अपांगतामैत्री हुन सकेन मतदानस्थल

अपांगतामैत्री हुन सकेन मतदानस्थल

काठमाडौं : मतदान स्थलहरू अझै अपांगमैत्री हुन सकेका छैनन्। मतदान स्थल पुगेका चन्द्रागिरी नगरपालिका–१० वसीगाउँ निवासी नीलकण्ड पौडेल आफू अपांगलाई भोट खसाल्न असहज भएको बताए। 

भोट खसाल्न मतदान केन्द्र आएका उनी अपांगमैत्री नभएको गुनासो गरे। दुइट वैशाखीको भरमा उनी आफ्नो निवासबाट करिब डेढ सय मिटर टाढा रहेको मतदान केन्द्र विष्णुदेवी शिक्षा सदन माविमा जसोतसो घस्रिंदै पुगेको बताए। पोलियोका कारण सानैदेखि अपांग भएका पौडैल नेपाल अपांग संघको अध्यक्षसमेत हुन्। 

‘यसअघि निर्वाचन आयोगलाई मतदान स्थल ज्येष्ठ नागरिकमैत्री, अपांगमैत्री बनाउन पटक–पटक माग गर्‍यौं। तर, अझै भएन। आयोगले ६ अर्ब खर्च गरेर निर्वाचन गर्‍यो तर हामीले भनेअनुसार भएन,’ उनले आफूलाई असहज भएको सुनाउँदै भने, ‘मतपत्रमा छाप लगाउने स्थानमा अग्लो कुर्सी भएकाले समस्या भयो। कुर्सी अग्लो भएकाले एक स्टेप माथि चढ्नुपर्‍यो। सहज रूपमा मतदान गर्ने स्थिति थिएन।’ लामो बाटो हिँडेर स्थलमा पुग्नासाथ बस्ने, पानी दिने व्यवस्थासमेत नभएको उनको गुनासो छ। 

यस्तै, चन्द्रागिरी–१० देउजा टोलकी ६८ वर्षीया चन्द्रमाया श्रेष्ठ हात काम्ने समस्याले छोरालाई साथ लिएर आएको बताइन्। यसपटक मतदान केन्द्रमा थोरै जना भएकाले छिट्टै भएको सुनाइन। सोही मतदान केन्द्रकी निर्वाचन अधिकृत सुभद्रा सुवेदी भने वृद्धवृद्धा, अपांग, असहायलाई लाइन नबसाई छिटो–छिटो भोट खसाल्न दिएको र गाह्रो भए बस्ने सुविधा दिएको बताउँछिन्। तर, खानेपानीको व्यवस्था भने नभएको उनले स्वीकारिन्। उनका अनुसार जम्मा मतदाता संख्या १ हजार ५४० रहेकोमा करिब ४५–५० प्रतिशत भोट खसेको छ। सो स्थानमा १८ जना कर्मचारी, १३ जना सुरक्षाकर्मी खटेका थिए। 

मतदान क्षेत्रमा सहभागी हुन आएका वृद्धवृद्धा, असक्त, अपांगता भएकालाई लाइन बस्ने झन्झट नभए पनि सबै मतदान केन्द्र अपांगमैत्री नभएको मतदाताहरूको गुनासो छ। निर्वाचन क्षेत्र नम्बर ९ अन्तर्गतको चन्द्रागिरी नगरपालिका–१५ वडाको निर्वाचन केन्द्र विष्णुदेवी मन्दिरमा भोट खसाल्न आएकी ८५ वर्षीया माइली राउत धेरै वर्षदेखि लाइन नबसी भोट हाल्न पाएर सजिलो बनाएकोमा खुसी व्यक्त गरिन्। आफू निरक्षर भएकाले नातिनी साथी लिएर आएकी राउत भन्छिन्, ‘आफूले अक्षर, चिह्न ठम्याउन सक्दिनँ। भोट छाप लगाउँदा खेर जाला कि भनेर नातिनीलाई सँगै लिएर आएँ। आउँदाआउँदै भोट खसाल्न पाइयो। हामी वृद्धलाई सजिलो भएको छ।’

सो मतदान केन्द्रमा भोट खसाल्न आएकी शिक्षिका (वसीगाउँ आधारभूत विद्यालयकी प्रधानाध्यापक) सीता थापा कार्की यसपटक मतपत्र छपाई बुझ्ने खालको भएकाले धेरै बदर नहुने अनुमान गर्छिन्। निर्वाचन केन्द्र मतदाताका लागि सुविधायुक्त भएको बताउँदै उनी कतिपय दलले आफ्नो पक्षमा भोट आउने प्रलोभनमा सवारीको प्रयोग गरेर ओसार्ने गरेको टिप्पणी गर्छिन्। ‘भोट आफ्नो पक्षमा ल्याउन जाउँ भन्दै आफ्ना वरपरकालाई गाडीमा ल्याए। तर, विवेक प्रयोग गरेर राम्रो मान्छे छान्न पाउनु आफ्नो स्वतन्त्रता हो। त्यसरी दिनुपर्नेमा गाडीमै ओसारियो। असक्तलाई ओसार्नेभन्दा पनि सशक्तलाई पनि भोट आउने लोभमा मान्छेहरू ओसारेको देखियो। 

मतदान केन्द्रसम्म पुग्ने बाटो वृद्धवृद्धामैत्री नभएको, खानेपानीको व्यवस्थासमेत नगरिए र बस्ने पर्याप्त ठाउँ नभएको उनको टिप्पणी छ। मतदान केन्द्रमा शारीरिक असक्त (सुस्त) २७ वर्षीय एञ्जल कार्की डोर्‍याउँदै आइपुगेकी गंगा कार्की आफ्नो छोराको मताधिकार खेर नजाओस् भनेर जसोतसो विस्तारै हिँडाएर ल्याएको बताइन्। 

त्यस्तै, तीनथाना घर भएकी ८० वर्षीया जोगमाया माली आफैं मतपत्रमा छाप लगाउन नसक्ने भएकाले कान्छो छोराको साथमा आएको बताइन्। विष्णुदेवी मन्दिर मतदान केन्द्रका निर्वाचन अधिकृत मतदान केन्द्रलाई सक्दो सौहार्दमय बनाएको बताउँछन्। सो केन्द्रमा सुरक्षामा खटिएका इन्स्पेक्टर धनबहादुर बोहरा मतदान शान्तिपूर्ण, धाँधलीरहित सम्पन्न भएको बताए। उनका अनुसार कुल मतदाता संख्या ४ हजार ३०५ रहेको मध्ये २ हजार ८१७ को हाहारीमा मत खसेको छ। 

यो कुल मतदाताको करिब ६५ प्रतिशत हो। यसैगरी, चन्द्रागिरी–११ मा रहेको विष्णुदेवी सामुदायिक भवनमा मतदान गर्न आइपुगेकी ७५ वर्षीया फूलमाया महर्जन यो उमेरसम्म थुप्रै भोट हालेको तर पछिल्लो समय वृद्धालाई सजिलो बनाएको बताइन्। आँखा कमजोर भएकाले उनले छोराको सहायताले एकै मिनेटमा भोट खसालेको बताइन्। यसैगरी, चन्द्रागिरी सतुङ्गल बस्दै आएकी समाजसेवीसमेत रहेकी रबी श्री प्रधान सो मतदान स्थलमा सबैका लागि सुविधा पाएको बताइन्। सो मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृत बाबुराम पौडेल मतदान केन्द्र अपांगमैत्री, वृद्धवृद्धामैत्री भएको दाबी गरे। सो केन्द्रमा १ हजार ७०२ जना मतदाता संख्या रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.