सोलुमा मतगणना सुरु, एकैसाथ ८ स्थानमा गणना हुँदै
सोलुखुम्बु : सोलुखुम्बुमा मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। मंगलबार साझ ५ बजेबाट गणना सुरु भएको हो।
जिल्लामा आठ स्थानमा गणनाको कार्य हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितिको समीक्षा हलमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको गणना गरिने छ।
यसरी गणना गरिँदा ढिलोमा बिहीबारसम्ममा मत परिणाम आउने आकलन गरिएको छ।
जिल्लाको ८ स्थानीय तहमध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको मतपत्र सोमबार सल्लेरी आइपुगेको हो भने त्यस बाहेकका पालिकाहरूबाट आइतबार राति नै गाडीमार्फत सल्लेरी ल्याइएको अधिकृत कालाखेतीले बताए।
खुम्बु पासाङ ल्हामुबाट ३६ थान मतपेटिका नेपाली सेनाको हेलिकोप्टर मार्फत दिउँसो सल्लेरी ल्याइएको हो भने लिखुपिकेबाट २८ थान मतपेटिका लामाजुरा हुँदै ट्याक्टर मार्फत सोमबार साँझ सल्लेरी आइपुगेको हो।
कुल ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा ४० हजार ४ सय ३३ मत अर्थात ४९.०६ प्रतिशत मत खसेको छ।