पूर्वप्रधानमन्त्री खनाललाई हराउने महेश

पूर्वप्रधानमन्त्री खनाललाई हराउने महेश

इलाम: २०४८ संसदीय निर्वाचनदेखि इलाम क्षेत्र न १ बाट लगातार विजयी भइहरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई यस पटक संसद प्रवेशमा रोक लाग्यो। 

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री खनाललाई उनकै कार्यकर्ता भएर राजनीति गरेका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले पराजित गरे।

२०७४ सम्म हरेक संसदीय निर्वाचनमा एमालेबाट चुनावी मैदानमा भिडेका खनाल यस पटक इलामले जनताको साथ पाएनन् । पाँच जित हात पारेका उनले यो पटकसमेत २ हार व्यहोरे। 

एकीकृत समाजवादीका तर्फबाट कलम चिह्न लिएर चुनावी मैदानमा उत्रिएका उनले काठमाडौं फर्कनु अघि चुनावमा धाँदली भएको आरोप लगाएका थिए । इलाम छोडेपछि उनले कांग्रेसका कार्यकर्ताले अन्तरघात गरेको आरोप लगाए । यस पटक उनी अघिल्लो चुनावमा जस्तै ‘अन्तिम पटक’ भन्दै  भोट मागेका थिए । 

७३ वर्षीय खनाल यस पटक नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २ हजार ६ सय ६४ मतको अन्तरले पराजित भए । बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका छन् भने खनालले २३ हजार ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खनाल यसपटक ०७४ जस्तो आफ्नो ठूलो संगठनका साथ मैदानमा थिएनन् । समानुपातिक मतको आधारमा हेर्दा उनीसँग ७ हजार ८ सय ३२ मत मात्रै आफ्नो थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनलाई यस पटक पनि १५ हजार २ सय ५७ मत दिए ।

खनालले ०७४ मा १७ हजारभन्दा बढी मतले जितेका थिए । चुनावको समयमा खनाललाई पाँच-पाँचवटा संसदीय चुनावमा विजय हासिल गरेर प्रधानमन्त्रीसम्म बने पनि आफ्नै क्षेत्रको विकास निर्माणमा बेवास्ता गरेको आरोप लागेका थियो । 

स्थानीय तह निर्वाचन पछि स्थानीय तहको निर्वाचनमा काग्रेसका कार्यकर्ताले धोका दिएको भन्ने अभिव्यक्तिले पनि नेपाली कांग्रेसका कार्यकर्ता चिढिएका थिए । 

०७४ मा इलाम १ बाट खनालले ३६ हजार ८ सय ५ मत ल्याएर निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत ल्याएका थिए । खनालले २०४८, ०५१, ०६४ र ०७० मा पनि इलाम १ बाटै निर्वाचित भई संसद्मा प्रतिनिधित्व गरेका थिए। 

०४८ र ०५१ को संसदीय निर्वाचनमा उनले कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए। ०५१ मा भट्टराईलाई २ सय १० को झिनो मतले मात्र पराजित गरेका थिए। ०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट कांग्रेसका बेनुपराज प्रसाईसँग पराजित भएका थिए। 

०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने खनालले कांग्रेसका प्रसाईलाई हराएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गरेका थिए। 

२०६७ माघमा प्रधानमन्त्री निर्वाचित खनाल पार्टीभित्रैकै कलहका कारण नौ महिनामै बाहिरिनुपरेको थियो।

२००६ चैत ६ मा इलामको साँखेजुङमा जन्मेका खनालले विगतमा एमाले निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको दावी गर्दछन् ।
  
विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिस्ट राजनीतिमा लागेका खनाल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको पोलिटब्युरो सदस्य हुँदै महासचिव भएका थिए। २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि राजनीतिक जीवन भने २०२१ सालदेखि सुरु गरेका थिए।
 
२०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भए। २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली बने, खनाल पार्टीको वरिष्ठ नेता भए। पछि एमाले र माओवादी एकतापछि बनेको नेकपामा उनी वरिष्ठ नेता एवं सचिवालय सदस्य थिए।

२०४६ सालको आन्दोलनको सफलतासँगै खुलामञ्चबाट जेएन खनालको नाममा उनी सार्वजनिक भएका थिए। जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरणमन्त्री थिए। ०४६ मा सम्पन्न चौथो महाधिवेशनपछि मदन भण्डारी नेतृत्वमा आए।

एमालेले २०४९ सालमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित गर्दा सीपी मैनाली र खनालको नौलो जनवादको कार्यनीति अल्पमतमा पर्‍यो। जबजको आफ्नो कार्यनीति पारित भएपछि भण्डारीले खनाललाई पोलिटब्युरो सदस्य बनाएनन् । दासढुंगा दुर्घटनामा भण्डारीको निधनपछि भने उनी पोलिटब्युरो सदस्य भए।

खनाललाई पराजित गरेका बस्नेतले आफ्ना नेतालाई पटक पटक संसदमा पठाएपनि जनताको भावना अनुसार काम नभएकाले यस पटक जनताले आफुलाई मत दिएको बताए । उनले भने ‘म जनताको भावना अनुसार यहाँको विकास निर्माणमा सहभागि हुन्छु ।’

बस्नेतले पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा नीतिगत सुधार गर्नेदेखि दीर्घकालिन विकासको मोडेलसहित जनताको आवश्यकता पुरा गर्ने बताए ।
 
सँधै पार्टी र सत्ताको केन्द्रमा रहेका झलनाथ खनाल ‘अन्तिम पटक’ भन्दै चुनावी मैदानमा आइरहेको बेला आफ्नै निर्वाचन क्षेत्रको रोङ १ मा जन्मेका बस्नेत जन्मथलो बनाउन भन्दै चुनावी मैदानमा उत्रिएका थिए । 

