अब कस्तो बन्ला सत्ता समीकरण ?
काठमाडौं: चुनावी दौडधुप सकिएपछि यतिबेला राजनीतिक दल र दलका शीर्ष नेता अब कस्तो सरकार बनाउने भन्ने गृहकार्यमा जुटेका छन् ।
शीर्ष नेता औपचारिक तथा अनौपचारिक छलफलमा जुटेका छन् भने दोस्रो तहका नेताले पनि अब बन्ने सरकारका बारेमा आआफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । यी धारणालाई हेर्दा अब बन्ने सरकार र त्यसको समीकरण कस्तो होला भन्ने सर्वत्र चासोको विषय बनेको छ ।
निर्वाचनमा जनताले राजनीतिक दललाई मिलेर सरकार बनाउने म्यान्डेड दिएसँगै अब सत्ता समीकरण बनाउन केही समय नेताहरूको दौडधुप पनि राम्रै हुने देखिन्छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनको बाजुरा, दोलखा र स्याङ्जाको अन्तिम परिणाम आउन बाँकी छ । पछिल्लो परिणाम अनुसार दोलखामा माओवादी केन्द्रका गंगा कार्की अगाडी छन् । स्याङजामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । त्यस्तै बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको अग्रता छ ।
सत्ता गठबन्धनको १३३ सिट !
मत परिणाम सार्वजनिक भएका क्षेत्र अनुसार अहिलेसम्म कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिट जितेको छ । अग्रता लिएका क्षेत्रमा जिते कांग्रेसको अब दुई सिट बढ्ने छ । अर्थात ५७ सिट पुग्नेछ । त्यस्तै समानुपातिक मत अनुसार कांग्रेसको करिब ३२ सिट पुग्ने देखिन्छ। यो आँकलन अनुसार कांग्रेसले ८९ सिट पुग्ने देखिन्छ।
माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । दोलखाको अहिलेको अग्रता जोगाउन सके माओवादीको एक सिट थपिन्छ । पछिल्लो मत अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सिट ल्याउने सम्भावना छ ।
नेकपा एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट ल्याएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एकीकृत समाजवादीले राष्ट्रिय पार्टी बन्न थ्रेस होल्ड कटाएको छैन।
त्यस्तै लोसपाले प्रत्यक्षतर्फ ४ सिट ल्याएको छ । समानुपातिक मत अनुसार लोसपाले थ्रेस होल्ड कटाउन सकेको छैन । राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ एक सिट जितेको छ। अहिलेसम्म बाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचनमा होमिएको सत्ता गठबन्धनको प्रत्यक्ष तर्फ ८७ सिट छ । समानुपातिकमा नेपाली कांग्रेस र माओवादी केन्द्रको जोड्दा ४६ सिट आउने सम्भावना छ। यसरी सत्ता गठबन्धनको (प्रत्यक्ष र समानुपातिक) सिट संख्या १३३ पुग्छ । नतिजा आउन बाँकी तीन स्थानमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ ।
एमाले, राप्रपा र जसपा गठबन्धनको १०३ सिट !
निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले केही ठाउँमा चुनावी तालमेल गरेका थिए । यसरी निर्वाचनमा होमिँदा एमालेले प्रत्यक्षतर्फ ४४ सिट ल्याएको छ। समानुपातिकमा एमालेको ३४ सिट आउने सम्भावना छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट ल्याएको छ। समानुपातिक मत अनुसार ७ सिट आउने सम्भावना छ । जनता समाजवादी पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ भने, समानुपातिकबाट ५ सिट आउने सम्भावना छ। यसरी चुनावी तालमेल अनुसार अब गठबन्धन बने एमाले, राप्रपा र जसपाको गठबन्धनबाट १०४ सिट पुग्छ।
सत्तामा जाने कि नजाने दोधार
मंसिर ४ को निर्वाचनबाट नयाँ शक्तिका रुपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी उदाएका छन्।
पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट, जनमत पार्टीले १ र नागरिक उन्मुक्ति पार्टीको ३ सिट छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपाति मतमा थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ ।
नयाँ शक्तिका रुपमा देखा परेका यी दलहरूले सरकारमा जाने नजाने निर्णय गरेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पुरानै पुस्ताबाट प्रधानमन्त्री भए आफू सरकारमा नजाने बताउँदै आएको छ। सरकारको प्रतिपक्षी नै भएर जनताका पक्षमा काम गर्ने यो पार्टीबाट विजयी उम्मेदवारले बताउँदै आएका छन् ।
त्यस्तै सिके राउतले पनि आफ्ना माग जुन गठबन्धले धेरै सम्बोधन गर्न सक्छ उसैसँग मिलेर काम गर्ने बताउँदै आएका छन् । नेपाल मजदुर किसान पार्टीले पनि सरकारमा जाने बारे निर्णय गरेको छैन ।
छलफलमा प्रधानमन्त्री
आगामी सरकार बनाउने विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल थालेका छन् । गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि चुनावी समीक्षासँगै सत्ता समीकरणका विषयलाई लिएर छलफल गरेका छन् ।
जनमत पार्टीका सिके राउतसँग पनि प्रधानमन्त्रीले छलफल गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिमार्फत राउतलाई भेटेका देउवाले आगामी सत्ता समीकरणका बारेमा पनि कुराकानी गरेका थिए । भेटमा राउतले सरकारमा जाने आश्वासन दिएको बताइएको छ ।
अहिले जेल जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग पनि नेपाली कांग्रेसका नेताले छलफल गरेका छन् । देउवा कै आग्रहमा कांग्रेसका दोस्रो तहमा नेताले चौधरीसँग कुराकानी गरे पनि सत्ता समीकरणमा सहभागी हुने बारे उनले गठबन्धनलाई ‘ग्रीन सिग्नल’ दिएका छैनन् ।
निर्वाचनमा कांग्रेस र एमाले पहिलो र दोस्रो ठूलो दल बने पछि सरकार निर्माणमा बहुमत जुटाउन त्यति सजिलो छैन। नेकपा एमालेका नेताहरूले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक गृहकार्य गरिरहेका छन् । एमाले नेताले सार्वजनिक रुपमै बामपन्थी सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।
माओवादी र नेकपा एकीकृत समाजवादीका नेताले अहिलेकै सत्ता गठबन्धनको सरकार रहने दाबी गर्दै आएका छन् ।
भावी प्रधानमन्त्रीका आकांक्षी को-को ?
सत्ता समीकरण बनाउन जुटेका नेताहरूमा को प्रधानमन्त्री हुने भन्ने विषय पनि पेचिलो बन्दै गएको छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनेछन् । त्यसको गृहकार्य देउवाले थालिसकेका छन् । तर, देउवालाई आफ्नै पार्टीका महामन्त्री गगन थापाको चुनौती छ ।
थापाले सार्वजनिक रुपमै अबको प्रधानमन्त्री हुने दाबी गरेका छन् । निर्वाचन अघि पनि भावी प्रधानमन्त्री हुने दावी गरेका थापाले निर्वाचनपछि पनि आफू अब संसदीय दलको नेता हुने र त्यसको चुनावी तयारीमा लाग्ने बताउँदै आएका छन् ।
नयाँ उदाएका राजनीतिक दलका नेताले पनि नयाँ पुस्ताको प्रधानमन्त्री खोजिरहेका बेला थापाको उपस्थिति पनि बलियो मानिन्छ। त्यसो त कांग्रेसकै रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि प्रधानमन्त्रीको दावेदार भन्दै आएका छन् ।
गठबन्धनकै अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि प्रधानमन्त्रीका आकांक्षी हुन् । उनले पनि अवसर पाए पछि नहट्ने संकेत गर्दै आएका छन् । प्रचण्डले निर्वाचन अघिका विभिन्न चुनावी सभामा प्रधानमन्त्री बन्ने उद्घोष गरेका थिए ।