'निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर हो'
भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनील प्रजापतिले निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भएको बताएका छन्।
भक्तपुर नगरपालिका-६ चोछेँस्थित छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।
उनले जनताले देशभक्त र देशद्रोही पार्टी चिन्ने समय पनि निर्वाचनमै भएकोले स्वविवेक प्रयोग गरी निर्वाचनमा जनताले भाग लिनुपर्ने धारणा राख्नुपर्ने जानकारी गराए।
कार्यक्रममा प्रमुख प्रजापतिले नयाँ पुस्तालाई राजनीतिक रूपमा सचेत र संगठित बनाउन सके मुलुकको विकासमा टेवा पुग्ने बताए।
भक्तपुर नपा भ्रष्टाचारशून्य नगरपालिका भएकै कारण जनताको यसप्रति अपनत्व कायम रहेको बताउँदै उनले समाज राम्रो बनाउन त्यहाँका नागरिकहरू सभ्य र असल हुनुपर्ने बताए।
भक्तपुर-६ का वडाध्यक्ष हरिराम सुवालले देशको सार्वभौमिकता रक्षाको निम्ति नेमकिपाले खेलेको भूमिका उल्लेखनीय रहेको बताए। 'भक्तपुरमा नेमकिपाको जीत भनेकै यहाँका जनताको जीत हो', उनले भने।
अर्का अतिथि भक्तपुर-६ का वडा सदस्य गोविन्द दुवालले सहकारी संस्थाका सञ्चालकहरू इमानदार भए सदस्यहरूले त्यस संस्थाबाट लाभ पाउन सकिने बताउँदै राजनीति गर्नेहरू इमानदार नभए जनताले दुःख पाउने बताए।
संस्थाका अध्यक्ष सिद्धिराम अवालले सञ्चालक समितिको दृढ विश्वास र कार्यकुशलताले गर्दा सदस्यहरूको मागबमोजिम आवश्यक तालिमहरू सञ्चालन गर्न सफल भएको बताए।