धूमपानले प्रतिघण्टा लिँदैछ ४ को ज्यान
काठमाडौं : एउटा अध्ययनले भन्छ– ‘सुर्तीजन्य पदार्थको प्रयोगका कारण नेपालमा प्रतिघण्टा ४ जनाको ज्यान जान्छ।’ सुर्तीजन्य पदार्थको लतबाट युवादेखि पाका उमेरसम्म हुने मृत्युदर ‘डरलाग्दो’ रहेको उक्त अध्ययनको निष्कर्ष छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) को अध्ययन प्रतिवेदनअनुसार समग्र मृत्युदरमा १९.४१ प्रतिशत धूमपानको कारण हुने गरेको छ। जसमा ४० देखि ६० वर्ष उमेरसमूहका प्रयोगकर्ताहरूको संख्या अधिक छ।
अध्ययनअनुसार मुलुकमा प्रत्येक वर्ष ३७ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको छ। तीमध्ये प्रतिघण्टा ४ जनाको सुर्तीजन्य पदार्थकै सेवनबाट मात्रै मृत्यु हुने गरेको छ। मुलुकमा ४८ लाख जना सुर्तीजन्य पदार्थको प्रयोगकर्ता रहेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ।
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञ डा. रोशन प्रजापति धूमपानको कारणले मृत्यु हुनेको दर छिमेकी भारतभन्दा नेपालमा धेरै रहेको बताउँछन्। भारतमा ११ देखि १३ प्रतिशत मृत्युदर भए पनि नेपालमा २२ देखि २४ प्रतिशतको बीचमा छ।
सुर्तीजन्य पदार्थको प्रयोगबाटै कम उमेरमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको चिकित्सक बताउँछन्। अध्ययन प्रतिवेदनअनुसार मुलुकमा १६ देखि २१ वर्षकै उमेरमा धूमपान सुरु गर्ने चलन बढ्दो छ। किशोर अवस्थामा धूमपान सुरु गर्दा त्यसको अम्मलबाट अलग हुन कठिन हुने गरेको अध्ययनले देखाएको छ। बढी उमेरमा धूमपान सुरु गर्नेहरूलाई लत छोडन सक्ने सम्भावना बढी देखिएको छ। तर, कम उमेरकालाई लत नै बस्छ।
नेपालीको सरदर आयु ७० वर्ष छ। तर, धूमपान गर्नेहरूले ६० वर्ष आसपासमै ज्यान गुमाउने अवस्था आउने गरेको अध्ययनले देखाएको छ। मुलुकमा धुवाँ आउने र नआउने दुई प्रकारका धूमपानको प्रयोग भएको देखिन्छ। चुरोट, हुक्का, तमाखुहरू धुवाँ आउनेमा पर्छन्। गुटखा, पानपराग, खैनी लगायत धुवाँ नआउनेमा पर्छन्। दुवै थरीका सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुन्। एनडीआरआईको अध्ययनअनुसार समग्रमा कम आम्दानी हुने (श्रमिक वर्ग)हरूले सबैभन्दा धेरै धूमपान गर्ने गरेको भेटिएको छ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै धूमपान गर्नेहरूको संख्या धेरै देखिएको छ। त्यहाँका हिमाली क्षेत्रमा धूमपानले न्यानो बनाउँछ भन्ने विश्वासका कारण पनि चुरोट खानेहरूको संख्या धेरै देखिएको छ। विश्व स्वास्थ्य संगठनले पनि कम आय हुने वर्गहरू सुर्तीजन्य प्रयोगमा धेरै देखिएको बताएको छ।
सुर्तीजन्य प्रयोग नियन्त्रणमा आवाज उठाउँदै आएका अभियन्ताहरूले सुर्तीजन्य पदार्थको मूल्य बढाउनुपर्ने र जताततै बेचबिखनमा रोक लगाउनुपर्ने माग गर्दै आएका छन्। तर, मुलुकमा दुई रुपैयाँमै एक खिल्ली चुरोट किन्न पाइने अवस्था छ। पाइलट, बिजुली नामका चुरोट दुई रुपैयाँ खिल्लीमा नै बेचबिखन भइरहेका छन्। यस्ता चुरोट किन्नलाई गाउँगाउँमा विद्यार्थीले समेत (पकेट मनी) बचाएर राखेको अध्ययनमा क्रममा भेटिएको एनडीआरआईका अनुसन्धानकर्ता अञ्जना लामिछानेले बताइन्। उनका अनुसार तराईका क्षेत्रमा माडेर खाने सुर्तीजन्य पदार्थ जस्तै गुट्खा तथा खैनीको प्रयोग अत्यधिक देखिएको छ।
