संसद् छिर्दै छन् धेरै नयाँ अनुहार

संसद् छिर्दै छन् धेरै नयाँ अनुहार

काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको एकैपटक सम्पन्न निर्वाचनको मतपरिणामपछि संसद्मा नयाँ अनुहारको पनि बाहुल्य रहने भएको छ। पटक–पटक चुनाव जितेकालाई समेत हराउनेदेखि छोटो समयमा खुलेका नयाँ पार्टीका नयाँ उम्मेदवारले राम्रो मतका साथ यसपटक संसद् प्रदेश गर्दैछन्। 

पटक–पटक चुनाव जित्दासमेत अपेक्षित काम गर्न नसकेपछि स्वतन्त्र र नयाँ दलका उम्मेदारहरूले यो पटक अवसर पाउने भएका छन्। जसमा मधेस आन्दोलनबाट उदाएका सिके राउत, राप्रपाका ज्ञानेन्द्र शाही र पत्रकारिताबाट राजीतिमा छिरेका रवि लामिछानेलगायत छन्। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, सीके राउतको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले संसद्मा दरिलो प्रतिनिधित्व गर्ने भएका हुन्। 

पछिल्लो मत परिणामले नयाँ पार्टीका नयाँ अनुहारलाई मात्रै नभई पुराना र ठूला भनिएका दलका चर्चित अनुहारलाई पनि अघि ल्याएको छ। यसको उदाहरणका रूपमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै प्रदीप पौडेल र एमालेका सूर्य थापालाई पनि लिन सकिन्छ। तर, पुराना पार्टीबाट भन्दा नयाँ पार्टीबाट संसद् छिर्ने धेरै छन्। 

नयाँ अनुहारमा सामाजिक काममा सक्रिय हुनेहरू धेरै छन्। मतदाताले उनीहरूलाई पुराना नेताको विकल्पमा छानेको जनमतले प्रष्ट पार्छ। टीकापुर घटनाका क्रममा थारु समुदायमाथि अन्याय भएको भन्दै रेशम चौधरीले आफ्नी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा नयाँ पार्टी दर्ता गराएका थिए। 

सोही पार्टीले यसपटक राम्रो जनमत समेट्यो। उक्त पार्टीको प्रभाव बाँके, कैलाली, बर्दियालगायतका क्षेत्रमा बढी परेको देखिन्छ। यो निर्वाचनसँगै राष्ट्रिय पार्टी बन्ने पनि निश्चित छ। तर, चौधरी भने मधेस आन्दोलनमा ६ जना सुरक्षाकर्मी र एक बालकको ज्यान लिने मुख्य दोषी भएको भन्दै जेल सजाय भोगिरहेका छन्। 

उता पृथकतावादी आन्दोलनबाट शान्तिपूर्ण राजनीतिमा फर्किएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि मधेसको राजनीतिमा छुट्टै वर्चस्व राखे। सप्तरी २ मा जसपा अध्यक्ष यादवलाई हराएर संसद्मा प्रवेश गर्दैछन्। मधेसलाई छुट्टै देश बनाउने भन्दै पृथकतावादी आन्दोलनमा हिँडेका राउतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिपूर्ण र वैधानिक राजनीतिमा फर्काएको थियो।

सञ्चार क्षेत्रबाट उदाएका रवि लामिछानेको पार्टीको प्रभाव देशभर परेको देखिन्छ। उनको पार्टीबाट ललितपुर ३ मा तोसिमा कार्की, काठमाडौं २ बाट सोबिता गौतम, कास्की २ मा माधवप्रसाद कँडेल, काठमाडौं ६ मा शिशिर खनाललगायतका आधा दर्जन धेरै उम्मेदवारहरू संसद् छिर्दैछन्। सामाजिक अभियन्ताका रूपमा परिचित ज्ञानेन्द्र शाही पनि राप्रपाबाट उम्मेदवार बन्दै जुम्लाबाट निर्वाचित भएका छन्। यता पुराना र ठूला भनिएका दलबाट भने नयाँ अनुहार कमै छन्। समाचार तयार पार्दा सम्मको मत परिणामअनुसार कांग्रेसबाट १०, एमालेबाट ८, राप्रपाबाट ३, माओवादी केन्द्रबाट २, स्वतन्त्र पार्टीबाट ७, र नेकपा एसबाट एक जना मात्रै छन्। 

नयाँ संविधान जारी भएपछिको दोस्रो संघीय निर्वाचनमा यसअघि संसद्मा नपुगेका र राजनीतिमा कमै नाम सुनिएका फरक अनुहारहरूका पनि केही ठाउँमा अग्रता देखिएको छ।

