भक्तपुरको प्रदेश सभामा २ (१) थापा र २(२) मा श्रेष्ठ विजयी
भक्तपुर : भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका किरण थापामगर र २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन्।
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मा डा. श्रेष्ठ ८ हजार ३४१ मत ल्याइ विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठले ८ हजार ३१ मत प्राप्त गरेका थिए। डा. श्रेष्ठले चन्दनकृष्णलाई ३१० मतले पराजित गरेका हुन्। डा. श्रेष्ठ यसअघि २०७४ मा एमालेका उम्मेदवारका रुपमा प्रदेश सभामा निर्वाचित भएका थिए।
भक्तपुर क्षेत्र नं. यस्तै नेमकिपाका रमेश वैद्यले ६ हजार ८३१, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले ३ हजार ७५०, स्वतन्त्र उम्मेदवार प्रेमनाथ श्रेष्ठले ५०६, राप्रपा नेपालका श्रीकृष्ण नेपालले ३२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका किरण थापामगरले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। थापामगरले १५ हजार २४२ र कार्कीले ११ हजार ९३५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार ३ हजार ३ सय ७ मतले पराजित गरेका हुन् ।
यस्तै राप्रपाका विक्रम थापाले ४ हजार २७०, नेमकिपाका सरोजराज गोसाईंले ३ हजार ८६, हाम्रो नेपाली पार्टी लौरो चिन्हका उद्धवकुमार घिमिरेले ५०३ र राप्रपा नेपालका उमेश बिष्टले २०० मत प्राप्त गरेका छन्।