दैलेख-१ प्रदेश सभा (क) मा कांग्रेसका खत्री विजयी
दैलेख : दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मत गणनाको अन्तिम परिणाम अनुसार खत्री ९ हजार ४ सय ६४ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्।
२०७४ को निर्वाचनमा रेग्मीले नेपाली कांग्रेसका कृष्णकुमार बिसीलाई हराएका थिए। रेग्मी १० हजार ३ सय ६१ मतसहित निर्वाचित हुँदा कांग्रेसका बिसीले ८ हजार ७ सय ६५ मत पाएका थिए। २०७४ मा नेकपा माओवादी केन्द्रबाट बाम गठबन्धनको उम्मेदवार बनेर विजयी भएका रेग्मीले यस पटक हार बेहोर्नु परेको हो।
प्रदेशसभामा निर्वाचित कांग्रेसका पुर्ण बहादुर खत्री पहिलो पटक निर्वाचनमा उत्रिएका थिए। पार्टीको विभिन्न पदमा रहेर काम गरेका र थुप्रै सामाजिक संघ संस्थाहरुमा आवद्ध भएका खत्री नेपाल विद्यार्थी संघ दैलेखका संस्थापक अध्यक्ष हुन्।
२०४२ देखि २०४६ सम्म नेपाली कांग्रेस दैलेखको सल्लाहकार रहेका खत्री ९ औं महाधिवेशनपछि सहसचिवको कार्यभार सम्हालेका थिए। काँग्रेसको १३ औं महाधिवेशनमा कोषाध्यक्ष बनेका खत्री १४ औं महाधिवेशनमा सदस्यमा निर्वाचित भएका छन्।
नेपाल परिवार नियोजन संघ दैलेखको दुई कार्यकाल सभापति रहेको खत्री नेपाल रेडक्रस सोसाइटीको दुई कार्यकाल उपसभापति थिए। उनलाई गठबन्धनको साथ थियो।
यस्तै नेपाल मजदुर किसान पाटीका जगतबहादुर वलीले ५ सय १५, राप्रपाका हृदयराज शाहीले एक हजार ७९ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत प्राप्त गरेका छन्।
यो प्रदेश सभामा १९ हजार ९ सय ९८ मत खसेको थियो। कुल मतमध्ये ६ सय ७० म तबदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दैलेख-१, प्रदेश सभा (क) मा विजयी भएका कांग्रेसका पूर्णबहादुर खत्री। तस्बिर : अन्नपूर्ण।