उतारचढाव भोगेका दुई टोली

उतारचढाव भोगेका दुई टोली

दोहा : फिफा विश्वकपका दुई खेलपछि नै विश्व फुटबलका दुई उत्कृष्ट खेलाडीले उतारचढाव भोगिसकेका छन्। कतारमा जारी विश्वकपको पहिलो खेलमा मेक्सिकोविरुद्ध पेनाल्टीमा चुकेका पोलिस कप्तान रोबर्ट लेवान्डोस्की हारका कारण बने। लेवान्डोस्कीको पेनाल्टीमा मेक्सिकन गोलरक्षक बाधक बन्दा पोल्यान्डले गोलरहित बराबरीमा चित्त बुझाउनु परेको थियो। तर, दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध पहिलो गोल गर्दै  लेवान्डोस्कीले विश्वकपमा पुनरागमन गरेका थिए।

अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपको पहिलो खेलमा पेनाल्टीमार्फत एक गोल गरेका थिए। तर, उनले साउदी अरेबियासँग अप्रत्यासित २–१ को पराजयबाट आफ्नो टोलीलाई जोगाउन सकेनन्। तर, दोस्रो खेलमा उनकै उत्कृष्ट प्रेरणामा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध २–० को महत्वपूर्ण जित निकालेको थियो। बुधबार राति यी दुई उत्कृष्ट खेलाडी आमनेसामने हुँदा फुटबल जगतको ध्यान ९७४ रंगशालामा केन्द्रित हुनेछ।

त्यो खेल समूह चरणको अन्तिम, रोमाञ्चक र निर्णायकसमेत हुनेछ। जुनसुकै टिमले जिते पनि अन्तिम १६ मा पुग्ने छन्। पोल्यान्डका लागि भने बराबरी पनि नकआउट चरणमा पुग्न काफी हुनेछ। तर, अर्जेन्टिना पराजित भए समूह चरणबाटै बाहिरिनु पर्ने खतरा छ। बराबरीमै अल्झिए पनि साउदी अरेबिया र मेक्सिकोको नतिजामा निर्भर हुनुपर्नेछ।

खेलको इतिहास दुई पटकको विश्व विजेता अर्जेन्टिनाकै पक्षमा छ। सन् १९७८ मा विश्वकपमा यी दुई टिम आमनेसामने हुँदा दक्षिण अमेरिकी मुलुक २–० गोलले विजयी भएको थियो। सोही संस्करणमा अर्जेन्टिनाले पहिलो पटक विश्वकप जितेको थियो। पोल्यान्डले भने सन् १९७४ मा भएको अर्को खेल ३–२ ले जितेको थियो। पोल्यान्डले विश्वकपका पछिल्ला तीन खेलमा गोल खाएको छैन। जसको अर्थ लियोनल स्कालोनीको अर्जेन्टिनाका लागि कठिन चुनौती बन्न सक्छ। कतारमै पछिल्ला दुई खेलमा २७ प्रहारको सामना गरे पनि पोल्यान्डले गोल खाएको छैन। ती २७ मध्ये ९ प्रहार पोस्ट्मै भएका थिए।

पोल्यान्ड सन् १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ। पोलिस टिम तीन दशकअघि एन्टोनी पाइचनिकजेकको नेतृत्वमा अन्तिम १६ मा पुगेको थियो। सन् १९८२ को विश्वकपमा पोल्यान्ड पछिल्लो पटक समूह चरणका तीनै खेलमा अपराजित थियो। मेक्सिकोसँग उत्कृष्ट प्रदर्शन गरेका मेसीले खेलपछि भनेका थिए, ‘अर्को विश्वकप आजदेखि सुरु हुनेछ। हामी हार मान्दैनौं र हामीलाई कुनै पनि गल्ती गर्ने छुट पनि छैन।’

