एमालेका मैनाली र साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित
सिमरा : नेकपा एमालेका दुई पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वालाकुमारी साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मैनाली बारा १ र साह बारा ३ बाट निर्वाचित भएका हुन्।
प्रतिनिधिसभामा निर्वाचित हुने क्रममा मैनालीले नेपाल सरकारका खानेपानी मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई ९ हजार एक सय ३९ मतले पराजित गरे।
मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा चौधरीसँग दुई हजार चार सय २० मतले पराजित भएका मैनालीले यसपटक फराकिलो जित निकालेका हुन्।
यता बारा ३ मा पूर्वमन्त्रीसमेत रहेकी साहले जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादवलाई दुई हजार नौ सय ८२ मतले पराजित गरिन्। साहले २० हजार दुई सय ५१ मत प्राप्त गर्दा यादवले १७ हजार दुई सय ६९ मत पाएका छन्।
एमाले र जसपाबीच प्रदेशका सबै जिल्ला र क्षेत्रमा तालमेल भए पनि बारा ३ भने मित्रवत् प्रतिस्पर्धा थियो। मित्रवत् प्रतिस्पर्धाका क्रममा एमालेकी साहले यादव २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका सांसद यादवलाई पराजित गरेकी हुन्।