मधेसमा गुट्खा तथा खैनीहरू छिमेकी मुलुक भारतबाट सजिलै आयात हुने गरेको छ। अध्ययनका अनुसार मुलुकमा १५ देखि ६९ वर्षका महिला वा पुरुषले कुनै न कुनै खालको सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन्। त्यस्ता प्रयोगकर्ताको संख्या २९ प्रतिशत छ।
आम जनमानसमा सचेतनाको कमीले हुक्काको क्रेज बढेको अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ता लामिछानेका अनुसार पछिल्लो समय नेपालमा हुक्काको क्रेज अत्यन्त बढेको छ। विशेषगरी १५ देखि २५ वर्षका युवाहरू यस लतमा फसेको अध्ययनले देखाएको छ। हुक्काको असर चुरोटको जस्तो विषाक्त नहुने गलत बुझाइ आममानिसमा परेको देखिन्छ। लामिछाने भन्छिन्, ‘एउटा हुक्का खानु भनेको सय चुरोट पिउनुजस्तै हो।’ विश्व स्वास्थ्य संगठनले एक खिल्ली चुरोट सेवन गर्न करिब ८ देखि ११ मिनेट लाग्ने उल्लेख गरेको उनले बताइन्। तर, हुक्काका लागि ४० देखि ७५ मिनेटसम्म लाग्छ। उक्त अवधिमा सयौं चुरोट खाएबराबरको धुवाँ हुक्काबाट सेवन गर्ने गरिन्छ।
बजारमा युवाहरूलाई आकर्षित गर्न विभिन्न स्वादका हुक्का पाइन्छ। नेपाली बजारमा ३२ भन्दा धेरै स्वादमा हुक्का भेटिएका छन्। हुक्का आयातीत सुर्तीजन्य पदार्थ हो। विशेषगरी दुबईबाट भिœयाइने हुक्काको स्वादअनुसार साढे तीन सयदेखि पाँच सय रुपैयाँसम्ममा पाइन्छ। कतिपय हुक्काका फ्लेवर (स्वाद) चीन र भारतबाट पनि ल्याइएको अध्ययनका क्रममा भेटिएको छ।
हुक्कालाई धूमपानको रूपमा नलिएको र सामाजिक रूपमा स्वीकारेको देखिएको एनडीआरआईका अर्का अनुसन्धानकर्ता कमल चौलागाईंले बताए। ‘हुक्का नराखी रेस्टुरेन्ट चल्दैन’ भन्ने मान्यताले ठाउँ पाएको उनको भर्ना छ। चौलागार्इंका अनुसार हुक्कामा ८२ वटा क्यान्सरजन्य हानिकारक तŒव पाइन्छन्। चुरोटमा ७० वटा त्यस्ता तŒव हुन्छन्। हुक्का सेवन गर्नेले एक बसाइमा सयदेखि दुई सय वटा चुरोट ताने बराबर धुवाँ खाने अध्ययनले देखाएको उनले बताए।
हुक्कामा प्रतिस्पर्धा गरेर धुवाँ निकाल्ने चलन छ। धूमपान नगर्नेहरू (अप्रत्यक्ष धूमपान) मा पनि धेरै असर पर्छ। चौलागाईंका अनुसार, स्वादहरू प्रायः फलफूलहरूको हुन्छ। कफी फ्लेभर पनि पाइन्छ। आयुर्वेदिक र हर्बल चुरोट पनि बजारमा आएको छ। ई—सिग्रेटको प्रयोग युवाहरूमा चलनचल्तीमा धेरै छ।
हुक्कामा आकर्षक चित्र राखिए पनि सानो अक्षरमा मात्र ‘स्वास्थ्य ाई हानिकारका’ लेखिएको सन्देश देखिन्छ। प्रायजसो सबैमा अरबिक भाषामा लेखिएको उनले बताए। उक्त सूचना नेपाली भाषामा हुनुपर्ने नियम रहेको पनि जनाए। धूमपानका बट्टाहरूमा नेपाल सरकारले ९० प्रतिशत चित्र देखिने गरी राखिएको हुनुपर्ने प्रावधान बनाएको उनले बताए।
