कर्णालीमा एमालेले गुमायो प्रतिनिधिसभाका सबै सिट
सुर्खेत : हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले क्षति व्यहोरेको छ।
एमालेले यसपटक कर्णालीमा प्रतिनिधिसभाका सबै सिट गुमाएको छ। प्रतिनिधिसभाका १२ वटा सिटमध्ये एमालेले एउटा पनि सिट जित्न सकेन। प्रदेशसभातर्फ पाँच सिट जिते पनि एमालेले प्रतिनिधिसभातर्फ भने सबै सिट गुमाएको हो।
बाम गठबन्धको बलमा त्यतिबेला एमालेले सुर्खेत र दैलेखका दुई-दुई, डोल्पा र मुगुमा एक-एक गरी ६ सिट जितेको थियो। अघिल्लो पटक बाम गठबन्धनबाट लाभ लिएको एमाले यसपाली भने सत्ता गठबन्धनसँग पराजित हुन पुगेको छ।
यसपटक कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरू पराजित भएका छन्। सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्दा यसपाली कर्णालीमा क्षति व्यहोर्नु परेको एमालेको भनाइ छ।
एमालेले सबै सिट गुमाउँदा यसपाली सबैभन्दा धेरै लाभ कर्णालीमा नेपाली कांग्रेसलाई भएको छ। २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ एउटा पनि सिट जितेको थिएन।
अघिल्लो निर्वाचनमा शून्य बनेको कांग्रेसले यसपाली भने गठबन्धनको बलमा प्रतिनिधिसभातर्फ चारवटा सिट जितेको छ। कांग्रेसले सुर्खेतका दुई, दैलेखमा एक र मुगुमा एक गरी चार वटा सिट जितेको हो।
कांग्रेसको तर्फबाट सुर्खेत क्षेत्र नं १ मा उपसभापति पूर्णबहादुर खड्का र क्षेत्र नं २ बा हृदयराम थानी विजयी भएका छन्। यस्तै दैलेखको क्षेत्र नं २ बाट दिक्पाल शाही र मुगुबाट ऐनबहादुर शाही विजयी भएका हुन्।
यस्तै कर्णालीलाई आफ्नो आधार क्षेत्र दाबी गर्दै आएको नेकपा माओवादी केन्द्रले कांग्रेसकै बराबर चार सिट जितेको छ। प्रतिनिधिसभाका चार सिट हात पारे पनि माओवादीलाई अघिल्लो निर्वाचनको तुलनामा यसपटक एक सिट घाटा भएको छ।
२०७४ मा एमालेसँगको गठबन्धनका कारण कर्णालीमा माओवादीले जुम्ला, कालिकोट, रुकुमपश्चिम, सल्यान र जाजरकोटमा गरी पाँच सिट जितेको थियो।
तर यसपाली सत्ता गठबन्धनमा रहेको माओवादीले अघिल्लो पटकभन्दा एक सिट कम जितेको हो। अर्थात माओवादीले यसपाली चार सिटमै चित्त बुझाएको छ।
कर्णालीमा यसपटक प्रतिनिधिसभातर्फ माओवादीबाट रुकुमपश्चिमा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही र हुम्लामा छिरिङ डम्डुल लामाले जितेका छन्।
यस्तै सत्ता गठबन्धनकै बलमा नेकपा एकीकृत समाजवादीले यसपटक कर्णालीमा प्रतिनिधिसभाका तीन वटा सिट जितेको छ। सत्ता गठबन्धनसँगको भागबण्डामा तीन सिटमा समाजवादीका उम्मेदवार चुनाव लडेका थिए।
उसले उम्मेदवारी दिएका तीन वटै सिट जितेको छ। समाजवादीको तर्फबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा र दैलेखको क्षेत्र नं १ मा अम्मरबहादुर थापा विजयी भएका छन्।
सत्ता गठबन्धनमा भागबण्डा हुँदा पाएका मध्ये कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवार सबै ठाउँमा विजयी भए। तर माओवादीले भने जुम्लामा सिट गुमाएको हो।
जुम्लामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ गोमा गौतम राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीसँग पराजित भइन्। कर्णालीमा प्रतिनिधिसभातर्फ राप्रपाले एक सिट हात पारेको छ।