ब्राजिलले ट्रफी उचालेको हेर्ने इच्छा छ

ब्राजिलले ट्रफी उचालेको हेर्ने इच्छा छ

विश्व टेबुलटेनिस च्याम्पियनसिपको दक्षिण एसियाली छनोट नेपालमा हुन लागेको छ। हामी सबै खेलाडी त्यसकै तयारीमा जुटेका छौं। तर, जब विश्राम र ट्रेनिङ सकिएपछिको समयमा हामीबीच फुटबल विश्वकपको नै गफ हुन्छ। अघिल्लो रात भएका खेलको समीक्षा हुन्छ। आफूले समर्थन गर्ने टिमको पक्ष लिएर विश्लेषण हुन्छन्। समर्थन गरेको टिमले जित्दा र त्यसैमा छलफल गर्दा साँच्चै रमाइलो हुन्छ।

मेरो श्रीमान् नियमित फुटबल हेर्नुहुन्छ। उहाँकै कारण मैले पनि हेर्ने मौका पाएको छु। श्रीमान्ले ब्राजिलको समर्थन गर्नुहुन्छ। म पनि ब्राजिलकै पक्षमा छु। स्टार खेलाडी नेमारले गर्दा पनि ब्राजिल धेरै मनपर्छ। तर, विशेष कारण चाहिँ रोनाल्डो नजारियोको खेलबाट प्रभावित भएर म ब्राजिलको समर्थक बनेको हुँ। रोनाल्डोको खेल्ने शैलीले पनि आकर्षित गरेको थियो। त्यसबाहेक ब्राजिलको जर्सी पनि साह्रै मनपर्छ।
नेमारको उदयपछि ब्राजिलप्रतिको आकर्षण अझै बढ्दै गयो। म कक्षा ८ मा पढ्दा पहिलो पटक विश्वकप हेरेको याद छ। मलाई लाग्छ, त्यो सन् २००२ को विश्वकप थियो। त्यसयताका सबै विश्वकप हेरेको छु। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सबैभन्दा रमाइलो गरेका थियौं। ब्राजिलले जर्मनीसँग अप्रत्यासित हार बेहोर्दा भने दुःखी भएका थियौं।

जर्मनी र अर्जेन्टिनाबीचको फाइनल धेरै जना सँगै बसेर हेरेका थियौं। साँच्चै रमाइलो भएको थियो। टेबुलटेनिसकै टिम नै गएर हेरेका थियौं। टेबुलटेनिसको सिंगो टिम नै फुटबलप्रति चासो राख्छ। 
अहिले हाम्रो आफ्नो खेल आउन लागेकाले त्यसमा धेरै ब्यस्त छौं। त्यसैले बाहिर बसेर विश्वकपको आनन्द लिन पाएका छैनौं। तर, श्रीमान् र साथीहरूसँग घरमै बसेर निरन्तर नै हेरिरहेकी छु। मलाई यसपालीको विश्वकप ब्राजिलले नै जित्छजस्तो लाग्छ। नेमार घाइते हुँदा टिमलाई घाटा भएको छ। तर, नेमारले मात्रै ब्राजिललाई यहाँसम्म ल्याइपुर्‍याएको पनि होइन नि ! उनले मैदान फर्किन धेरै मेहनत गरिरहेका छन्। त्यसैले छिट्टै उनी खेलमा फर्किनेमा हामी ब्राजिल समर्थक विश्वस्त छौं।

खेलाडीलाई जुनसुकै खेलले पनि छिटो छुने रहेछ। त्यसमा पनि म सानो छँदा फुटबल पनि खेल्थें। त्यही भएर पनि फुटबलमा चासो धेरै छ। फुटबल मात्रै नभएर, क्रिकेट, ब्याडमिन्टन, टेनिस पनि हेर्छु। विश्वकप नहेर्ने त कुरै भएन।

हाम्रो खेल सुरु भएपछि खेल पूरा हेर्न सम्भव नहोला। तर, अपडेट लिने वा हाइलाइट्स हेरेर भए पनि चित्त बुझाउने छु। किनभने, प्राथमिकतामा टेबलटेनिस नै हुनुपर्‍यो नि !

ब्राजिलले फेरि पहेंलो जर्सी लगाएर विश्वकपको ट्रफी उचालेको हेर्ने ठूलो इच्छा छ। त्यो इच्छा यसपाली पूरा होलाजस्तो लाग्छ। नेमार चाँडै मैदानमा फर्किउन्, र ब्राजिलले विश्वकप जितोस्, त्यति भए मेरो खुसीको सीमा नै रहँदैन।

शीर्ष बरियताकी नेपाली महिला टेबुलटेनिस खेलाडी नविता श्रेष्ठको विश्वकप अनुभव।

प्रस्तुति : उमेश दाहाल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.