ज्यानै लिने धूमपानको कुलत

ज्यानै लिने धूमपानको कुलत

मानिसको मृत्यु कालगतिले हुनु एउटा कुरा। तर अकालमा ज्यान जानुचाहिँ पक्कै विडम्बना हो। अकालमा ज्यान गुमाउने नेपाली धेरै छन्। कसैको पनि मृत्यु टारेर टार्न सकिन्न तर अकालमा मृत्यु हुनुलाई भने स्वाभाविक मान्न सकिन्न। नेपालीहरूले अकालमा ज्यान गुमाउनुका धेरै कारण छन्। त्यसमध्ये सुर्तीजन्य पदार्थको कुलत चाहिँ एउटा प्रमुख कारण हो। मृत्युको हिसाब लगाउँदा प्रतिघन्टा ४ जनाले ज्यान चुरोट र सुर्तीजन्य पदार्थकै कारण गुमाउँछन् भन्ने देखिन्छ। यो निकै भयावह स्थिति हो। नेपालीको सरदर आयु ७० वर्ष हो। तर धूमपान लगायतका कारणबाट ६० वर्षभन्दा कममै मृत्युको मुखमा पुग्ने देखिएको छ। त्यसमा पनि ४० देखिमाथिको उमेर समूहका छन्। तर धूमपानको कुलत भने १५-१६ वर्षकै उमेरमा सुरु हुने गरेको अनुसन्धाताहरू बताउँछन्। त्यो उमेरमा सुरु गरेको मन्दविषको असर ४० नाघेपछि देखिन सुरु भइहाल्छ।

सहरी क्षेत्रमा अचेल हुक्का तान्ने लहरले किशोरकिशोरीलाई छोपेको छ। चुरोटजस्तो होइन भन्ने भ्रममा किशोरकिशोरी हुक्काको लतमा परेको देखिन्छ। चुरोट खाँदा साँच्चीकै कुलतमा लागेजस्तो देखिने तर हुक्का हानिकारक नभएको जस्तो भ्रम छ। एउटै हुक्का सय खिल्ली चुरोटभन्दा बेसी हानिकारक हुने विज्ञ बताउँछन्। अझ धुवाँ आउने र नआउने धूमपानमा पनि हुन्छ। धुवाँ नआउने धूमपानको पनि उस्तै कुलतले नेपालीलाई गाँजेको छ। सुर्ती, गुट्खा, खैनीको प्रयोग अत्यधिक छ। गुट्खाको बजार यसरी फैलिएको छ कि यसका उत्पादकहरूले सरकारी तवरमै सेटिङ मिलाउँछन् र सुपारीको अवैध आयात गर्छन्। यस्ता वस्तुको बिक्रीबाट हुने आम्दानी अचाक्ली हुने हुँदा सेटिङ मिलाउन गुट्खालगायत सुपारी प्रयोग हुने वस्तु उत्पादकलाई घूस र नजाराना वितरण गर्न कुनै आइतबार लाग्दैन। मतलब राज्य नै तिनीहरूको चंगुलमा फसेको छ।

मदिरा र धूमपानको विज्ञापनमा रोक लगाइएको छ। तर चुरोट र सुर्तीजन्य पदार्थमा नेपाल सरकारको लगाएको कर ज्यादै न्यून छ। तसर्थ सस्तो मोलमा जोकसैको सहज पहुँचमा पुग्छ यो चिज। अर्काेतिर चुरोटलगायत अम्मल जहाँकहिँ पनि बेच्न र किन्न छुट दिइएको छ। सरकारले यस्ता वस्तुको नियन्त्रणमा ध्यान दिएको छैन। खुलमखुला छाडेको छ। राजस्वको लोभमा सरकारले धूमपानलगायत स्वास्थ्यका लागि हानिकारक वस्तुको बिक्रीमा आवश्यक नियन्त्रण गरेको छैन। चुरोट, बिँडी वा सुर्ती किन्न  उमेरको सीमा तोकिएको छैन। बच्चादेखि वृद्धसम्म जोकसैले पनि किन्न सक्छ। जबकि विकसित देशहरूमा निश्चित उमेर नपुगी चुरोट किन्न पाइन्न। बेच्नेलाई कारबाही हुन्छ। तर हाम्रोमा त्यस्तो छैन।

चुरोटका खोलहरूको ७० प्रतिशत भाग स्वास्थ्यलाई हानि पु¥याउने सन्देशले भरिनुपर्छ। थुप्रै देशमा ९० प्रतिशत भागमा त्यस्ता सन्देश राखिन्छ। हाम्रोमा त्यस्तो प्रावधान पनि राखिएको छैन। यसमा पनि उत्पादकहरूले नीति निर्मातालाई प्रभावमा पारेको बुझ्न सकिन्छ। कमजोर नियमन नै चुरोट र सुर्तीजन्य पदार्थको उपभोग बढ्नुको कारण हो भन्ने बुझ्न पनि कठिन छैन। नागरिक स्वस्थ नभएसम्म देशले सक्षम र दक्ष जनशक्ति प्राप्त गर्दैन। तसर्थ नागरिकको स्वास्थ्यमा सरकार संवेदनशील हुन जरुरी छ। राजस्वको लोभ गर्दा नागरिककै स्वास्थ्यलाई दाउमा राख्नु ठूलो आत्मघाती काम हो। चुरोट वा सुर्तीजन्य पदार्थ नभई नहुने कुनै खाद्यवस्तु होइनन्। यस्ता वस्तुका हकमा सरकारले कठोर हुन पछाडि पर्नु हुँदैन। पूरै प्रतिबन्ध गर्न नै पूरापूर व्यावहारिक नहुन सक्ला। तर कडा नियन्त्रण भने गर्नैपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.