भक्तपुर २ मा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा विजयी
भक्तपुर : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा विजयी भएका छन्। गएराती सम्पन्न मतगणनामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार थापा २४ हजार २ सय ३८ मत ल्याएर विजयी भएका हुन्।
थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाएका छन्। कूल ६५ हजार ९ सय मतमध्य मतगणना भएको हो।
२०७४ को निर्वाचनमा बस्नेत नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरी भक्तपुरमा पहिलो पटक एमालेको विजयको झण्डा फहराउन सफल भएका थिए। त्यतिबेला बस्नेतले ३६ हजार ४१२ मत पाएको थियो।
बस्नेतको पराजयसँगै भक्तपुर क्षेत्र नं. २ मा एउटै व्यक्ति र पार्टीले लगातार जित हासिल गर्न नसकेको इतिहास कायम भएको छ। २०४६ मा प्रजातन्त्र पुनःस्थापनासँगै सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा दलहरुले आलोपालो जित्दै आएका छन। त्यसैगरी एउटै उम्मेदवारले दोहोर्याएर जित्न सकेको छैन।
२०४८ मा कांग्रेसका जगन्नाथ आचार्यले जितेको भक्तपुर क्षेत्र नं. २ मा २०५१ मा नेमकिपाका आशाकाजी बासुकलाले जिते। २०५६ मा पुनः कांग्रेसका लेखनाथ न्यौपानेले जितेको थियो भने २०६४ मा नेमकिपाका सुनिल प्रजापतिले जिते। प्रजापतिले कांग्रेसका लेखनाथ न्यौपानेलाई पराजित गरेका थिए। २०७० मा कांग्रेसका रामेश्वर ढुंगेलले नेमकिपाका सुनिल प्रजापतिलाई पराजित गरेका थिए।