जहिले चुनाव, तहिले हिंसा
काठमाडौं : मंसिर ४ गते बाजुरा दिनभर अशान्त बन्यो। त्रिवेणी नगरपालिकाको एउटा बुथमा प्रहरीले गोली नै चलायो। कांग्रेस समर्थक २५ वर्षीय सञ्जीव ऐडीको ज्यान गयो। राजनीतिक तनावकाबीच सोही साँझ एमाले समर्थक चेतन ऐडीको पनि ‘ज्यान’ गयो। सत्तागठबन्धनले आफ्ना कार्यकर्ता चेतनको ‘हत्या’ गरेको भन्दै बाजुरा एमाले आन्दोलनमा छ।
बाजुरामा सत्ता गठबन्धन र एमालेले ‘बुथ कब्जा’ गरेको भन्दै एकले अर्कोलाई आरोप लगाएका छन्। राजनीतिक तनाव र द्वन्द्वका कारण मंसिर ४ गते बाजुरामा खसेको मतले मान्यता पाउने कि नपाउने भन्ने अन्योल अझै कायमै छ। अन्यत्र जित्नेले बधाई र हार्नेले सान्त्वना पाइरँंदा बाजुरामा अब के होला भन्ने अन्योलता छ।
बाजुरा मात्र होइन, दोलखा र स्याङजामा पनि बुथ कब्जाको आरोप प्रत्यारोप चल्यो। दैलेखमा पुनः १५ गते मतदान गर्ने आयोगले निर्णय गरेको छ। अन्य स्थानको निर्णय भएको छैन। नेपाल प्रहरीका सहायक प्रवक्ता दानबहादुर कार्की निर्वाचनका दिन देशका २४ स्थान अशान्त बनेको बताउँछन्। त्यसदिन प्रहरीले १३० राउण्ड गोली चलाएको थियो। २८ जिल्लाका ५० स्थानमा निर्वाचन भाड्न शंकास्पद वस्तु फेला परेका थिए। प्रहरी सहायक प्रवक्ता कार्कीका अनुसार निर्वाचन बिथोल्न खोज्ने समूहका ५६ जनालाई पक्राउ गरिएको थियो।
‘लोकतान्त्रिक गणतन्त्रमा निर्वाचन निष्पक्ष, पारदर्शी, मर्यादित र भयरहित हुनुपर्छ’, भन्ने मान्यता हुन्छ। तर, माथिका घटनाहरूले ‘मनी, मसल र पावर’को दुरुपयोग गरेर हिंसाको सहारामार्फत चुनाव जित्न खोज्ने क्रम अझै नरोकिएको निर्वाचनलाई नजिकबाट नियालिरहेकाहरू बताउँछन्। जनताको विवेकलाई बन्धक बनाएर ‘चुनाव जित्ने’ खेलले व्यवस्थाकै मज्जाक उडाउने गरेको भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्छन्।
बाजुरामा प्रहरीले किन चलायो गोली ? विगतदेखि नै बाजुरामा एमाले र कांग्रेसबीच चुनावका बेला झड्प हुने गरेको छ। मंसिर ४ गते पनि बाजुराको त्रिवेणी नगरपालिका–७ नाटेश्वरी मतदान केन्द्रमा मतदानको अन्तिम–अन्तिम समयमा वातावरण अशान्त बन्यो।
प्रहरीका अनुसार कांग्रेस कार्यकर्ताले मतदान केन्द्रभित्रै पसेर मतपेटिका कब्जामा लिने प्रयास गरे। एमालेका कार्यकर्ता त्यसलाई रोक्न अघि बढे। स्थिति तनावपूर्ण बन्यो। मतपेटिका र प्रहरीको हतियारसमेत खोस्ने प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ। त्यस क्रममा कांग्रेस समर्थक सञ्जीव ऐडीको ज्यान गएको प्रहरीको दाबी छ। २ सर्वसाधारण र एक प्रहरी पनि गोली लागेर घाइते भए। ऐडीको मृत्युपछि नाटेश्वरी मतदान केन्द्रको चुनावी वातावरण बिथोलियो।
बुथ कब्जा गर्न अवरोध गरेको रिस साँधेर बसेका कांग्रेस कार्यकर्ताले त्यो घटनामा सहभागी एमाले कार्यकर्तालाई घरघरमा पुगेर आक्रमण गर्न थाले। उक्त क्षेत्र पहिल्यैदेखि कांग्रेसको प्रभाव क्षेत्रका रूपमा चिनिन्छ। त्यसक्रममा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य, चेतन ऐडी कुटपिटमा परे। कुटपिटबाट गम्भीर घाइते भएका उनको अछामस्थित बयलपाटा अस्पताल पुर्याएपछि उपचारका क्रममा मृत्यु भएको थियो।
