स्याउमा अब्बल मुस्ताङ
जोमसोम : मुस्ताङमा यस वर्ष ६ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन भएको छ। पोहोरभन्दा १ हजार ३३ मेट्रिकटन (१८.५६ प्रतिशत) बढी स्याउ फलेको कृषि ज्ञान मुस्ताङले जनाएको छ। ज्ञान केन्द्रले किसानको बगंैचामा पुगेर स्याउको उत्पादन, बजारलगायतको सर्वेक्षण गरेको थियो।
केन्द्रले क्रप कटिङ विधि र जिल्लाका स्थानीय स्याउ किसानसँग सोधपुछ गरी तथ्यांक तयार गरेको कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। २०७९÷०८० मा जिल्लाको कुल ५ सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटमा उक्त परिमाणमा स्याउ उत्पादन भएको हो। पाँचवटै स्थानीय तहमा १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ। ५ सय ८० हेक्टर जमिनको उत्पादनशील स्याउ बगैंचाको क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिकटन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए। यसैगरी जिल्लाको कुल स्याउ उत्पादन मध्ये यसवर्ष ४ सय ४० मेट्रिकटन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ। मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको छ। जसमध्ये २२ हेक्टरका बगैंचाले उत्पादन दिइरहेका छन्। यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ। नयाँ स्याउ बगंैचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैंचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाउको छ।
सबैभन्दा बढी घरपझोङ गाउँपालिकामा स्याउ फल्ने गरेको छ। सबैभन्दा बढी क्षेत्रफलमा स्याउ खेती विस्तार भएको स्थानीय तह वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको हो। कम क्षेत्रफलमा स्याउ विस्तार भएको पालिका लोमान्थाङ हो। केही वर्षयता मुस्ताङका किसान धमाधम परम्परागत जातका स्याउ छाडेर उच्च घनत्व प्रविधिमा आधारित स्याउ लगाइरहेका छन्। संघ तथा प्रदेश सरकारले अनुदानमा सहुलियत दरमा बिरुवा वितरण गरेका थिए।
स्याउ जोन कार्यक्रमअन्तर्गत १ सय २५ वटा सहकारी÷समूह÷निजी फर्मका कार्यक्रम सञ्चालित छन्। केन्द्रले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। मुस्ताङमा फलेकामध्ये ७० प्रतिशत स्याउ बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ। बर्सेनि व्यापारीहरू स्याउ नपाक्दै खरिदका लागि आउने गर्छन्। भदौ महिनामा बैनापट्ट गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न आउँछन्।
जिल्लाका खुद्रा व्यापारीलाई पनि फुटकर रूपले स्याउ बिक्री गरिन्छ। घुम्न आएका पर्यटकले यहाँबाट कोसेलीका रूपमा लैजान स्याउ खरिद गर्ने गरेको स्थानीय खुद्रा व्यापारी कल्पना नेपालीले बताइन्। उनले मुस्ताङ आएका पर्यटकलाई प्रतिकेजी १ सय ३० रुपैयाँमा बिक्री गर्ने गरेको बताइन्।