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापनदेखिको अनुभव बोकेका बस्नेतले इलाम नगरपालिकामा दुई पटक मेयर पदमा निर्वाचित भएर काम गरिसकेका छन् । 

बस्नेतले मेची राजमार्गलाई स्ततरोन्नति गरी २ लेनको सडक बनाउनेदेखि ‘फ्री वाईफाई जोन’ बनाउने सम्मका योजना अघि सारेका छन्। उनले भने ‘विद्यमान रहेको सडक मापदण्ड (सडक सीमा) विवादलाई नागरिकको हित अनुकूल हुनेगरी समाधान गरनेछ ।’ 

उनले स्थानीय तहमा जलस्रोत व्यवस्थापन गुरूयोजना कार्यान्वयनमा ल्याइने बताएका छन् । 

प्रतिवद्वतामा लेखेका छन्, ‘जलसम्पदा नास हुने अवस्था तीब्र रूपमा बढिरहेको हुँदा जलस्रोतको संरक्षणबारे प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिने छ ।’
  
बस्नेतले १९ बुदे प्रतिवद्वता कार्यान्वायनमा लाग्ने बताएका छन्। उनले सबै स्थानमा राष्ट्रिय प्रशारण लाइन अन्तर्गतको उच्च भोल्टेज क्षमताको ट्रान्सफर्मर र तारसहित विद्युत सेवा पुर्‍याइने बताए । 

बस्नेतले नेपालमा उत्पादन भएको चियालाई अक्सन सेन्टरको स्थापना गरी नेपाली चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको लागि आफुले काम सुरु गर्ने बताए । 

उनले भने, ‘चिया तथा कफि विकास बोर्डलाई अलग गरी चिया र कफिको विकासका लागि अलगअलग बोर्डको गठन गरिनेछ ।’ 

उनले सूर्योदय नगरपालिकाभित्र चियासम्बन्धी अध्यायन अनुसन्धान केन्द्रको स्थापना गर्ने कुरामा प्राथमिकताका साथ लाग्ने योजना सुनाए । उनले भने,  ‘चिया, दूध उद्योग तथा अन्य उद्योगको उत्पादन र प्रशोधनमा प्रयोग हुने विद्युत महसुलमा सहुलियत दिलाउने व्यवस्था मिलाउदै चिया, दूध तथा अन्य कृषि सम्बन्धी उद्योगको आवश्यक यन्त्र, उपकरण ढुवानीका साधनमा अनुदान उपलब्ध गराउन भन्सार तथा कर छुटको व्यवस्था गरिनेछ ।’ 

उनले पालिका स्तरका सम्भावना हेरेर पर्यटन प्रवद्र्धनका प्याकेज ल्याउने योजना अघि सारेका छन् ।  कन्यामलाई रात्रिकालीन पर्यटन क्षेत्रको रूपमा विकास गर्नेदेखि 'बहुसांस्कृतिक सङ्ग्रहालय' निर्माण समेतका योजना छन् ।

 बस्नेतले ‘गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गरिने’ प्रतिवद्वतामा उल्लेख गरेका छन् । 

उनका योजनामा करफोक विद्यामन्दिरलाई नमुना बहुप्राविधिक शिक्षालयको रूपमा विकास गर्ने, सूर्योदय नगरपालिकाको फिक्कलमा सभागृह (सिटी हल) सिटीमार्ट,व्यवस्थित बसपार्क र बहुतले ट्याक्सी पार्क निर्माणका लागि पहल गर्ने योजना छ। 

 उनले स्वास्थ्य, उद्योग, व्यापार, रेमिट्यान्स र रोजगारी सिर्जना वन तथा वातावरण, सहकारी तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रमा समेत योजना अघि सारेका छन् । उनले भने,  ‘यस क्षेत्रमा इन्टरनेट सेवाको विस्तार गरी शहर, बजार, शैक्षिक संस्था, पर्यटकीय स्थल तथा पालिका केन्द्रलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने छ।’
 
उनले स्थानीय तहहरूमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै कामलाई विद्युतीय प्रणालीमार्फत् सम्पादन गर्ने बताए । बस्नेतले प्रत्येक वडामा 'ज्येष्ठ नागरिक मिलन केन्द्र'को स्थापना तथा सञ्चालन गरी सक्रिय जीवनयापनको वातावरण बनाउने उल्लेख गरे ।  

बस्नेतले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारहरूसँग आवश्यक समन्वय गरी सम्पन्न गरिने छन् ।’

उनले विरोधका नाममा बन्द, हड्ताल कहिल्यै नगर्ने प्रतिवद्वता समेत जायर गरे ।  स्थानीय तह सञ्चालनको लामो अनुभव बोकेका बस्नेतले भने, ‘भ्रष्टाचार र अनियमितता मुक्त समाज निर्माण गर्न प्रतिवद्ध छौं ।’ 

प्रदेश सभाका लागि इलाम क्षेत्र न १ (१) मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत केन्द्रकी खिनु लङ्वा लिम्बुले नेकपा एमालेकी शोभा पराजुलीलाई १ हजार ९७६ मतले पराजित गरेकी छन् । लङ्वाले १३ हजार ३७१  मत पाएकी छन् भने पराजुलीले ११ हजार ३९५ मत पाएकी छन् ।  क्षेत्र १(२)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका क्षेत्रीय सभापति  समशेर राईले एमालेका दिपक थेवेलाई ६३८ मतले पराजित गरेका छन् । राईले १२ हजार ७८० र थेवेले १२ हजार १४२ मत प्राप्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.