२०७४ सालको स्थानीय निर्वाचनको मनोनयनकै क्रममा पनि बाजुरामा दलका कार्यकर्ताबीच झडप भएको थियो। त्यस बेला पनि एक जनाको ज्यान गएको थियो। कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि खप्तड छेडेदह गाउँपालिका–५ दोगडीका एमाले समर्थक हंशबहादुर रावतको मृत्यु भएको थियो।
०७९ सालको स्थानीय निर्वाचनका बेला पनि थुप्रै ठाउँमा हिंसा भए। पाँच जनाले ज्यान गुमाएका थिए। ०७४ को स्थानीय निर्वाचनमा पनि देशका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ। २०५४ सालको निर्वाचनमा पाँच र २०४९ सालको स्थानीय निकाय निर्वाचनमा चार जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।
गृह मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता बसन्त भट्टराई राजनीतिक दलका कार्यकर्ताले मतदान केन्द्रको शान्ति सुरक्षामै आँच पुर्याएपछि सुरक्षाकर्मीले बाध्य भएर गोली चलाउनु परेको बताउँछन्। ‘मतदानको क्रममा झड्प गर्ने, मतपेटिका फुटाउने, बाक्समा प्रज्जवलनशील पदार्थ हाल्ने, मतदान अधिकृत तथा कर्मचारीहरलाई असर पुर्याउने यस्ता काम गर्दा आत्मरक्षा तथा निर्वाचन सामग्रीको सुरक्षाका लागि सुरक्षाकर्मीले बाध्यभएर गोली चलाउनुपर्यो’, उनले भने, ‘चुनावको क्रममा बाजुरामा २ जनाको मृत्यु भयो।’
दलका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्नुले निर्वाचनबाट आएको जनमतलाई अझै सहज रूपमा स्वीकार गर्ने प्रवृत्तिको विकास नभएको देखिएको निर्वाचन आयोगका सहायकप्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्। ‘पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट ग्रस्ती देखिन्छन्’, उनले भने, ‘जनताको मतमा विश्वास नगरेर बुथ कब्जा गरेर अझै पनि चुनाव जित्न खोज्नु साह्रै दुःख लाग्दो अवस्था हो।’
पार्टी र उम्मेदवारलाई एजेन्डा र कार्यक्रमका आधारमा जनताले मन पराएर भोट दिने भएकाले यस्ता गतिविधि आवश्यक नै नभएको सहायक प्रवक्ता अर्याल बताउँछन्। भन्छन्, ‘यसकै आधारमा गणना भएर आएको मतलाई सहज तरिकाले स्वीकार्ने बानीको अझै विकास हुन अझै सकेको छैन।’ निर्वाचनको मूल धर्म निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, विश्वसनी बनाउनुपर्ने हो। यो निर्वाचनको एउटा पद्धति पनि हो। तर, राजनीतिक दलले पद्धतिलाई बलजफती तोड्ने काम गर्दा रक्षाका लागि चुनावमा प्रहरीले गोली चलाउनु पर्ने बाध्यता आउने गरेको छ।
बलजफति हुलहुज्जत गरेर निर्वाचन सामग्री लुटपाट गर्न सक्ने भइसकेपछि निर्वाचनको मूल मर्म रक्षाका लागि प्रहरीले गोली हान्नुपर्ने स्थित बन्ने गरेको छ सहायक प्रवक्ता अर्याल बताउँछन्। भन्छन्, ‘हामी ब्यालेटबाट शान्तिपूर्ण तरिकाको माध्यम अपनाउँदै सत्ता परिवतर्नको बैधानी खेलमा छौं। ब्यालेटको अर्थ त्यो विद्यिसम्वत हुनुपर्यो भन्ने हो। त्यो भनेको स्वच्छ, निष्पक्ष, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्नु हो। त्यसमा कोही
कसैले अबरुद्ध गर्नुहुँदैन।’
किन हुन्छ जहिले हिंसा ?
