एमालेका विनोदकुमार शाह प्रदेश सभामा निर्वाचित
दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह प्रदेश सभामा निर्वाचित भएका छन्। दैलेख प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा (ख) बाट उनी निर्वाचित भएका हुन्।
शाह ९ हजार ४ सय ६४ मतसहित प्रदेश सभामा निर्वाचित भएका हुन्। एमालेले दैलेखका दुई वटा प्रतिनिधि सभा निर्वाच क्षेत्र र तीन वटा प्रदेश सभा निर्वाचन क्षेत्र गुमाउँदा शाहले जीत हात पारेका हुन्।
शाहका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र शाही ८३ मतान्तरले पराजित भएका छन्। माओवादी केन्द्रका शाहीले ९ हजार ३ सय ८१ मत पाएका छन्। यी दुई नेता उम्मेदवारी दर्ता गराउनुको अघिल्लो दिनसम्म एउटै पार्टी अर्थात नेकपा एमालेमै थिए। एमालेबाट यो प्रदेश सभामा शाहले टिकट पाए भने एमालेमा टिकट नपाएपछि शाहीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर उम्मेदवारी दिएका थिए।
प्रदेश सभामा निर्वाचित शाह भारतको नैनितालबाट उच्च शिक्षा अध्ययन गरेर फर्किएपछि पञ्चायती व्यवस्थाले नागरिकका प्रजातान्त्रिक हक अधिकार हनन् गरेको बारे बोलेको आरोपमा २०२८ सालमा हिरासत बस्नुपरेको थियो। २०३५ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका शाहले नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यको रुपमा काम गरेका थिए।
२०३५ सालमा पञ्चायती व्यवस्थाविरुद्ध लागेको आरोपमा ९ महिना जेल जीवन बिताएका शाह दैलेखबाट नेपालजंग जेल सारेर अमानविय यातना दिएको अवस्थामा जेलबाट भागेर भारतमा भई बहुदलिय व्यवस्था स्थापनामा संघर्ष गरेका थिए।
२०४३ सालमा प्रधानपञ्चमा निर्वाचित शाह पञ्चायत कालमा दैलेखको मदिरा विरोधी आन्दोलनको अगुवाई गरेका थिए। पञ्चायत विरोधी आन्दोलनमा सक्रियता बढाएपछि २०४५ सालमा पुन जेल परेका शाह २०५१ सालमा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए।
२०५१ सालमा बनेको नेकपा एमाले सरकारले गरेका लोकप्रिय काम र चुनावका माध्ययमबाट सरकार गठन गरी प्रगतिशिल सुधारका काम गर्ने कार्यनितिबाट प्रभावित भइ शाहले २०५२ सालमा दैलेख जिल्लामा नेपाल मजदुर किसान पार्टीलाई नेकपा एमालेसँग् एकीकरण गर्ने कामको नेतृत्व गरेका थिए।
जलस्रोत सहायक मन्त्री समेत भइसकेका शाह दैलेखमा नेकपा एमालेको बलियो संगठन बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता हुन्। नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय अनुशासन आयोगको सदस्य भइ काम गरेका शाह अहिले एमालेको प्रदेश अध्यक्षको भूमिकामा छन्। विभिन्न २० बढी देशको भ्रमण गरेका शाह युरोप अमेरिका र एशिया जस्ता देशको विकास मोडल र राजनीतिक व्यवस्थालाई नजिकबाट अध्ययन गरेका नेता हुन्।