सिटौलालाई रोक्दै लिङ्देनको दोस्रो ‘इनिङ’
झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन दोस्रोपटक सांसदमा निर्वाचित भएका छन्। झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै राप्रपा अध्यक्ष लिङदेन दोस्रो इनिङ लागि संसद् भवन छिर्ने ढोका खुलेको हो। लिङदेनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन्।
लिङदेनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन्। राप्रपाका प्रकाश पाठकले ३ हजार ४६१ मत ल्याएर तेस्रो र स्वतन्त्र उम्मेदवार डम्बर गिरीले ७३५ मत ल्याएर चौथो भएका छन्। नेकपा (एमाले)का जिल्लामा चुनावी तालमेल गरेका लिङदेनले मतगणनाको सुरुआतदेखि नै अग्रता लिँदै आएका थिए। सिटौलाले उनलाई उछिन्न सकेन। सत्ताारुढ गठबन्धनका साझा उम्मेदवार बनेका सिटौला जित्नेमा कार्यकर्ताहरू दाबी गर्दै आएका थिए। तर, परिणाम सिटौलाको पक्षमा नआएपछि उनीहरू निराश बनेका छन्।
झापा ३ बाट लिङदेन र सिटौला चौथो पटक आमनेसामने उभिएका थिए। यो लगाएर लिङदेन दुईपटक निर्वाचित भएका छन् भने सिटौला पनि दुईपटक निर्वाचित भइसकेका छन्। सिटौला २०४८ सालदेखि निरन्तर सातौंपटक उम्मेदवार बने। उनको हारसँगै यस क्षेत्रमा काँग्रेसमा ठूलो धक्का लागेको छ। उनको संसद् पुग्ने अन्तिम चाहनामाथि पनि पूर्णविराम लागेको छ।
२०५६ सालमा पहिलोपटक यस क्षेत्रबाट निर्वाचन लडेका लिङ्देन २०६४ सालको निर्वाचनमा उठेनन्। २०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आएका लिङदेन २०७४ सालको निर्वाचनमा पहिलोपटक निर्वाचित भएर संसद्मा पुगेका थिए। त्यसबेला लिङदेनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले हराएका थिए। त्यही हारको बदला लिने दाउमा सिटौला थिए। तर, सिटौलाको सपना यसपल्ट पनि पूरा भएन। लिङदेन र सिटौला २०५६, २०७० र २०७४ सालमा पनि प्रतिस्पर्धी थिए। २०५६ सालमा सिटौला १७ हजार ५६९ मत ल्याएर निर्वाचित भएकोमा लिङदेन ५ हजार ६२५ मत ल्याएर तेस्रो भए।
२०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३५५ मत ल्याएर निर्वाचित भएका उनका निकटतम प्रतिद्वन्द्वी लिङदेन ९ हजार २५३ मत ल्याए। त्यसभन्दा अघि सिटौला २०४८ सालमा एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भएका थिए।
२०५१ सालमा एमालेका पुष्पराज पोखरेलसँग पराजित भए। २०५६ सालमा एमालेका नारायण राजवंशीलाई पराजित गर्दै सिटौला पहिलोपटक यस क्षेत्रबाट संसद् बनेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशीसँग सिटौला पराजित भएको इतिहास छ।
‘जनता परिवर्तन चाहेको छ’
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनता परिवर्तन चाहेको आमनिर्वाचनको परिणामले देखाएको बताएका छन्। झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएको प्रमाणपत्र ग्रहण गर्दै सञ्चारकर्मीहरूसँग गरेको संक्षिप्त कुराकानीमा राप्रपा अध्यक्ष लिङदेनले जनता यथास्थितिको पक्षमा नभई परिवर्तनको पक्षमा रहेको बताएका हुन्।
निर्वाचन परिणामले वर्तमान जन चाहना फरक देखिएको छ। अब परिवर्तित सन्दर्भमा परिवर्तित ढंगले नै नयाँ समीकरणहरू बनेर जान्छन्। ‘सोचेअनुसारको अपेक्षित परिणाम आएन।