राजनीतिक संस्कारमा सभ्यताको प्रश्न

राजनीतिक संस्कारमा सभ्यताको प्रश्न

हामीभित्र उच्च राजनीतिक संस्कार नभएकै हो त ? संस्कार राम्रो बनाउन हामीमा सिङ नै उम्रन पर्ने हो र ? नत्रभने हामी किन असल बन्न सक्दैनौं ? सत्ता प्राप्तिका लागि मात्र राजनीति कहिलेसम्म गर्ने ? टिकट प्राप्तिका लागि कति ओटा दल फेर्ने ? देशको अनुहार फेर्न लायक नेता कहिले बन्ने हामी ? चुनावको बेलामा मात्र आफ्ना मतदातालाई भेट्ने, अनि अरू समय फर्केर नजाने संस्कार हामीले किन सिक्यौं ? कसले सिकायो हामीलाई यति धेरै असभ्य बन्न ?

राजनीति आफैंमा उच्च नीति हो। मानिस राजनीतिक प्राणी हो। हामी भन्छौं राजनीति फोहोरी खेल हो। हाम्रा संस्कारविहीन काम कुरा देख्दा हो जस्तो लाग्छ। दलीय विचार, सिद्धान्त, निष्ठाभन्दा माथि हामीलाई पद चाहिन्छ। कुर्ची चाहिन्छ। सत्ता र शक्ति चाहिन्छ। योभन्दा बढी अझ सुरुमा आफूलाई चाहिन्छ। त्यसपछि क्रमशः घरपरिवार, आफन्त र इष्टमित्रलाई चाहिन्छ। त्यसपछाडि परेको बेला मार्न र मर्न सक्ने आधुनिक डनलाई चाहिन्छ। श्री ३ र श्री ५ को रोलक्रमजस्तै अप्रत्यक्ष रूपमा परिवार, हाम्रा र राम्राभन्दा माथि उठ्न सकेको छैन। यस्तैमा पिल्सिएको छ, हाम्रो प्रजातन्त्र, हाम्रो लोकतन्त्र, हाम्रो बहुदलीय जनवाद अनि हाम्रो समृद्ध नेपाल र सुखी नेपाली।

कुनै पनि कुरा आफैंमा खराब हुँदैन। खराब भनेको त त्यसमा सहभागी हुने पात्रहरूको नराम्रा प्रवृत्ति, नराम्रा व्यवहार, अन्य सबै काम कुरामा सदाचार र नैतिकताको कमी हुनु हो। दृष्टिकोण कमजोर हुनु हो। आफ्नो कमजोरी कहिल्यै नदेख्नु, अनि दोष अरूको देख्नु, गल्ती अरूको देख्नु र आफ्नाबाहेक अरू सबैलाई खराब देख्नु हो। यी र यस्तै खराब सोचविचारमा हामी डुबिरहेका छौं। अझ बढी राजनीतिकर्मीमा असल बानीको अभाव छ। जुनसुकै दल, सिद्धान्त र वादका नामबाट राजनीतिमा लागे पनि आफू, आफ्नो घर–परिवारको फाइदा र काइदामा भन्दा माथि उठ्न सकेका छैनौं।

अब हामीले घोषणापत्रका कुरा गरौं त। आफूले आफ्नो आत्मआलोचना गर्न सिकौं त। २०४८ सालदेखि हालसम्म बनाएका दलका घोषणापत्र कसका नराम्रा छन् र ? हालसम्म सबै घोषणापत्रमा लेखिएका स्वर्णाक्षर र दुर्गम बस्तीका नागरिकका दुःख सम्झँदा मात्र पनि मन झसंग हुन्छ। घोषणापत्रमा वर्षौं पहिला विश्राम लिइसकेको कर्णालीका तुइनहरूमा आज पनि नागरिक झुन्डिरहेका छन्। अकालमा मरिरहेका छन्। राज्यको लगानीको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा तर देशमा सबैभन्दा बढी बेथिति बढेको पनि स्वास्थ्य अनि शिक्षामा नै छ। कसलाई के दोष दिनु ?

असल बन्न, सभ्य बन्न, सिंगो मुलुकलाई सभ्यताले ढाक्न सबैमा असल आचरण, संस्कारको जरुरत पर्छ। राजनीति भनेको उच्च नीति हो। समग्र देशको विकास निर्माण गर्ने, विकास व्यवस्थापन गर्ने मूल मियो हो। मियो कमजोर हुनुहुन्न। मियो खराब आचरणको भयो भने सिंगो देशको विकास र सभ्यता नै तहसनहस हुन्छ। भनिन्छ नि, ‘कुनै पनि कुराको निर्माण गर्न गाह्रो हुन्छ तर भत्काउन निकै सजिलो हुन्छ।’ राजनीतिक संस्कार पनि त्यस्तै कुरा हो। हामीसँग यही राजनीतिक संस्कारको कमी छ।