संविधानत उम्मेदवारलाई निर्वाध चुनावी प्रचार गर्न दिनुपर्छ। मतदाताले स्वतन्त्र भएर आफ्नो नेता छनोट गर्न पाउनुपर्छ। मतदातले दिएको मतको सही गणना पनि हुनुपर्छ। तर, बाजुरा लगायतका केही जिल्लामा यी कुनै मर्म पुरा हुन सकिरहेको छैन। चुनावमा कार्यकर्ताहरूबीच कुटपिट, उम्मेदवारको गाडीमा तोडफोड र ज्यानै जाने गरी निर्वाचनमा हिंसा हुँदै आएको छ।
निर्वाचनलाई नियालिरहेका विज्ञ भन्छन्, ‘पञ्चायतकालमा राज्य नै हिंसामा उत्रन्थ्यो। २०४८ सालतिर पनि त्यस्तै भयो। त्यसपछि पनि उही पुरानै रोग बलझिरह्यो।’ २०६४ को निर्वाचनमा रौतहटका अफताम आलमले चुनाव जित्न हिंसात्मक गतिविधि गरे। चुनावमा बम विस्फोट गरेर आतंक फैलाई चुनाव जित्न खोज्दा नागरिक घाइते भए। घटना लुकाउन घाइतेहरूलाई इँटा भट्टामा जलाई मारेको आरोपमा उनी अहिले जेलमा छन्। उनलाई प्रहरीले सांसद्को हैसियतमै रहेको समयमा तीन वर्षअघि पक्राउ गरेको थियो।
बाजुरामा अनेरास्ववियु केन्द्रीय सदस्य चेतन ऐडीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने मागसहित एमालेले गरेको विरोध प्रदर्शन । तस्बिर : पदमबहादुर सिंह
जनतामा विश्वास गुमाइसकेकाहरू चुनाव जित्न हिंसाको ‘कु’बाटो रोज्ने गरेको राजनीतिक विश्लेषक तथा प्रोफेसर सन्त सत्यनारायण आलोक बताउँछन्। ‘राजनीतिक दलको विचार, सिद्धान्त र चुनावी घोषणापत्र हुन्छन्। तर, नेताहरूलाई यसकै आधारमा चुनाव जित्छु भन्ने आफैंलाई विश्वास हुँदैन’, उनले भने, ‘त्यसका नेताहरू चुनावमा डबल रोल खेलिरहेका हुन्छन्। पर्दा पछाडि हिंसात्मक गतिविधि गरेर चुनाव जित्ने र बाहिर सुकिला–मुकिला लुगा लगाएर मतदातालाई विभिन्न वहानामा लोभ्याउने, पैसा दिएर भोट किन्ने योजनामा हुन्छन्।’
मतदाताले नपत्याए चुनावमा धाँधली गर्ने, बुथ कब्जा गर्ने, कुटपिट गर्ने र एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको कार्यकर्ताको ज्यानै लिनेसम्मको हिंसात्माक गतिविधि गरेर चुनावको जित आफ्नो पक्षमा पार्न मुढे बल प्रयोग गर्ने गरेको उनले बताए।
विचार र सिद्धान्तमा बिचलन
कुनै पनि दल र उम्मेदवारलाई उसले बोकेको सिद्धान्त र विचारको आधार चिनिन्छ। ती दलको विचार, सिद्धान्त र राजनीतिक एजेन्डा मन परे मतदाताले चुनावमा ब्यालेटका माध्यमले जनसमर्थ दिन्छन्। र, सत्तामा पुर्याउँछन्। तर, पछिल्लो समय दलहरूको विचार सिद्धान्तलाई जनताले पत्याउन छाडेका छन्। तर, दल र उम्मेदवारहरूलाई जसरी पनि सत्तामा पुग्ने होडबाजीले निर्वाचनमा रक्तपात मच्चिने गरेको विज्ञको विश्लेषण छ।
मतदानको क्रममा झड्प गर्ने, मतपेटिका फुटाउने, बाक्समा प्रज्जवलनशील पदार्थ हाल्ने, मतदान अधिकृत तथा कर्मचारीहरूलाई असर पुर्याउने यस्ता काम गर्दा आत्मरक्षा तथा निर्वाचन सामग्रीको सुरक्षाका लागि सुरक्षाकर्मीले बाध्यभएर गोली चलाउनुपरेको छ।
बसन्त भट्टराई, सहायक प्रवक्ता, गृह मन्त्रालय
राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ पार्टीहरू विचार र सिद्धान्तबाट बिचलित भएको बताउँछन्। ‘पहिले पार्टीहरूका नेता कार्यकर्ताबीच सैद्धान्तिक लडाइँ हुन्थ्यो। कार्यकर्ताहरू अध्ययन गथें। त्यसमाथि सैद्धान्तिक बहस गर्ने परम्परा थियो’, उनले भने, ‘स्कुल, कलेज, गाउँघरमा बहस हुन्थ्यो। इलेक्सनको समयमा सैद्धान्तिक लडाइँ हुँदाहुँदै कुटाकुट पनि हुन्थ्यो। अहिलको लडाइँ सैद्धान्तिक छैन।’
स्वार्थको लडाइँले राजनीति विकृत भएको तर्क डा. लाभको छ। भने, ‘अहिले राजनीतिमा स्वार्थको लडाइँ भइरहेको छ। ‘म ठीक अरू, सबै बेठीक,’ जस्ता तुच्छ खालको अरोप प्रत्यारोप त धेरै भइरहेको छ’, उनले भने, ‘जब आफ्नो सिद्धान्तमा विश्वास हुँदैन तब अरूमाथि आरोप लगाइन्छ। यसको प्रतिक्रियामा झगडा हुन्छ।’
राजनीतिको पछाडिको दृश्य कल, छल, बलको प्रयोगले निर्वाचनमा धाँधली हुने राजनीतिक विश्लेषक तथा प्रोफेसर आलोकले बताउँछन्। भन्छन्, ‘राजनीतिको अर्को रूप साम, दाम, दण्ड, भेद सबै प्रयोग हुन्छन्। यो सबै हिडेन हुन्छ।’
सत्तामा पुग्ने होडले चुनावी हिंसा
एक पटक सत्तामा बसिसकेकाहरू सत्तामै बस्न रुचाउँछन्। सत्ताको हात्ती चढ्न मान्छे मार्न पनि पछि पर्दैनन् भन्ने कुरा अफताब आलमले ज्युँदै जलाएको घटनाले पुष्टि हुन्छ। पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठ नेताहरूलाई देशमा हैकम चलाउनुपर्छ भन्ने खालको प्रवृत्तिले चुनावमा धाँधली गर्ने गरेको बताउँछन्।
‘मतदातालाई बाध्यताको मौका उठाएर परिबन्धमा पारिन्छ। डर, धाक, धम्की दिन्छन्। यसले चुनावमा अपराधीकरण बढाएको छ’, उनले भने, ‘गरिबी, अशिक्षा र अभावले हामी थलिएका छौं। हामीसँग पैसा छैन। कसैले पैसा दिन्छुभन्दा कुदेर अघि बढ्छौं। कसैले थर्काउँदा पनि डराइहाल्छौं। लोभ देखाउँदा फसी हाल्छौं। यो चरित्रले गर्दा लोभ र डरमा पनि आकर्षित हुन्छौं।’ उनी सत्ताको स्वार्थ नेताहरूमा आएपछि चुनाव जित्ने अपराकर्म गर्न पनि पछि नपर्ने बताउँछन्।
जितेर सत्तामा पुगेपछि आपूmले गरेको अपराध लुकाउन सबै बल लगाउने गरेको प्रवृत्ति नेपाली राजनीतिमा देखापरेको राजनीतिक विश्लेषक प्रोफेसर आलोकको टिप्पणी छ। ‘प्रजातन्त्रमा मत यस्तो ठूलो शक्ति र आत्मबल हो जहाँबाट मतकै आधारमा सरकार स्थापना हुन्छ। सत्ता हस्तान्तरण हुन्छन्। देश हाँकिन्छ’, उनी थप्छन्, ‘जो कोहीले मतपत्रबाट जित हाँसिल गरेर सत्ताको सिँढी चढ्न चाहना राख्छन्। विधि, सिद्धान्त र पद्धतिमा रहेर यस्तो सपना देख्नुलाई राम्रो मान्नुपर्छ। तर, हिंसाको बाटो अपनाएर चुनाव चित्न खोज्नु लोकतन्त्रमा अपाच्य र अमान्य हो।’
‘हिंसा गर्नेलाई चुनाव जिताउनु हुँदैन’
चुनावमा हिंसाको बाटोबाट जित हाँसिल गर्न खोज्नेलाई मतदाताहरूले हराएर तह लगाउनु पर्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। पूर्वकानुन सचिव श्रेष्ठ डर, धाक, धम्की देखाएर बुथ कब्जा गरेर जित्ने प्रवृत्तिलाई हाबी हुन नहुने बताउँछन्। यस्ता राजनीतिक दुष्चरित्रलाई रोक्न समाज एक भएर तयार हुनुपर्नेमा उनले जोड दिए। गलत तरिकाले सधैं चुनाव जितिँदैन भन्ने राजनीतिक दलहरूले हेक्का राख्नुपर्छ। नेताहरूले पनि बुझ्नुपर्छ कि यसले दीर्घकालीन फाइदा हुँदैन। यो बुझिएन भने हामी सेट ब्याकमा जान्छौं। संसारले हामीलाई पत्याउँदैन।’
