स्याङ्जा -२ र बाजुरामा पुन: मतदान नहुने, मतगणना सुरु गर्न आयोगको निर्देशन
काठमाडौं : स्याङ्जा-२ र बाजुरामा मतगणना सुरु गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।
बुधबार बसेको आयोगको बैठकले ती क्षेत्रमा पुन: निर्वाचन नगरी मतगणना सुरु गर्न निर्देशन दिएको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्याङ्जा -२ र बाजुरामा मतगणना सुचारु गर्ने निर्णय भएको बताए। उनले अन्नपूर्णसँग भने- 'ती दुई क्षेत्रको मतगणना सुरु गर्न आयोगले निर्देशन दिइसकेको छ।'
मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा विवाद भएपछि ती स्थानमा पुन: निर्वाचन गराउन माग गरिएको थियो।
निर्वाचनमा बाजुरामा कांग्रेस र एमालेले बुथ कब्जा गरेको एकअर्को आरोप छ। मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुईजनाले ज्यान गुमाएका थिए।
स्याङ्जामा मतगणनाको क्रममा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना रोकिएको थियो।