समानुपातिकतर्फ भोजपुरमा एमाले पहिलो पार्टी
भोजपुर : भोजपुरमा समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले पहिलो राजनीतिक पार्टी बनेको छ । प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनसँग हार व्यहोरे पनि समानुपातिकमा सबै राजनीतिक दललाई उछिन्दै एमाले पहिलो पार्टी बनेको हो ।
नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल २२ हजार ९ सय २५ मत र प्रदेशसभाको समानुपातिकतर्फ २२ हजार ६ सय ९५ मत ल्याउँदै पहिलो बनेको हो । दुवै तर्फको समानुपातिकमा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ ।
प्रतिनिधितर्फ कांग्रेसले कूल १४ हजार ७ सय ६४ र माओवादीले कूल १२ हजार ७ सय ३७ मत प्राप्त गरे । त्यस्तै, प्रदेशसभातर्फ कांग्रेसले कूल १३ हजार ८ सय २७ मत र माओवादीले १३ हजार ४ सय ५३ मत ल्याए ।
प्रत्यक्षमा गठबन्धनसँग हारेपछि समानुपातिकको नतिजा सान्त्वना दिएको नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । गठबन्धनसँगको चुनावी प्रतिस्पर्धामा एक्लैले कडा चुनौती दिएकोमा मतदातालाई धन्यवाद व्यक्त गर्दै उनले भने, ‘यसपटक महा गठबन्धनसँगै हामी एक्लै भिडेर सम्मानजनक जनताको अभिमत पायौं यसैमा हामीले चित्त बुझाएका छौं, समानुपातिक दलीय चुनाव भएकाले हामी सदाझैं माथि नै आएका छौं।'
प्रत्यक्षतर्फ भने सत्ता गठबन्धनले सबै सिट जितेको थियो । गठबन्धनबाट भोजपुर प्रतिनिधिसभा सुदन किराती, प्रदेशसभा क्षेत्र नं १ मा मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई र क्षेत्र नं २ मा नेपाली कांग्रेसका विनोद वान्तावा राई निर्वाचित भएका थिए ।
सुदनले निकटत्तम प्रतिद्वन्द्वी पूर्वमुख्यमन्त्री तथा एमालेका शेरधन राई, राजेन्द्रले एमालेका हरिबहादुर राई र विनोदले एमालेकै प्रेम कार्कीलाई हराउँदै विजयी बनेका छन्।