न्यून महिला निर्वाचित
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसपटक न्यून संख्यामा महिला निर्वाचित भएका छन्। प्रतिनिधिसभाको १ सय ६५ मध्ये १ सय ३० सिटको परिणाम घोषणा हुँदा ७ जना मात्रै महिला निर्वाचित भएका छन्। ठुला र पुराना भनिएका दलबाट पनि निर्वाचित हुने महिलाको संख्या न्यून छ।
नेपाली कांग्रेसबाट एकजना पनि महिला निर्वाचित भएका छैनन्। सबैभन्दा धेरै एमालेबाट तीन जना महिलाले जित निकाले। एमालेबाट जुलिकुमारी महतो, विद्या भट्टराई र ज्वालाकुमारी साहले चुनाव जितेका हुन्। माओवादीबाट निर्वाचित हुनेमा एक जना महिला मात्रै छिन्। माओवादीबाट रेखा शर्मामात्रै निर्वाचित भइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने दुई महिलाले जित निकाले। सोविता गौतम र डा. तोसिमा कार्की स्वतन्त्र पार्टीबाट निर्वाचित हुने महिला हुन्। र, उनीहरू दुवै संसद्मा नयाँ अनुहारमा पर्छन्। रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भइन्। पार्टी अध्यक्ष रञ्जिता चौधरीबाहेक अन्य महिला उम्मेदवारले प्रतिनिधिसभामा जित निकाल्न सकेनन्।
निर्वाचित महिला उम्मेदवारहरू
रेखा शर्मा : माओवादी नेतृृ रेखा शर्मा दाङ– २ बाट निर्वाचित बनेकी हुन्। शर्माले एमालेका महासचिव शंकर पोखरेललाई हराएकी हुन्। शर्माले २६ हजार ८ सय ८० मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत ल्याएका थिए।
जुलीकुमारी महतो (महासेठ) : धनुषा–३ बाट निर्वाचित एमाले नेत्रीमा पर्छिन्, जुलीकुमारी महतो महासेठ। उनले लोसपा नेता अनिलकुमार झालाई पराजित गरेकी हुन्। महतोले ३३ हजार ३ सय ५५ मत ल्याउँदा झाले २६ हजार ६ सय ८६ मत ल्याए।
विद्या भट्टराई : एमाले नेतृ विद्या भट्टराई कास्की–२ बाट दोस्रोपटक निर्वाचित भएकी हुन्। उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत ल्याए। सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत ल्याए। भट्टराई एमाले नेता स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन्। अधिकारीको हवाईजहाज दुर्घटनामा ताप्लेजुङमा मृत्यु भएपछि भएको उपनिर्वाचनमा समेत भट्टराई निर्वाचित भएकी थिइन्।
ज्वालाकुमारी साह : एमाले नेतृ ज्वालाकुमारी साह बारा–३ बाट निर्वाचित भएकी छन्। उनले जसपाका नेता रामबाबुकुमार यादवलाई पराजित गरेकी हुन्। जसपासँग यो क्षेत्रमा एमालेको गठबन्धन थिएन। गठबन्धन नहुँदा पनि साह विजयी भइन्। उनले २० हजार २ सय ५१ मत ल्याएकी छन्। निकटतम प्रतिस्पर्धी यादवले १७ हजार २ सय ७९ मत ल्याए। सत्तारूढ गठबन्धनका उम्मेदवार लोसपाका लालबाबुसिंह भइहार तेस्रो भए।
तोसिमा कार्की : ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्की निर्वाचित भएकी हुन्। उनले एमाले र सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गरिन्। उनले ३१ हजार १ सय ३६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अमृत ढकालले १२ हजार ९ सय ६३ मत ल्याए। माओवादी केन्द्रका प्रभावशाली नेतृ एवं जलस्रोत ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसमेत यही पराजित बनिन्।
सोविता गौतम : काठमाडौं–२ बाट पूर्वसभामुख ओनसरी घर्तीलाई हराएर गौतम निर्वाचित भएकी हुन्। उनले १५ हजार २ सय २९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५ सय ५५ मत ल्याए भने राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ र घर्ती चौथो भएर ९ हजार ४ सय ४९ मत मात्र ल्याइन्।