जुनसुकै तन्त्र ल्याउँदा पनि हामीले कहिल्यै उच्च राजनीतिक सोच, विचार, प्रवृत्ति अपनाउन सकिएन। सबै तन्त्र ठिक छन्। सबै दल ठिक छन्। यहाँ बेठिक भनेको त राजनीतिक कर्मीका सोच, विचार, शैली र चिन्तन हो। असल मानसिकताको अभाव हो। असल दृष्टिकोणको अभाव हो। आफू परिवर्तन हुन नसक्ने, अरूलाई दोष दिने सबै दलको राष्ट्रिय विशेषता नै बनिसक्यो। दलको मानसिकता आफ्नो दलले मुलुकका लागि, नागरिकका लागि राम्रो के गर्ने भनेर सोचविचार गर्नुभन्दा अर्को दलको के भनेर कुरा काट्ने भन्ने सोचमा व्यस्त हुन्छन्। सबै दलको प्रतिस्पर्धा भनेको नै एकले अर्को दलको विरोध गर्नु, कुरा काट्ने र खुट्टा तान्ने भएको छ।

असल राजनीतिक संस्कारले असल नेतृत्वको निर्माण हुन्छ। नेतृत्व असल भएपछि सरकार राम्रो हुन्छ। सिंगो मुलुकले विकास र समृद्धिका पाइलाहरू चल्न थाल्छ। अब हामी सबैले एक पटक सोच्नुपर्ने भएको छ। हरेक कामकुरामा परिवर्तन सम्भव छ। परिवर्तन आफूबाट सुरु गरौं। अरूलाई परिवर्तन गराउँछु भन्ने कुरा फगत मूर्खता मात्र हो। सुधार गर्ने भनेको आफूलाई हो। हरेक कुरा सम्भव छ, गर्नुपर्छ। अहिले नगरे कहिले गर्ने ? 

भन्नेजस्ता असल सोचविचार र मानसिकता राजनीतिमा भित्रिनुपर्छ।

राजनीतिमा अर्को खराबीको रूपमा आफ्नो दलले र आफ्नाले नराम्रो काम गर्दा पनि राम्रो देख्ने अनि अर्को दल र अर्काले गरेको राम्रो कामलाई पनि नराम्रो देख्ने प्रवृत्ति आज पनि व्यापक छ। यही प्रवृत्तिले गर्दा नेतृत्वले सर्वसाधारण नागरिकको विश्वास जित्न सकेको छैन। ‘जो अगुवा उही बाटो भँडुवा’ भनेजस्तै जब नेतृत्व नै खराब भएपछि नागरिक असल बन्न गाह्रो हुन्छ। जुनसुकै दलका सिद्धान्तहरू सापेक्षरूपमा केही भिन्न हुन्छन्। तर सबै दलको प्रमुख केन्द्र भनेको समग्र मुलुकको विकास गर्नु हो। अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो देशको छवि उच्च बनाउनु हो। सुख, शान्ति र समृद्धि हासिल गर्नु हो।

हामी सबै एकपटक एकजुट बनौं। सबै मिलेर उच्च राजनीतिक संस्कारको निर्माणमा जुटौं। हाम्रो जस्तोसुकै भए पनि राम्रो मान्ने प्रवृत्ति त्यागौं। व्यक्तिगत, दलगत र पारिवारिक राजनीति गर्नबाट माथि उठौं। सत्ता र शक्तिको लागि जस्तासुकै खराब व्यवहार गर्ने प्रवृत्ति आफूले त्यागौं र अरूलाई पनि त्याग्न लगाऔं। मात्र कुर्चीका लागि, पदको लागि आँखा चिम्लेर दौडिने, जुट्ने, फुट्ने चलनको अन्त्य गरौं।

हरेक व्यक्ति राम्रो संस्कारयुक्त हुन पहिला आफू परिवर्तन हुनुपर्छ। सबैले आफूलाई राम्रो काम गरेर सभ्य र शालिन बन्न सक्दा सबै दलहरू राम्रो हुन्छन्। अनि उच्च राजनीतिक संस्कारको अभ्यासले निरन्तरता पाउँछ। राजनीति उत्तम नीति हो। हाम्रो देशमा भन्ने गरिएको अत्यन्त निम्न स्तरको राजनीति संस्कारको उत्तम विकल्प भनेको असल संस्कारयुक्त राजनीतिको निर्माण गर्नु हो। हामी सबै यही बाटोमा हिँडौं।

सबै तन्त्र ठिक छन्। सबै दल ठिक छन्। यहाँ बेठिक भनेको त राजनीतिक कर्मीका सोच, विचार, शैली र चिन्तन हो। असल मानसिकताको अभाव छ यहाँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.