मुस्ताङबाट ५९ करोड ४० लाखको स्याउ बिक्री

मुस्ताङबाट ५९ करोड ४० लाखको स्याउ बिक्री

जोमसोम : मुस्ताङमा यसवर्ष ५९ करोड ४० लाख बढीको स्याउ जिल्ला बाहिर निर्यात भएको छ। ६ हजार ५९७ मेट्रिक स्याउ उत्पादन भएकोमा १० प्रतिशत स्याउ जिल्लामै लोकल उत्पादनमा खपत हुँदा उक्त परिमाणमा मुस्ताङले आर्थिक आम्दानी गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।

गत वर्ष ५ हजार ५६४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसवर्ष  १ हजार ३३ मेट्रिक टन  अर्थात १८ दशमलव ५६ प्रतिशत स्याउ थप उत्पादन वृद्धि भएको कृषि ज्ञान मुस्ताङले जनाएको छ। मुस्ताङबाट औसत प्रति केजी स्याउ एक सय रुपैयाँमा स्याउ बिक्री वितरण भएको कार्यालयको भनाई छ। तर, जिल्लामा खपत भएका स्याउ भने पर्यटकलाई १३० देखि १५० रुपैयाँसम्म बिक्री गरिएको थियो। मुस्ताङमा कम गुणस्तरका १० प्रतिशत स्याउ ब्रान्डी,जुस,साईडर र ड्राई एप्पल आदि बनाउन प्रयोग गरिएको छ।

कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाका विभिन्न किसानहरुको बगैंचामा पुगेर स्याउको तथ्यांक संकलन गरेको थियो। केन्द्रले क्रप कटिङ विधि र जिल्लाका स्थानीय स्याउ किसानहरुसँग सोधपुछ गरी स्याउ उत्पादनको तथ्यांक तयार गरेको कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। ‘हामीले स्याउ किसानको बगैंचामा पुगेर क्रप कटिङ गर्‍यौं, उनीहरुसँग सोधपुछ पनि गर्‍यौं,’कार्यालय प्रमुख बस्ताकोटीले भने,‘कुनै पनि निश्चित स्थानको निश्चित क्षेत्रफलमा फरक/फरक तरिकाले स्याउ उत्पादनको मापन गरेका थियौं, यसले स्याउको औसत उत्पादन निकाल्ने गरेका छौं।’

चालुवर्ष २०७९/०८० मा जिल्लाको कूल ५८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटमा उक्त परिमाणमा स्याउ उत्पादन भएको हो। मुस्ताङका ५ वटै स्थानीय तहमा गरी कुल १ हजार ४७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ। जिल्लामा उत्पादन हुने ५ सय ८० हेक्टर जमिनको उत्पादनशील स्याउ बगैँचाको क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रति हेक्टर जमिनमा ११ दशमलव ३७ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख बस्ताकोटीले बताए।

यसैगरी जिल्लाको कुल स्याउ उत्पादन मध्ये यसवर्ष ४ सय ४० मेट्रिक टन उच्चनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ। मुस्ताङमा कुल १ हजार ४७५ हेक्टर स्याउ उत्पादन क्षेत्रमध्ये कुल ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको छ। जसमध्ये २२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ बोटले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्रले उल्लेख गरेको छ। 

उच्च घनत्व प्रविधिमा आधारित प्रतिहेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, जिल्लाको किसानले स्याउ बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र यसवर्ष स्याउका लागि अनुकुल मौसम भएकाले स्याउ उत्पादनमा राम्रो वृद्धि भएको हो। 
 
पछिल्लो केही वर्ष यता मुस्ताङका किसान धमाधम परम्परागत जातका स्याउभन्दा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन्। संघीय तथा प्रदेश सरकार अनुदानमा मुस्ताङका किसानलाई सहुलियत दरमा उच्चघनत्व प्रविधिमा आधारित स्याउ बिरुवा उपलब्ध गराइपछि स्याउ उत्पादनको क्षेत्रफल वृद्धि हुन थालेको छ। मुस्ताङमा स्याउ जोन कार्यक्रम अन्तर्गत करिब १२५ वटा सहकारी/समूह/निजी फर्म आवद्ध छन्। यसैगरी कृषि ज्ञानकेन्द्र मुस्ताङले स्याउ विशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ।

मुस्ताङमा उत्पादित स्याउमध्ये ७० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुने गरेको छ भने। बाँकी स्याउ जिल्लामै खपत हुने गर्छ। बर्सेनि मुस्ताङका बगैंचामा उत्पादित स्याउ खरिद गर्न जिल्ला बाहिरका व्यापारीहरु स्याउ नपाक्दै श्रावण/भदौ महिनामा मुस्ताङ आउने गर्छन। स्याउ धनी र व्पायारीबीच स्याउ बगैँचा अवलोकन गरी आपसी सहमति ठेक्का सम्झौता गर्छन्। भदौ महिनामा स्याउका बैनापट्टा गरेर गएका व्यापारी असोज लागेपछि स्याउ टिप्न मुस्ताङ आउँछन्।

मुस्ताङका किसानले जिल्लाका खुद्रा व्यापारीलाई पनि फुटकर रुपले स्याउ बिक्री गरिएको छ। मुस्ताङमा घुम्न आएका पर्यटकले यहाँबाट कोशेलीको रुपमा लैजान स्याउ खरिद गर्ने गरेको स्थानीय खुद्रा व्यापारी कल्पना नेपालीले बताइन्। उनका अनुसार मुस्ताङ आएका पर्यटकलाई प्रति केजी १३० रुपैयाँमा आफूहरुले स्याउ बिक्री गर्ने गरेको उल्लेख गरिन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.