यस्ता छन् संसद् छिर्ने नयाँ अनुहार

विश्वप्रकाश शर्मा :  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पहिलो पटक संसद्मा छिर्दै छन्। शर्माले झापा १ बाट एमालेका नेता अग्नि खरेललाई भारी मतले पराजित गरे। शर्माले ३९ हजार ६ सय २४ मत ल्याउँदा खरेल २५ हजार ३ सय ४९ मतमा सीमित रहे। शर्मा २०७४ मा वाम गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए। त्यसअघि २०७० सालमा एमालेका रविन कोइरालासँग छ सय मतले हारेका थिए। 

प्रदीप पौडेल :  कांग्रेस महामन्त्रीमा पराजित भएका प्रदीप पौडेल पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराए। युवा नेताका रूपमा परिचित पौडेलले १५ हजार २ सय ३७ मत ल्याए भने पोखरेल १० हजार १ सय ७५ मतमा रोकिए। पौडेल २०७४ सालको निर्वाचनमा तनहुँबाट प्रदेशसभामा पराजित भएका थिए। 

योगेश गौचन थकाली :  योगेश नेपाली कांग्रेसको उम्मेदवार बन्दै मुस्ताङबाट निर्वाचित भएका हुन्। उनले ३ हजार ९ सय ९२ मत ल्याए। थकालीले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। २९ वर्षीय थकाली पहिलो पटक संसदीय निर्वाचन लडेका हुन्। पहिलो पटकमा नै उनले सफलता हात पारेका छन्। 

सन्तोष चालिसे :  नेपाली कांग्रेसबाट उम्मेदवार बन्दै काठमाडौं ३ बाट चालिसे निर्वाचित भएका हुन्। उनले एमालेका उम्मेदवार कृष्ण राईलाई पराजित गरे। गोकर्णेश्वरका निवर्तमान मेयर चालिसे पहिलो पटक संसद्मा छिर्दै छन्। चालिसेले १३ हजार ८ सय ५३ मत ल्याएका छन् भने निकटम प्रतिस्पर्धी एवं निवर्तमान सांसद राईले १० हजार २ सय ७७ मत ल्याए। 

पुष्पबहादुर शाह :  अछाम–२ बाट निर्वाचित शाहले एमालेका यज्ञप्रसाद बोगटीलाई पराजित गरेका हुन्। शाहले २२ हजार ९ सय ५४ मत ल्याएका छन् भने बोगटीले १६ हजार १ सय १४ मत ल्याए। बोगटी निवर्तमान सांसद हुन्।  

राजेन्द्र बजगाईं :  बजगाई गोरखा १ बाट निर्वाचित भएका हुन्। उनले एमालेका रामशरण बस्नेतलाई पराजित गरेका छन्। बजगाईंले ३३ हजार ४ सय २८ मत ल्याए भने बस्नेतले १६ हजार ७ सय 
८५ मत पाए। 

दुर्लभ थापा क्षेत्री : थापाले एमालेका प्रभावशाली मानिएका नेता महेश बस्नेतलाई पराजित गरेर संसद्को यात्रा तय गरेका हुन्। भक्तपुर–२ बाट उनले बस्नेतलाई फराकिलो मतले पराजित गरेका छन्। थापाले २४ हजार २ सय ३९ र बस्नेतले २३ हजार २ सय ८२ मत ल्याएका छन्। 

दिक्पालकुमार शाही :  दैलेख २ बाट शाही निर्वाचित भएका हुन्। शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरेका छन्। उनले २० हजार १ सय ५८ मत ल्याएका छन् भने पोखरेले २० हजार ५ मत ल्याए। 

श्यामकुमार घिमिरे :  घिमिरे सिन्धुली–२ बाट निर्वाचित भएका हुन्। उनले एमालेका प्रदिपकुमार कटुवाललाई पराजित गरेका छन्। घिमिरेले ३० हजार ३ सय ९१ र कटुवालले २५ हजार ५ सय ४६ मत ल्याएका छन्। 
विष्णुकुमार कार्की :  कांग्रेसका कार्कीले निवर्तमान सांसद् तिलक महतलाई नवलपुर २ बाट पराजित गरेका छन्। कार्कीले ३६ हजार १ सय ४ मत ल्याउँदा महतले ३४ हजार ८३ मत ल्याएका छन्। 

सूर्य थापा :  राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई हराएर एमालेका सूर्य थापा पहिलो पटक संसद्मा छिर्ने भएका छन्। प्युठानमा थापाले ४१ हजार १ सय १८ मत ल्याए भने उनको निकटम प्रतिस्पर्धी पौडेलले ३५ हजार ८ सय १८  मत ल्याइन्। पौडेल योभन्दा पहिला सोही क्षेत्रबाट निर्वाचित भएकी छन्।