रञ्जिता श्रेष्ठ चौधरी : रेशम चौधरीले नेतृत्व गरेको पार्टीबाट कैलाली—१ मा श्रेष्ठ निर्वाचित भएकी हुन्। उनले ३० हजार ४ सय ४ मत ल्याइन्। उनको निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री एवं कांग्रेस नेता रामजनम चौधरीले १८ हजार ८ मत ल्याएका छन्। चौधरी पटकपटक मन्त्री र संसद् भइसकेका व्यक्ति हुन्। अझै ६ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन्। समाचार तयार पार्दासम्म तीन जनाको अग्रता छ।
सुनसरी–३ बाट एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन्। भगवतीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसँग प्रतिस्पर्धा गरिरहेकी छन्।
सुनसरी–१ बाट रास्वपाकी गोमा तामाङ अघि छिन्। उनी जसपाका वरिष्ठ नेता अशोककुमार राईसँग प्रतिस्पर्धा गरिरहेकी छन्। त्यस्तै तेह्रथुमबाट कांग्रेस नेतृ सीता गुरुङले पनि अग्रता लिइरहेकी छन्। उनको प्रतिस्पर्धा एमालेका नेता विजय सुब्बासँग भइरहेको छ।
उदयपुर १ का एमालेकी मञ्जु चौधरीको प्रतिस्पर्धा कांग्रेस नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भइरहेको छ। कांग्रेसकी नेतृ एवं पूर्वउपसभामुख चित्रलेखा यादव सिरहा–२ मा उठेकी छन्। उनको प्रतिस्पर्धा जसपाका नेता राजकिशोर यादवसँग छ।
एमालेकी सचिव पदमाकुमारी अर्याल पनि प्रतिस्पर्धामा छिन्। उनी उठेको स्याङ्जा–२ मा विवाद भएर मतगणना नै सुरुवात भएको छैन। अर्यालसँग नेपाली कांग्रेस उपसभापति धनराज गुरुङबीच प्रतिस्पर्धा भएको छ। ठुला दलले टिकट दिँदा नै कन्जुस्याइँ गरेका थिए। एमालेले ११ जना महिलालाई उठाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १२ जना मात्रै महिलालाई उठाएको थियो। कांग्रेसले ५ जना, माओवादी केन्द्रले ८, नेकपा एसले १ तथा जनमोर्चा नेपालले एक जनालाई उम्मेदवार बनाएको थियो।
प्रत्यक्षतर्फ २ हजार ४ सय १२ मध्ये महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छन्। प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना मात्रै छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९.३३ प्रतिशत र प्रदेशसभामा ८.५९ प्रतिशतमात्रै उम्मेदवारी परेको थियो।
डिनादेखि बिनासम्म पराजित
यो निर्वाचनमा न्यून उम्मेदवारी महिलाको परेको थियो। तर, कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)देखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरसम्म पराजित भए। सहमहामन्त्री डिना राप्रपाका नेता दीपकबहादुर सिंहसँग हारेकी छन्। कांग्रेस नेतृ एवं प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसाल एमालेले नेता टोपबहादुर रायमाझीसँग पराजित भइन्।
एमालेकी नेत्री कोमल वली, शान्ता चौधरी, निरुदेवी पाल, गौरीकुमारी वली, मञ्जु शर्मा चालिसे पनि पराजित भएका छन्। दाङ–३ बाट वली कांग्रेस नेता एवं पूर्व मन्त्री दीपक गिरीसँग पराजित भएकी छन्। त्यस्तै दाङ–१ बाट शान्ता चौधरी सहरी विकास मन्त्री एवं नेकपा एसका नेता मेटमणि चौधरीसँग पराजित भइन्। पाल कञ्चनपुर ३ बाट हारिन्। उनलाई कांग्रेस नेता रमेश लेखकले पराजित गरे। मोरङ २ बाट पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग पराजित भइन्।