अध्ययनका क्रममा सहरी क्षेत्रमा आयातीत चुरोटहरू बढेको देखिएको छ। नेपाली भाषामा सूचना नभएका सबै प्रकारका धूमपानहरू अवैध मानिन्छन्। अनुसन्धानकर्ता चौलागाईंले भने ‘बुवा–आमाले चुरोट खायो भने गाली गर्ने हुक्कालाई प्रवद्र्धन गर्ने प्रवृत्ति छ। पारिवारिक स्विकारोक्ति पनि धेरै छ,’ उनले भने ‘हुक्का किन्न पैसा दिन्छन्। चुरोट किन्न दिँदैनन्। यो हुक्कासम्बन्धी गलत बुझाइको परिणाम हो। ’
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर विशेषज्ञ, डा् प्रजापतिका अनुसार धूमपान ८० देखि ९० प्रतिशत फोक्सोको क्यान्सरको कारण बनेको छ। यो पाठेघरको मुख, किड्नी, प्यान्क्रियाज, पिसाबथैली, मुख, अन्न नलीको क्यान्सरको कारण पनि बनेको छ। विशेषज्ञ प्रजापति भन्छन्, ‘गर्भावस्थामा धूमपान गर्नेहरूमा अनेकौं खालका समस्या हुन्छन्। गर्भवतीले प्रिम्याचुर बच्चा जन्माउने, बच्चा मर्ने, तुहिने समस्या धूमपानका कारण भइरहेको छ। मुटु रोग, श्वासप्रश्वास, छालाको समस्या र मुखको समस्याको मुख्य कारक धूमपान नै हो।’ उनका अनुसार चुरोटमात्रै नभई हुक्का र ई–सिग्रेटमा पनि कार्सियोजेनिक पाइन्छ। यो क्यान्सर गराउने तŒव हो।
न्युजिल्यान्डमा सन् २००८ भन्दा पछि जन्मेकालाई चुरोट छुन नदिने प्रावधान छन। तर, नेपालमा नीतिनियम कार्यान्वयनको पाटो कमजोर हँुदा सुर्तीजन्य प्रयोग नघटेको विशेषज्ञ डा.प्रजापतिले बताए। भने, ‘सरकारी तहबाट नियन्त्रणमा प्रयत्न भएको छैन। जबसम्म सरकारले नियन्यत्रका लागि संयन्त्र बनाउँदैन तबसम्म नियन्त्रण हुँदैन।’
धूमपानका बट्टामा डरलाग्दो फोटो राख्दैमा लत बसिसकेकाहरूलाई फरक नपर्ने उनी बताउँछन्। सुरुमा बट्टामा राखिएको तस्बिर देखेर तर्सिए पनि विस्तारै बानी परेको बुझाइ उनको छ। किनकि यसले खानेबित्तिकै हैन कालान्तरमा प्रभाव देखाउँछ। धूमपानलाई तुरुन्तै आनन्द आउने एउटा नशाको रूपमा मात्र प्रयोगकर्ताले लिएको उनले बताए।
सुर्तीजन्य नियन्त्रणमा सरकारको काम सन्तोषजनक नभएको उनले बताए। सरकारले धूमपान गर्न सार्वजनिक ठाउँमा प्रतिबन्ध गर्ने भनेको थियो। तर, मान्छेहरू जताततै खाइरहेको भेटिन्छ। कपाल काट्ने ठाउँ, बसपार्क, रेस्टुरेन्ट सबैतिर धूमपान सामान्यजस्तो बनेको छ। जति कर बढे पनि किनिरहेका छन्। भएका नीति, नियमलाई कार्यान्वयन गराउने संयन्त्र चाहिएको उनले बताए।
सुर्तीजन्य हानिकारक वस्तुहरूमा करको वृद्धिसँगै खपतमा कमी हुने आकलन यसै क्षेत्रमा काम गर्दै आएकाहरूको छ। आर्थिक वर्ष २०७९।०८० को बजेटमा उक्त करमा ३५ देखि ६० प्रतिशत वृद्धि गर्नुपर्ने र हरेक वर्ष बढाउँदै लैजानुपर्ने माग छ। दुईदेखि चार वर्षमा कम्तीमा पनि भारतको सरह बनाउनुपर्ने माग सरोकारवालाको छ। भारतमा ५७.६० प्रतिशत कर लगाएको छ।