पोल्यान्डका प्रशिक्षक जेस्लाव मिचनीविजले लेवान्डोस्कीको पहिलो विश्वकप गोलपछि भनेका थिए, ‘कुनै खेलाडीले एक्लै खेल जित्न सक्दैन।’ पोलिस प्रशिक्षकको तर्क सही हो र, त्यसलाई प्रमाणित गर्ने हो भने आजको खेल त्यसको उदाहरण बन्न सक्छ। सन् २०१८ विश्वकपमा समूह चरणबाटै बाहिरिएको पोल्यान्ड त्यसअघिका दुई विश्वकपमा छनोट हुन सकेन। सन् २००६ र २००२ मा लगातार विश्वकप खेले पनि समूह चरण पार गर्न सकेको थिएन। सन् १९८२ मा तेस्रो स्थान हासिल गरेको पोल्यान्डलाई पछिल्लो खराब नतिजाको क्रमभंगता गर्ने चुनौती र अवसर बुधबार राति हुनेछ।


प्रभाव पार्न सक्ने खेलाडी 

रोबर्ट लेवान्डोस्की  
(पोल्यान्ड)

पोल्यान्डका रोबर्ट लेवान्डोस्की शीर्ष पाँच युरोपियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। अघिल्लो सिजन पाँच युरोपियन लिगमा ५० गोलको कोशेढुंगा पूरा गरेका लेवान्डोस्कीलाई बालोन डी’ओर विजेता करिम बेन्जमाले ४४ गोलसहित पछ्याएका थिए। बार्सिलोनाका स्ट्राइकर लेवान्डोस्कीले मेक्सिकोविरुद्धको खेलमा गोल गर्न नसक्दा भने निरास बनेका थिए। तर, साउदी अरेबियाविरुद्धको खेलमा एक गोलसँगै गोलका लागि असिस्ट पनि गरेका थिए। 

युरोपेली फुटबलका प्रभावशाली फरवार्ड लेवान्डोस्कीको विश्वकपमा त्यो पहिलो गोल हो। पोल्यान्डबाट एक सय ३६ खेल खेलेका लेवान्डोस्कीले ७७ गोल गरेका छन्। सन् २०१८ विश्वकपमा डेब्यू गरेका लेवान्डोस्कीको टिम चार वर्षअघि समूह चरणबाट बाहिरिएको थियो। समूह चरणका तीन खेलमा पोल्यान्डले दुई गोल गरे पनि लेवान्डोस्कीले गोल गर्न सकेका थिएनन्। जारी विश्वकपमा गोलका लागि लेवान्डोस्कीले मात्रै दुईभन्दा बढी प्रयास गरेका छन्। उनले यसअघिका दुई खेलमा गोलका लागि सात प्रहार गरेका थिए। उनीपछि पिओट्र जिलिनेस्कीले तीन वटा प्रहार गरेका थिए। 

लियोनल मेसी 
(अर्जेन्टिना)

पेरिस सेन्ट जर्मन (पीएसजी) का लियोनल मेसी आफ्नो करियरकै उत्कृष्ट लयमा छन्। पीएसजीबाट खेलेका सबैखाले प्रतियोगितामा २६ गोल गरेका मेसीसँगै युरोपेली शीर्ष पाँच लिगका अर्लिङ हालान्ड र नेमार मात्रै छन्। साउदी अरेबियासँगको स्तब्धपूर्ण नतिजापछि मेसीको प्रभाव कम हुन थालेको टिप्पणी हुन थालेको  थियो। तर, उनले त्यसको जवाफ मेक्सिकोविरुद्धको खेलबाट दिइसकेका छन्।

३५ वर्षीय फरवार्डले अर्जेन्टिनाका लागि पछिल्ला ६ खेलमा गोल गरेका छन्। विश्वकपमा अहिलेसम्म आठ गोल गरेका मेसीले डियगो म्याराडोनासँग बराबरी गरेका छन्। मेसी र म्यारोडोनाभन्दा अगाडि ग्राबियल बाटिस्टुटा छन्। उनले अर्जेन्टिनाका लािग विश्वकपमा १० गोल गरेका छन्। मेसीले यो नै आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका छन्।

त्यसैले बाटिस्टुटाको कीर्तिमान तोड्नुका साथै टोलीलाई अगाडि बढाउन उनको भूमिका अबका खेलमा महत्वपूर्ण रहनेछ। गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिका च्याम्पियन बनाएर आफ्नो काँधको बोझ उतारेका मेसी यसपटक आफ्नो राष्ट्रलाई विश्व विजेता बनाउने अभियानमा छन्। सात पल्टका बालोन डी’ओर विजेता मेसी पाँचौंपल्ट विश्वकप खेलिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.