सूर्य ढकाल :  बाँके १ बाट एमाले युवा नेता सूर्य ढकालले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई हराएर संसद्को बाटो तय गरेका छन्। उनले २५ हजार २६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी महतराजले १९ हजार ६ सय ३२ मत ल्याए।   
महेश बर्तौला :  मकवानपुर २ बाट युवा नेता महेश बर्तौलाले आफ्नै गुरु गठबन्धनका नेता विरोध खतिवडालाई हराएका छन्। बर्तौलाले ३३ हजार ५ सय ४ मत ल्याउँदा खतिवडाले २९ हजार १ सय ८१ मत ल्याएका छन्। 
अम्बरबहादुर रायमाझी :  उदयपुर–२ बाट एमालेका रायमाझीले नेकपा एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेर पहिलो संसद् छिदैछन्। रायमझीले १५ हजार २ सय ५१ मत ल्याउँदा खतिवडाले १२ हजार ८ सय ९३ मत ल्याएका छन्। 
प्रेमबहादुर महर्जन :  महर्जन एमालेबाट खाता खोल्ने उम्मेदवार हुन्। ललितपुर २ बाट उनले नेकपा एसका कृष्णलाल महर्जनलाई हराएका हुन्। कृष्णलाल प्रेमबहादुरका निकटम प्रतिस्पर्र्धी पनि बनेन। महर्जनले १५ हजार २५ मत ल्याउँदा कृष्णलालले ८ हजार २ सय ६४ मत ल्याएर चौथो भए। प्रेमबहादुर निकटम प्रतिपस्र्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत ल्याएका थिए। 
बासुदेव घिमिरे :  रुपन्देही ५ बाट घिमिरे निर्वाचित भएका छन्। उनले सार्वजनिक लेखा समितिका पूर्वसभापति भरतकुमार शाहलाई हराएका छन्। घिमिरेले ३६ हजार ८ सय २२ र शाहले २७ हजार १ सय २० मत ल्याए। पूर्वमेयरसमेत रहेका घिमिरेको संसदीय यात्रा पनि रोचक छ। पहिला उनको ठाउँमा खिमलाल भट्टराईले टिकट पाएका थिए। पछि घिमिरेलाई त्यो टिकट दिइएको थियो। 
मानवीर राई :  सोलुखुम्बुबाट कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसी हराएर राई संसदीय यात्रा तय गरेका छन्। राईले १९ हजार ३ सय २४ मत ल्याउँदा केसीले १६ हजार ५ सय ४५ 
मत ल्याएका छन्।
रामशंकर यादव :  सिराहबाट रामशंकर यादवले पहिलो पटक संसदीय यात्रा तय गरेका छन्। उनले कांग्रेस पुराना नेता पदमनारायण चौधरीलाई हराएका हुन्। यादवले २९ हजार ४ सय ६२ मत ल्याए भने चौधरीले २७ हजार ३ सय ७९ मत ल्याएका छन्। पुराना नेता भए पनि  एमाले नेता देवराज घिमिरे पनि पहिलो पटक प्रतिनिधि सभामा उठ्दैछन्।
माधव सापकोटा :  माओवादीका माधव सापकोटाले सिन्धुपालचोक १ बाट एमालेका सुरेश नेपाललाई हराए। उनले ३० हजार ३ सय ७४ मत ल्याउँदा नेपालले २७ हजार १८ मत ल्याएका छन्। 
रामकुमार राई :  खोटाङबाट एमालेका पूर्वप्रमुख सचेतक विशाल भट्टराईलाई हराएर राईले संसदीय बाटो कोरेका छन्। उनी पहिलो पटक संसद्मा छिर्दैछन्। राईले ३१ हजार ३ सय ५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६ सय ८२ मत ल्याएका छन्।   

  •     पटक–पटक चुनाव जितेकालाई समेत हराउनेदेखि नयाँ पार्टीका नयाँ उम्मेदवारले राम्रो मतका साथ यसपटक संसद् प्रदेश गर्दैछन्।
  •     पुरानाले अपेक्षित काम गर्न नसकेपछि स्वतन्त्र र नयाँ दलका उम्मेदवारहरूले यो पटक संसद् बन्ने अवसर पाएका हुन्।
  •     नयाँ अनुहारमा आएकाहरू सामाजिक काममा सक्रिय भएका धेरै छन्। मतदाताले उनीहरूलाई पुराना नेताको विकल्पमा छानेको जनमतले प्रष्ट पार्छ।

