बंगलादेशले झस्काएको अर्थतन्त्र

बंगलादेशले झस्काएको अर्थतन्त्र

श्रीलंका आर्थिक रूपमा करिब टाट पल्टियो। राष्ट्रपतिले देशै छोडेर भाग्नुपर्‍यो। राजापाक्षे परिवारको जहानियाँ शासनले देशलाई कंगाल बनायो। आयात निर्भर श्रीलंकामा विदेशी मुद्राको सञ्चिति निखि«या। त्यो खराब राजनीतिको उपज थियो। राजापाक्षे परिवारकै राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू थिए। परिवारवादले देशलाई संकटमा पुर्‍यायो। त्यसो त अहिले विश्व नै आर्थिक संकट झेलिरहेको छ। त्यसको बाछिटा बंगलादेश पुगिसक्यो। श्रीलंकापछि टाट पल्टने पालो बंगलादेशको आएजस्तो भएको छ। रूस—युक्रेन युद्धले बढाएको तेलको मूल्यबाट बंगलादेश प्रभावित बन्यो। अहिले यो देश ऊर्जा र खाद्य संकट झेलिरहेको छ। त्यसैमा राहतका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले उसलाई ४ अर्ब ५० करोड अमेरिकी डलर सहायता दिने पनि भएको छ।

बंगलादेशमा अहिले खाद्यान्नको मूल्य अकासिएको छ। विदेशी मुद्रा सञ्चिति स्वात्तै उँधो लागेको छ। त्यहाँको मुद्रा टाकाको भाउ २५ प्रतिशतले झरेको छ। श्रीलंका पनि खाद्य संकटको भुँमरीमा फसेको थियो। मानिसले पाउरोटी पनि किन्न पाएका थिएनन्। सरकारले विद्यालयको जाँचसमेत रोक्नु परेको थियो। परीक्षामा चाहिने प्रश्नपत्र र उत्तरपुस्तिकाका लागि कागज किन्न विदेशी मुद्रा नहुँदा श्रीलंकाको बिजोग भएको थियो। बंगलादेशको अर्थतन्त्र धराशायी हुन पुग्नु त्यहाँ पनि श्रीलंकामा जस्तै विदेशी ऋणको बोझ धेरै हुनु एउटा कारण हो। पुँजी पलायन अर्काे कारण हो भने बैंकहरूमा संकट आउनु र ऊर्जा अभाव हुनु हो। त्यसैले बंगलादेशले विलासी वस्तुको आयात रोक्ने घोषणा गरेको छ। 

हाम्रो नेपाल यस्तै हालत भोगिरहेको छ। महिनौंदेखि सरकारले महँगा गाडी, मोबाइललगायत वस्तुको आयात रोकेको छ। आयात रोकिँदा सरकारले भन्सार राजस्व गुमाएको छ। बजारमा किनबेच कम भएको छ। बैंक ब्याजदर महँगो हुँदा उद्यमी व्यवसायी मारमा छन्। साना व्यवसायीलाई त चौपटै भएको छ। बैंकहरूले अपेक्षित ऋण प्रवाह गर्न सकेका छैनन्। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले तिर्न बाँकी ऋण २० खर्ब ११ अर्ब छ। यो अघिल्लो वर्षभन्दा ३ खर्ब ज्यादा हो। आयात रोकिँदा तत्काललाई विदेशी मुद्रा केही सञ्चिति भएको छ। कुनै पनि देश टाट नपल्टन अर्थात् ऊ आर्थिक रूपमा बलियो बन्न चाहिने भनेको वैदेशिक मुद्रा नै हो। त्यसैबाट किनमेल सम्भव हुन्छ। नेपालजस्तो आयात अर्थतन्त्र भएको मुलुकलाई वैदेशिक मुद्रा सञ्चिति झनै महत्वपूर्ण छ। कोभिड—१९ महामारीपछि पर्यटन क्षेत्र तङ्ग्रन सकेको छैन। धन्न विप्रेषण आयले भिरको डिलतिर जाँदै गरेको अर्थतन्त्रलाई टेको लगाएर धानेको छ।

विश्व अर्थतन्त्रमा आएको मन्दी र संकटका बाछिटाले बंगलादेश छोयो। पाकिस्तानतिर छुँदैछ। श्रीलंकामा त भल नै आयो र डुबायो नै। भारत यसमा सचेत भएर अघि बढिराखेको छ। नेपाल भने कानमा तेल हालेर बसेको छ। होइन भने भर्खरै सम्पन्न निर्वाचनपछि दलका नेताहरूले आर्थिक रूपमा देशलाई बलियो बनाउने कुरा गर्थे। दलहरूका बीचको प्रतिस्पर्धा फेरि सत्ता र कुर्चीका लागि छ। देशको अर्थतन्त्र सपार्ने कुरा कहीँ कसैबाट उच्चारित छैन। चाहे श्रीलंका वा बंगलादेश हुन्, दुवैतिरको आर्थिक संकटको मूल कारण राजनीति नै हो। हामीकहाँ त्यहाँका भन्दा असल राजनीतिक चरित्र छैन।

दलहरूसँग अर्थतन्त्रबारे एजेन्डा छैनन्। त्यसैले उनीहरू अझै कानमा तेल हालेर बसेका छन्। उनीहरूको यही चरित्र निरन्तर रह्यो भने नेपाल पनि श्रीलंका वा बंगलादेश बन्न कुनै बेर लाग्दैन। अब आउने सरकारको पहिलो प्राथमिकता नै अर्थतन्त्र सपार्ने र मुलुकलाई राजनीतिका साथै आर्थिक स्थिरतातिर लैजाने हुनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.