माओवादी नेतृहरू पूर्वसभामुख एवं ओनसरी घर्ती, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, कल्पना धमला, अञ्जना विशुंखे, गोमा कुँवर, मानुषी यमी भट्टराई, बिना मगर पराजित भएका छन्।
प्रदेशसभामा पनि उस्तै अवस्था
प्रदेशसभामा पनि विजयी महिलाको संख्या न्यून छ। काठमाडौं– ६ (क)मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भइन्। खड्गीले ४ हजार ३ सय ५६ मत प्राप्त गरी विजयी भइन्। नेकपा एमालेका उम्मेदवार निरेशलालसिंह महर्जनले ३ हजार ९ सय ३६ पाएका थिए। सिन्धुपाल्चोक–१ (क) मा नेपाली कांग्रेसकी उम्मेदवार मसिना खड्का भण्डारी विजयी भइन्। उनले नेकपा (एमाले) का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन्। खड्काले १४ हजार ६ सय ५२ मत ल्याइन्। उनका निकटतम् प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार ४ सय ९० मत ल्याए।
स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) की नेता सीताकुमारी सुन्दास विजयी भइन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की अमृता थापालाई १ हजार ४ सय २४ मतान्तरले हराउँदै सुन्दास १४ हजार ६ सय ९० मतसहित विजयी भएकी हुन्। निकटतम् प्रतिद्वन्द्वी अमृता थापाले १३ हजार २ सय ६६ मत प्राप्त गरिन्।
मकवानपुर क्षेत्र नम्बर २ (१) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार कुमारी मुक्तान विजयी भएकी छिन्। मुक्तानले नेकपा (एमाले) का उम्मेदवार विष्णु ढकाललाई ३२२ मतले पराजित गरेकी हुन्। मुक्तानले १९ हजार ८७३ मत प्राप्त गरेकी छन्। ढकालले १९ मत ५५१ प्राप्त गरेका छन्।
बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी विजयी भएकी छन्। केसीका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत ल्याएका छन्। प्रदेशसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार बेची लुंगेली विजयी भएकी छन्। उनी १३ हजार ६ सय ७६ मतसहित मधेस प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९ सय ७७ मत पाएकी हुन्।
एकीकृत समाजवादीकी उम्मेदवार रमा आलेमगर विजयी भएकी छन्। उनले ५ हजार ८ सय १८ मत प्राप्त गरेकी छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामशरण आलेमगरले ५ हजार १ सय ८८ मत पाएका प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी झापाबाट सविना बजगाइँ विजयी भएकी छन्। उनले १३ हजार ६ सय १२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी माओवादीका श्यामवीर लिम्बूले १२ हजार २ सय २५ मत पाएका छन्।
यसैगरी स्वतन्त्रबाट महोत्तरी क्षेत्र नं २ ख बाट सुरिताकुमारी साहा निर्वाचित भएकी छन्। उनले ८ हजार ५ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले ६ हजार ८ सय २ मत पाएका छन्।
यसैगरी लोसपाबाट महोत्तरी क्षेत्र नं ३ की रानीकुमारी तिवारी निर्वाचित भएकी छन्। तिवारीले ६ हजार ४ सय १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी स्वतन्त्रका उज्ज्वलकुमार झाले ५ हजार ४ सय ८९ मत पाएका छन्। जनता समाजवादी पार्टीमा कुनै पनि महिलाले विजय हासिल गरेका छैनन्। भने जनमत पार्टीमा ६ जना पुरुषमा एउटा पनि महिला छैनन्। यसैगरी नागरिक उन्मुक्ति पार्टीमा पाँच पुरुषमा एउटा पनि महिला उम्मेदवार छैनन्।