३५ प्रतिशत कर वृद्धि गराउँदा ६.३ देखि ७.५ अर्ब राजस्व संकलन हुन सक्ने देखिन्छ। खपत ३ देखि ७ प्रतिशत घट्ने अनुमान छ। ६० प्रतिशत कर बढाएमा करिब १२.६ अर्ब राजस्व उठ्ने र ६ देखि ११ प्रतिशत खपत घट्ने अध्ययनहरूको निष्कर्ष छ। सन् २०२० मा चुरोट सेवनका कारण रोगको उपचारमा खर्च कुल गार्हस्थ्य उत्पादनको १.०४ प्रतिशत ओगटेको छ। उक्त खर्च प्रत्यक्ष र अप्रत्यक्ष तथा असामयिक मृत्युको हिसाब जोड्दा बर्सेनि ४० अर्ब खर्च भएको देखिन्छ।
तर, सन् २०२०–२१ को तथ्यांकमा चुरोट र बिँडीबाट २०.३९ अर्बमात्रै राजस्व संकलन भएको एनडीआरआईको तथ्यांकले देखाउँछ। उक्त संस्थामा धूमपान नियन्त्रण कार्यक्रमका टिम लिडर जयकुमार गुरुङका अनुसार सुर्तीजन्य पदार्थको हिसाबले दक्षिण एसियन क्षेत्रमा नेपाल कम राजस्व लिने मुलुकको अग्रपंक्तिमा आउँछ। नेपालले जम्मा ४१ प्रतिशत कर लगाएको छ। उक्त कर विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा अत्यन्त न्यून हो। विश्व स्वास्थ्य संगठनले ७५ प्रतिशत कर लाग्नुपर्ने व्यवस्था गरेको छ।
दक्षिण एसियन मुलुकमध्ये विश्व स्वास्थ्य संगठनले तोकेभन्दा धेरै कर श्रीलंकाले लगाएको छ। श्रीलंकाले ७७.२ त्यसपछि बंगलादेशले ७३, पाकिस्तानले ६०.७८ र भारतले ५७.६० प्रतिशत कर लगाएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रणमा काम गर्दै आएका संघसंस्थाहरूले करको वृद्धिसँगै खपतमा कमी हुने भएकाले कर बढाउन माग गर्दै आएका छन्। जसले देशको राजस्वसमेत बढाउँछ।
गुरुङका अनुसार एनडीआरआईले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनुपर्ने माग गर्दै आएको छ। ‘सरकारलाई विश्व स्वास्थ्य संगठनले भनेबमोजिम रणनीति बनाउन कडा रूपमा पैरवी गर्दै आएका छौं’ गुरुङले भने ‘तर सरकारले सुनेन। यस्ता विषय राजनैतिक रूपमा संवेदनशील बनाउन आवश्यक छ।’
सुर्तीजन्य नियन्त्रणको सबालमा सरकार गम्भीर नभएको गुनासो उनको छ। नीति नियमको मामलामा धेरै काम गर्न बाँकी रहेको गुरुङ बताउँछन्। वर्षौंदेखि वकालत गर्दा पनि अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालय दुवैको समन्वय चित्तबुझदो नभएको गुनासो उनको छ। ‘राजस्व उठाउनमा सरकार व्यस्त छ। राजनैनिक रूपमा नै निर्णय गर्न सकेको छैन,’ उनले भने।
नेसनल लाइब्रेरी अफ मेडिसिनले सन् १९९० देखि २०१५ सम्म गरेको सर्वेक्षणमा १७ प्रतिशत धूमपान गर्नेहरूको दर घटेको उल्लेख गरेको छ। उक्त अध्ययनले ३३ प्रतिशत पुरुष र ४८ प्रतिशत महिलाहरूले धूमपान गर्ने गरेको देखाएको छ।
विश्व स्वाथ्य संगठनका अनुसार १.३ बिलियन मानिस सुर्तीजन्य प्रयोगमा लागेका छन्। एक बिलियनभन्दा धेरै धूमपान गर्नेहरू छन्। कम्तीमा ८० प्रतिशत धूमपान गर्नेहरू न्यून र मध्यम आय वर्गका छन्। गएको दुई दशकमा सबै उमेरसमूहमा सुर्तीजन्य प्रयोगकर्ता घटेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
धूमपानको कारणले मृत्यु हुनेको दर छिमेकी भारतभन्दा नेपालमा धेरै छ। सुर्तीजन्य पदार्थको प्रयोगबाटै कम उमेरमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ। किशोर अवस्थामा धूमपान सुरु गर्दा त्यसको अम्मलबाट अलग हुन कठिन हुने