देश र जनाताप्रति राजनीतिक दल र कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा जोड दिन्छन् प्रोफेसर आलोक। ‘कार्यकर्ता टमटमको घोडा जस्तै हुनुहुँदैन। आफ्ना नेताको हरेक कुरामा विश्वाससँगै शंका पनि गर्नुपर्छ। यसले आफूलाई पनि सही बाटोमा लान्छ। नेता र दलललाई पनि फाइदा हुन्छ।’ उनका अनुसार देश र जनताका लागि स्वच्छ, निष्पक्ष हुनु पर्ने राजनीति व्यक्ति, व्यक्तिको स्वार्थमा फसेपछि राजनीतिक र नेता प्रति बितृष्णा बढेको छ। डर, धाक, धम्कीको बलमा गरिने राजनीतिले समाजबाट इमान्दार, नैतिकवान व्यक्ति विस्थापित हुन्छन्। राष्ट्रिय कमजोर बन्छ। समाजिक विकृतको ग्राफ बढेर जान्छ। मानवतामाथि नै आघात पुग्छ। त्यसैले विचार, सिद्धान्तकै राजनीतिक बाटो सबैले तय गर्नुपर्छ।
चुनावमा हिंसाको बाटोबाट जित हाँसिल गर्न खोज्नेलाई मतदाताहरूले हराएर तह लगाउनु पर्छ। डर, धाक, धम्की देखाएर बुथ कब्जा गरेर जित्ने प्रवृत्तिलाई हाबी हुन हुँदैन। गलत तरिकाले सधैं चुनाव जितिँदैन भन्ने राजनीतिक दलहरूले हेक्का राख्नुपर्छ।
उदय नेपाली श्रेष्ठ,पूर्वकानुन सचिव
पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट ग्रस्ती देखिन्छन्। जनताको मतमा विश्वास नगरेर बुथ कब्जा गरेर अझै पनि चुनाव जित्न खोज्नु साह्रै दुःख लाग्दो अवस्था हो।
सूर्यप्रसाद अर्याल, सहायक प्रवक्ता, निर्वाचन आयोग
पहिले पार्टीहरूका नेता कार्यकर्ताबीच सैद्धान्तिक लडाइँ हुन्थ्यो। कार्यकर्ताहरू अध्ययन गथें। त्यसमाथि सैद्धान्तिक बहस गर्ने परम्परा थियो। स्कुल, कलेज र गाउँघरमा बहस हुन्थ्यो। त्यो समय सैद्धान्तिक लडाइँ हुन्थ्यो। अहिलको लडाइँ सैद्धान्तिक छैन।
डा. सुरेन्द्र लाभ, राजनीतिक विश्लेषक
मतपत्र च्यातेको त्यो घटना
१४ जेठ, २०७४ को मध्यरात निर्वाचन इतिहासमै ‘कालो रात’ चर्चित रहेको पाइन्छ। जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्री रेणु दाहाललाई जिताउन मतगणना स्थलमा खटिएका माओवादीका प्रतिनिधिहरूले मतपत्र च्याते।
२०७४ वैशाख ३१ गते पहिलो चरणमा भरतपुर महानगरपालिकाको मेयर पदमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार थिइन्। चुनावमा माओवादीको हार हुने भएपछि माओवादीको तर्फबाट मतगणनामा प्रतिनिधि खटिएका मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटी मतपत्र च्यातेका थिए। जुन घटना निर्वाचनको चर्चित घटना हो। त्यसपछि नै हो देशभरि मत गणना स्थलमा तारजाली लगाउन थालिएको।
भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहँदा माओवादीले मतपत्र च्यातेका थिए। २९ वडामध्ये २७ वटा वडाको मतगणना भइसकेको थियो। पछि ती वडाहरूमा पुनः मतदान हुँदा मेयर प्रचण्ड पुत्री जितेकी थिइन्। मेयरमा ‘प्रचण्ड’ पुत्री दाहाल र एमालेका देवी ज्ञवाली उम्मेदवार उठेका थिए। कांग्रेसले रेणुलाई समर्थन गरेको थियो। त्यसबेला कांग्रेस र माओवादी केन्द्र सत्ता साझेदार दल थिए।