भक्तपुरका नवनिर्वाचित सांसद प्रेम सुवालले भने, '१५ लाखमा डाक्टर पढाउन संघर्ष गर्छु'
भक्तपुर : भक्तपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद प्रेम सुवालले सर्वसाधारणका छोराछोरीलाई १५ लाखमै डाक्टर पढाउने बन्दोबस्त गर्न आफूले संसदमा संघर्ष गर्ने बताएका छन्।
जितपछि शुक्रबार भएको विजयी र्याली तथा मतदातालाई धन्यवाद दिन गरेको कार्यक्रममा उनले ख्वप विश्वविद्यालय स्वीकृत गराई १५ लाखमै मेडिकल शिक्षा दिन आफ्नो संघर्षलाई अझै अगाडि बढाउने बताए। उनले देश र जनताको पक्षमा कानुन बनाउन पनि आफूले सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाए।
पार्टीले दिएको निर्देशन अनुसार असमान सन्धिसम्झौता, देशघाटी सन्धिसम्झौताको विरुद्धमा एक्लै भए पनि निडरताका साथ संघर्ष गर्ने पनि उनले प्रतिवद्धता जनाए। शुक्रबार भक्तपुर क्षेत्र नम्बर १ का ताथलीलगायतका ठाउँमा धन्यवाद याली गरिएको थियो।