा रहेको मतगणनास्थलमा मतपेटिका ल्याउने कार्य भइरहेको पनि मुख्य निर्वाचन अधिकृत निरौलाले बताए।
भौगोलिक रूपमा केही मतदान केन्द्रहरू निकै टाढा रहेको र राति अबेरसम्ममा मात्रै मतपेटिका संकलन कार्य पूरा हुने बताउँदै उनले भोलि बिहान १० बजेबाट मात्रै मतगणना प्रारम्भ हुने जानकारी दिए।
मतगणनालाई प्रभावकारी र विश्वसनीय बनाउन गणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको उनले बताए।
चार समूहले एकै पटक प्रत्यक्षतर्फको मत गणना गर्ने र यसको नतिजा आएपछि मात्रै समानुपातिकतर्फको मत गणना गर्ने उनले बताए।