गरेको पाइन्छ।
डा. रोशन प्रजापति,
क्यान्सर विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पतालचुरोट किन्नलाई गाउँगाउँमा विद्यार्थीले समेत (पकेट मनी) बचाएर राखेको अध्ययनमा क्रममा भेटेका छौं। तराईका क्षेत्रमा माडेर खाने सुर्तीजन्य पदार्थ जस्तै गुट्खा तथा खैनीको प्रयोग अत्यधिक देखिएको छ ।
अञ्जना लामिछाने,
अनुसन्धानकर्ता, एनडीआरआई
व्यवहार परिवर्तन चुनौतीपूर्ण
सुर्तीजन्य वस्तुको नियन्त्रणको विषयमा सूर्य नेपालले सरकारको निर्देशिका बमोजिम ९० प्रतिशत तस्बिरमार्फत सन्देश (पिक्टोरियल हेल्थ वार्निङ) राख्नुपर्ने विषयमा सहमत थिएन। सुर्तीजन्य पदार्थका बट्टामा ७५ प्रतिशतमात्रै चित्र राखेपछि सर्वोच्चमा मुद्दा चलेको थियो। गत भदौ १२ गते परमादेश जारी गर्दै ९० प्रतिशत नै बनाउनुपर्ने फैसला गरेको छ। तर, सर्वोच्चको पूर्णपाठ आएको छैन। यदि उनीहरूको ९० प्रतिशत चित्रमार्फत सूचना छैन भने अब कारबाही हुन्छ।
पिस्कटोरियल वार्निङमा नेपाल संसारको अगाडि थियो हाल पनि पनि दोस्रो स्थानमा छ। सुर्तीजन्य वस्तुमा लगाइँदै आएको कर विस्तारै बढेका छ, २७ बाट ४१ प्रतिशत पुगेको छ। बजारमा उत्पादन मूल्य र लागत बढेपछि सरकारको कर घटेको देखिन्छ।
विश्व स्वास्थ्य संगठनले ७५ सम्म पुर्याउ भनेको हो। तर, एकैपटक स्वाट्टै बढाउन मिल्दैन। त्यसो गर्दा बजारमा कालोबजारी हुने र राजस्व नउठ्नेलगायतका समस्या हुन सक्छ। विस्तारै बढाउँदै लैजानुपर्छ।
सुर्तीजन्य नियन्त्रणका विज्ञापनहरू राष्ट्रिय सञ्चार माध्यममा आउन पाउँदैनन्। त्यसका लागि मन्त्रालयले निगरानी गरिरहेको हुन्छ। कुनै कम्पनीबाट अनलाइनहरूमा भित्रभित्र विज्ञापन राखेका हुन सक्छन्। सार्वजनिक स्थलमा धूमपान नियन्त्रण गर्न समस्या देखिएको छ।
नियन्त्रणको अधिकार स्थानीय निकायको प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ। त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारीलाई अधिकार छ। पार्क, होटल, रेस्टुरेन्टमा नियन्त्रण गर्न सकेको छैन। उनीहरूलाई चाहेमा कारबाही, नियन्त्रण र मुद्दा चलाउनेसम्मको जिम्मेवारी दिएको छ।
स्वास्थ्यकर्मीलाई लतमा लागेकाहरूलाई परामर्शका लागि तालिम दिने काम स्वास्थ्य मन्त्रालयले गरिरहेको छ। सरकारले विद्यालयलगायतका सार्वजनिक क्षेत्रमा निश्चित दूरी तोकेर धूमपान बेच्न नपाउने भने पनि अनुगमनका क्रममा बेचेको भेटिएको दृष्टान्त छन्।
स्थानीय तहले लाइसेन्स दिने बेला निगरानी गर्ने हो भने र नवीकरण गर्दा कारबाही गर्ने हो नियन्त्रण हुन सक्छ। नीतिगत तहमा काम गरिरहेको र पालिका तहमा जनप्रतिनिधिसँग पैरवी भइरहेको छ। धूमपानलाई उनीहरूले त्यति ठुलो समस्याको रूपमा लिएका छैनन्।
भक्तबहादुर केसी, प्रमुख, सुर्तीजन्य पदार्थ नियमन तथा स्वास्थ्य प्रवद्र्धन शाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय