अर्घाखाँचीबाट टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित
सन्धिखर्क : अर्घाखाँचीमा टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्। रायमाझी २०६४,२०७०,२०७४ र २०७९ गरी ४ पटक विजयी भएका छन्।
बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका केन्द्रीय सचिव रायमाझी, प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका नेता रामजी प्रसाद घिमिरे विजयी भएका हुन्।
रायमाझी ४२ हजार ६ सय ७५ मत लिएर विजयी भएका हुन्। निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्दीय सदस्य तथा निर्वतमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन्। रायमाझी १७ सय ३० मत अन्तरले विजयी भए। राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १ सय ९९ मत प्राप्त गरेका छन्।
पूर्व उपप्रधानमन्त्री भइसकेका रायमाझी पटक-पटक मन्त्री भइसकेका छन्। बिहीबार प्रमाणपत्र ग्रहण गर्दै रायमाझीले सबै पक्षसँग समन्वय र सहकार्य गरेर देशको एक मात्र लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्यलाई पूरा गर्न अगाडि बढ्ने बताए।
उनले समृद्धिको युगमा पुगेका हामीले विकास र समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने लक्ष्य राखेकाले सोही अनुसार अगाडि बढ्ने बताएका छन्।
प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्। उनी २० हजार ५ सय १८ मतका साथ विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७सय ७८ मत प्राप्त गरे। आचार्य २०७४ सालमा पनि यहीँ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी भएका थिए।
लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बनेका आचार्य एमालेको केन्द्रीय सदस्य हुन्। प्रदेश सभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार रामजिप्रसाद घिमिरे विजयी भएका छन्। घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी भएका हुन्।
उनको निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। घिमिरे ८ सय १ मतअन्तरले विजयी भए।