एउटै मतपत्रमा चार छाप !
काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको निर्वाचन पर्वेक्षणमा खटिएका संस्थाले जनाएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक), आम निर्वाचन पर्यवेक्षण समिति(जियोक) र एशियन नेटवर्क फर फ्रि इलेक्सन नाम संस्थाले निर्वाचन पर्वेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै मतदाता शिक्षा प्रभावकारी नभएकोले मतदाता मतदान केन्द्रमा अलमलिएको निष्कर्ष निकालेको छ ।
मंसिर ४ गते भएको आम निर्वाचनमा मतदाता शिक्षा कमजोर भएकोले बदर मतको संख्या बढाउने अनुमान गरिएको छ । विगतको निर्वाचनको मतगणनाको तथ्यांकलाई हेर्दा झण्डै ५ प्रतिशत मत बदर हुँदै आएको छ । यसपालिको निर्वाचनमा बदर मतको संख्या १ प्रतिशतमा झार्ने निर्वाचन आयोगको लक्ष्य थियो । तर, स्थानीय तहमार्फत संचालन गरिएको मतदाता शिक्षा प्रभावकारी नभएको निर्वाचन पर्वेक्षण गरेका संस्थाको प्रतिवेदन छ ।
आमसंचारमाध्म तथा डिजिटल प्लेटफर्मबाट निर्वाचन आयोगले प्रशारण गरेको निर्वाचन सम्बन्धी सूचनालाई नै मतदाता शिक्षा भनेर आयोगले मतदातालाई झुक्याएको ती संस्थाहरु बताएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)का कार्यकारी निर्देशक डा. विकल श्रेष्ठले निर्वाचन आयोगले आम सञ्चारका माध्यम तथा स्थानीय निकायबाट मतदाता शिक्षा सञ्चालन गरेको थियो तर, यो पूर्णप्रभावकारी हुन सकेनन् ।
‘चार वटा मतपत्रमा एक एक छाप लगाउनु पर्नेमा एउटै मतपत्रमा ४ मतदाताले चार वटा स्वस्तिक छाप लगाएर मत संकेत गरेको पाइयो,’ उनले भने, ‘प्रत्यक्ष तर्फको मतपेटिकामा खसाल्ने मतपत्र समानुपातिक मतपेटिकामा खसाले ।’ यस्ता रिर्पोट दाङ, पाँचथर, संखुवासभा, चितवन, कास्की, गुल्मी, अछाम जिल्लाबाट धेरै आएको उनले बताए ।
संखुवासभाको चेनपुरमा १ सय ४१ जनाले मतदान गरिसकेपछि मात्र प्रदेशसभाको मतपत्र प्रतिनिधि सभाको मतपेटीकामा खसेको थाहा पाएर मतदान स्थगित भएको थियो । गुल्मीको एउटा मतदान केन्द्रमा मतदान अधिकारीले उल्लेख्य संख्यामा मतदातालाई प्रदेश सभा र प्रतिनिधि सभा दुवैका लागि एउटै मतपत्र उपलब्ध गराएको पनि भेटियो ।
त्रुटि भएको महसुस भएपछि निर्वाचन आयोगसंगको परामर्श लिएर मतदान रोकिएको थियो ।
दुर्गम बस्तीहरुमा मतदाता शिक्षा पर्याप्त नभएको आम निर्वाचन पर्यवेक्षण समिति(जियोक)को प्रतिवेदनमा उल्लेख छ ।
‘गठबन्धन संस्कृति र कतिपय अवस्थामा ४ वटा मतपत्रमध्य अलग अलग चिह्नमा मत दिनु पर्ने अवस्थका कारण मतदाताहरु अलमलमा परे ’, जियोकको प्रतिवेदनमा उल्लेख छ, ‘दलिय गठबन्धनका कारण मतदाताहरुमा अन्यौलता बढेको, राजनीतिक दलले सोचे जस्तो काम नगरेको गुनासो मतदातामा भेटियो ।’
एशियन नेटवर्क फर फ्रि इलेक्सन नाम संस्थाकी कार्यकारी निर्देशक चन्दनी वातावालले युवाहरु राजेगारीका लागि विदेश जाने कारणले ६१ प्रतिशत मत मात्र खसेको बताइन् ।
‘नेपालसंग एडभान्स भोटिङ सिस्टम नभएकाले युवाहरु मतदानबाट बञ्चित भए ’, उनले भनिन्, ‘तर, नेपालमा लोकतन्त्रको अभ्यास निकै नै राम्रो भइरहेको छ । यसले अरु देशलाई पनि प्रेरणा मिल्छ । शान्तिपूर्ण वातावरणमा चुनाव भयो ।’
६१ प्रतिशत मतदान भएको निर्वाचनमा कूल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाताको नामावली आयोगले सार्वजनिक गरेको थियो ।
पर्यवेक्षणमा खटिका संस्थाहरुको प्रतिवेदनमाथि बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले यो निर्वाचनबाट उम्मेदवार र राजनीतिक दलको प्रवृत्तिमा नयाँ परिवर्तन आएको बताए ।
‘चुनाव प्रचारशैलीमा व्यापक परिवर्तन आयो। तर, पैसा र डिजिटल प्लेटफर्मले चुनौति थपेको छ’, उनले भने ।