उदयपुरमा सर्वदलीय बैठक निष्कर्षविहीन, मतगणना अनिश्चित
उदयपुर: मतगणना सुचारु गर्न उदयपुरको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । बैठक निष्कर्षविहीन भएपछि स्थगित मतगणना अनिश्चित भएको छ।
सर्वदलीय बैठकमा दलको अडान कायमै रहेपछि सहमति नजुटेको हो । एमाले उमेदवार मञ्जुकुमारी चौधरीले प्रदेशसभा सदस्यको भेटिएको मतपत्र पूर्वसहमति अनुसार गणना हुनु पर्ने बताईन् । कांग्रेसले भने बढि भएको मतपत्र गणना हुनु नहुने अडान राखेको छ ।
मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले आफैंले निर्णय गर्ने कि पुनः आयोगलाई पत्र पठाएर थप निर्णय लिने भन्ने विषयमा निष्कर्षमा पुग्न नसकेको बताए ।
आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १ सय मत पत्र भेटिएपछि गणना रोकिएको थियो । ६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोल्दा प्रदेशतर्फको एक सय वटा मतपत्र भेटिएको थियो ।
७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छ्न । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छ्न भने एमालेकी मञ्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।