सिके राउत :  जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरे। पृथकतावादी आन्दोलनपछि मुलधारमा बसेका राउतको यो पहिलो पटक हो संसद् प्रवेश।   
रन्जिता श्रेष्ठ चौधरी :  नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पूर्वमन्त्री रामजनम चौधरीलाई हराएर प्रतिनिधिसभामा प्रवेश गरेकी छन्। 
गंगाराम चौधरी :  कैलाली ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका हुन्। उनले २३,१२० मत ल्याउँदा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत ल्याए।
रन्जिता श्रेष्ठ चौधरी :  रेशम चौधरीले नेतृत्व गरेको यो पार्टीबाट कैलाली १ मा श्रेष्ठ निर्वाचित भएकी हुन्। उनले ३० हजार ४ सय ४ मत ल्याएकी छन्। प्रतिस्पर्धी पूर्वमन्त्री एवं कांग्रेस नेता रामजनम चौधरीले  १८ हजार ८ मत ल्याए। चौधरी पटक–पटक मन्त्री र संसद् भइसकेका व्यक्ति हुन्। 

डा. धवलशमशेर जबरा :  राप्रपाका जबराले पूर्वमन्त्री एवं जसपाका प्रभावशाली नेता मो. इस्तीयाक राईलाई हराएका हुन्। नेपालगन्ज उपमहानगरपालिका दुई पटक मेयर भएका जबराको संसदीय यात्रा भने यो पहिलो हो। उनी लोकप्रिय नेता पनि हुन्। 
दीपकबहादुर सिंह :  यो पटक सिंहले चमतकारिक जित हासिल गरेका छन्। अन्तिम अवस्थामा अग्रता लिएका सिंहले आफ्नै पुराना अध्यक्ष कमल थापालाई हराएका छन्। 
ज्ञानेन्द्र शाही :  अभियान्तका रूप परिचित शाहीले जुम्लाबाट निर्वाचन जितेका छन्। उनले सत्तागठबन्धन र एमालेलाई हराएर संसदीय यात्रा तय गरेका हुन्। 
सिके राउत :  जनमत पार्टीले यो पटक संसद्मा सकारात्मक हस्तक्षेप गर्ने भएको छ। राउतले मधेसका मसिहा भनेर चिनिने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले पराजित गरेका छन्। उनले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९ सय ७९ मत ल्याए। 
लालवीर चौधरी :  उनी स्वतन्त्र उम्मेदवार हुन्। उनले बर्दिया २ बाटसत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पराजित गरे। रेशम चौधरीका बाबु लालवीरले २६ हजार ५ सय २० मत ल्याए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेश पन्थे २६ हजार ३ सय ८४ मत ल्याएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित ७ नयाँ अनुहार 
रवि लामिछाने :  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र एवं मन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरले हराए। उनी पनि यो पटक संसद्मा नयाँ अनुहारका साथ छिर्दैछन्। उनी चितवन २ बाट निर्वाचित भएका हुन्। 
हरि ढकाल :   ढकाल चितवन १ बाट निर्वाचित भएका हुन्। ढकालले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री एवं पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई हराए। ढकालले ३४ हजार १ सय ८९ मत ल्याउँदा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत पाए।
तोसिमा कार्की :  कार्की ललितपुर ३ बाट विजयी भएकी हुन्। उनले एमाले र सत्तागठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गरिन्।  उनले ३१ हजार १ सय ३६ मत ल्याउँदा एमालेका अमृत ढकालले १२ हजार ९ सय ६३ मत ल्याए।  माओवादी केन्द्रकी प्रभावशाली नेतृ एवं जलस्रोत ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पनि पछि परिन्।
सोबिता गौतम :  उनी काठमाडौं २ बाट पूर्वसभामुख अनसरी घर्तीलाई हराएर निर्वाचित भएकी छन्। उनले १५,२२९ मत ल्याउँदा एमालेका मनिराम फुयाँलले ११ हजार ५ सय ५५ मत ल्याए। 
शिशिर खनाल :  शिशिर काठमाडौं ६ बाट पूर्वप्रहरी महानिरीक्षक एवं एमाले नेता सर्वेन्द्र खनाल र पूर्वरक्षामन्त्री एवं कांग्रेस नेता भीमसेनदास प्रधानलाई पराजित गरेर संसद्मा छिरेका छन्। खनालले १४ हजार २ सय ४ ल्याउँदा सर्वेन्द्रले ८ हारा ९ सय ११ र प्रधानले ८ हजार ८ सय ५ मत ल्याए। 
गणेश  पराजुली : पराजुली काठमाडौं ७ बाट पराजुली निर्वाचित भएका छन्। उनले एमालेका श्यामकुमार घिमिरे र युवा नेतृ मानुषि यमी भट्टराई हराएका हुन्। 
विराजभक्त श्रेष्ठ :  श्रेष्ठ काठमाडौं ८ बाट निर्वाचित भए। उनले  नेकपा एसका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई हराएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.