काभ्रे-१ (ख) मा कांग्रेसका तीर्थ लामा एमालेका चन्द्र लामालाई हराउँदै ३ मतले विजयी
काभ्रे : काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तीर्थ लामा विजयी भएका छन्। तीर्थ लामाले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका चन्द्र लामालाई मात्र ३ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालय पनौतीका अनुसार नेपाली कांग्रेसका लामाले १९ हजार २ सय ८० मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।
उनी नेपाली कांग्रेसका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार हुन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका चन्द्र लामाले १९ हजार २ सय ७७ मत प्राप्त गरेका छन्। अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट अहिले पराजित भएका चन्द्र लामा नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए। उनी बागमती प्रदेशको कृषि तथा पशु पन्छी विकास मन्त्रालयका मन्त्री समेत भएका थिए।
तीर्थको जीतसँगै बाम लोकतान्त्रिकका साझा उम्मेद्वारहरु काभ्रेका ४ ओटै प्रदेशमा विजयी भएका छन्। काभ्रे प्रतिनिधि सभाको १ को प्रदेश सभा क बाट बाम लोकतान्त्रिकका साझा उम्मेद्वार नेकपा माओवादीकेन्द्रका रत्न ढकाल र काभ्रे प्रतिनिधि सभा २ को प्रदेश सभा क बाट बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेद्वार नेकपा एसका लक्ष्मण लम्साल पुनः विजयी भएका हुन्। काभ्रे जिल्लामा दुई प्रतिनीधि सभा र चार प्रदेश सभा रहेका छन्।
बाँकी प्रतिनिधि सभा १ र २ को मतगणना जारी छ। प्रतिनिधि सभा २ को ख मा पनि नेपाली कांग्रेसका कञ्चन चन्द्र बादे विजयी भएका छन्। उनले एमालेका प्रतिष्पर्धी कुमार थापालाई ठूलो मतान्तरले पछि पार्दै जितेका हुन्।
काभ्रे क्षेत्र नं २ प्रदेश सभा (ख) तर्फ अन्तिम परिणाम कन्चनचन्द्र बादे २६ हजार ३५ र कुमार थापाले २१ हजार ९६७ मत पाएका छ्न्। बादे र थापाको मतान्तर ४ हजार ७८ रहेको निर्वाचन कार्यालयले जनाएको छ।