बारामा जोगाउन सकेनन् विरासत

बारामा जोगाउन सकेनन् विरासत

सिमरा : बाराको चार निर्वाचन क्षेत्रमध्ये दुई सिटमा एमाले जित्दा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले एक÷एक सिट जितेका छन्। प्रदेशसभातर्फको नजितामा पनि एमाले अगाडि देखिएको छ। आठ प्रदेशसभामध्ये चार सिटमा एमाले, दुई सिटमा जसपा, एक सिटमा लोसपा र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्। 

२०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ दुई सिट मात्रै जितेको एमालेले यसपटक १२ सिटमध्ये ६ सिट हात पारेको छ। एमालेले उत्साहजनक नतिजा ल्याउँदै गर्दा अघिल्लोपटक बाराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदले आफ्नो विरासत जोगाउन भने सकेनन्। प्रतिनिधिसभातर्फ बाराको चारवटै निर्वाचन क्षेत्रमा २०७४ सालमा निर्वाचित सबै सांसद यसपटक पनि उम्मेदवार थिए। बारा १ मा कांग्रेसबाट उमाकान्त चौधरी, बारा २ मा जसपाबाट रामसहाय यादव, बारा ३ मा जसपाबाट रामबाबुकुमार यादव र बारा ४ मा नेकपा एमालेबाट एकवाल मियाँ दोहोरिएर उम्मेदवार बनेका थिए। जसमध्ये बारा २ का उम्मेदवार यादवमात्रै निर्वाचित भए। दोहोरिएर आएका अन्य तीन उम्मेदवार आफ्नो विरासत जोगाउन असफल देखिए। 

बारा १ मा नेपाल सरकारका खानेपानी मन्त्री एवं कांग्रेसका सहमहामन्त्री चौधरी फराकिलो मतान्तरले पराजित भए। अघिल्लो पटकको निर्वाचनमा विजय प्राप्त गर्दा प्रतिस्पर्धी रहेका अच्युत मैनालीसँग यसपटक उनले हार व्यहोरे। 

बारा क्षेत्र नं. ३ मा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका यादव यसपटक पराजित भए। एमालेका उम्मेदवार अध्यानन्द पाण्डेलाई पराजित गरेका यादव यसपटक एमाले पोलिटब्युरो सदस्य एवं मधेस प्रदेश सहइन्चार्ज साहसँग यादव २ हजार ९८२ मतले पराजित भए।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट बारा ३(१) को प्रदेशसभा सदस्यमा निर्वाचित भएकी साह नेकपा विभाजनपछि एमालेमै बसेकी थिइन्। साहले एमाले रोजेपछि माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्यबाट हटाएको थियो। प्रदेशसभा सदस्य पद त्यागेर एमालेसँगको यात्रा अघि बढाएकी साह यसबीचमा मन्त्रीसमेत बनेकी थिइन्। 

बारा क्षेत्र नं. ४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (हाल लोसपा) बाट निर्वाचित भएका एकवाल मियाँ यसपटक एमालेबाट उम्मेदवार थिए। उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन लोसपा त्यागेर एमाले प्रवेश गरेका मियाँले प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए। २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार देवनारायण चौधरीलाई पराजित गर्दै सांसद बनेका मियाँ यसपटक भने फराकिलो मतले पराजित भए। उनलाई एकीकृत समाजवादीका कृष्णकुमार (किसान)  श्रेष्ठले पराजित गरे। फराकिलो मतान्तरले पराजित भएका मियाँले पनि यस क्षेत्रमा आफ्नो विरासत जोगाउन असफल देखिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.